PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

यातायात व्यवस्था कार्यालयले ६ महिनामा उठायो ६५ करोड राजस्व



राधेश्याम पटेल

यातायात व्यवस्था कार्यालयले ६ महिनामा उठायो ६५ करोड राजस्व
यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजमा राजस्व तिर्ने सेवाग्राहीहरुको भीड।

वीरगंज : यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजले गतवर्ष सरह नै चालु आर्थिक वर्षको ६ महिनामा राजस्व संकलन गरेको छ। गत आव २०७५/०७६ को ६ महिनाको तुलनामा चालु आवमा शून्य दशमलव ०२ प्रतिशत राजस्व संकलन गरेको हो।

गत आवको साउनदेखि पुससम्म कार्यालयले ६५ करोड ६ लाख ८९ हजार राजस्व संकलन गरेको थियो भने चालु आवको सोही आवधिमा डेढ लाख कम अर्थात ६५ करोड ५ लाख ४५ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख विपिन कुमारलाल कर्णले जानकारी दिए।

कार्यालयले चाल आवको ६ महिनामा सवारी साधन करतर्फ ४७ करोड ३० लाख ५२ हजार रुपैयाँ, यातायात क्षेत्रको आम्दानीतर्फ ४ करोड ३७ लाख २८ हजार, प्रशासनिक दण्ड, जरिबाना र जफततर्फ २६ हजार, सवारी साधन कर संकलनतर्फ ६ करोड ४६ लाख ४४ हजार र चालक अनुमति पत्र, सवारी दर्ता किताब (बिल बुक) सम्बन्धी दस्तुरतर्फ ६ करोड ९० लाख ९३ हजार गरी कुल ६५ करोड ५ लाख ४५ हजार रुपैयाँ राजस्व असुली गरेको छ।

गतवर्षको यो अवधिमा कार्यालयले सवारी सधान करतर्फ ५२ करोड ६४ लाख ५० हजार, यातायात क्षेत्रको आम्दानीतर्फ ४ करोड ७९ लाख ८२ हजार, चालक अनमति पत्र सवारी दर्ता किताब सम्बन्धी दस्तुरतर्फ ७ करोड ६२ लाख ५५ हजार गरी जम्मा ६५ करोड ६ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो।

गत वर्षभन्दा चालु आवमा सवारी साधन संकलन कर २ प्रतिशतले वद्धि भएको छ भने यातायात क्षेत्रको आम्दानी ९ प्रतिशतले र सवारी दस्तुर ९ प्रतिशतले घटेपछि गत वर्षको तुलनामा झिनो प्रतिशतले राजस्वमा कमी आएको हो।

कार्यालयले गत आवको १२ महिनामा कुल १ अर्ब १३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो भने चालु आवमा पनि सोही अनुपातमा राजस्व संकलन हुने अनुमान गरिएको छ। यो राजस्व प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयलाई जान्छ।

केन्द्रलाई १ अर्ब ९५ करोड जाने अनुमान

प्रदेश मातहत रहेको कार्यालयले संघीय सरकारको ढुकुटीमा जाने दुई वटा शिर्षकको सेवा पनि दिने गर्छ। कार्यालयले दिने सेवामा सडक सम्भार दस्तुर र सवारी आयकर शिर्षक छन्।

कार्यालयले असुल्ने राजस्वमा केन्द्र सरकारको ७५ प्रतिशत र प्रदेश सरकारको २५ प्रतिशतको अनुपातमा बाँडफाड हुने गर्दछ।

चालु आवको ६ महिनामा प्रदेश सरकारलाई ६५ करोड राजस्व संकलन भएको छ भने केन्द्र सरकारलाई तीन गुणा अर्थात ७५ प्रतिशतको हिसाबले १ अर्ब ९५ करोड रुपैयाँ राजस्व गएको कम्प्युटर अपरेटर प्रकाश कुमार झाको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell