PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

ड्राइपोर्ट भन्सारले भेट्टाएन २१ अर्बको लक्ष्य, गाडीको आयात घटनु मुख्य कारण



राधेश्याम पटेल

ड्राइपोर्ट भन्सारले भेट्टाएन २१ अर्बको लक्ष्य, गाडीको आयात घटनु मुख्य कारण
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयको परिसरमा थन्काइएका कारहरु।

वीरगंज : वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालयले चालु आर्थिक वर्षको ६ महिनाको राजस्व लक्ष्य भेट्टाउन सकेन। लक्ष्यभन्दा करिब ३ अर्ब रुपैयाँ कम राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।

प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठका अनुसार गत वर्षको तुलनामा लक्ष्य नै ३० प्रतिशतले वृद्धि भएको र विलासी गाडीसँगै ट्रेडिङ आइटमका समानको आयातमा कमी आएपछि भन्सार कार्यालयको राजस्व लक्ष्य अनुरुप उठ्न नसकेको हो।

भन्सार राजस्व विभागले कार्यालयलाई चालु आवको साउनदेखि पुससम्म ६ महिनाको लागि २१ अर्ब ६५ करोड ३८ लाख ६२ हजार राजस्वको लक्ष्य दिएको थियो। जसमा कार्यालयले १९ अर्ब ३९ करोड ९१ लाख ३३ हजार रुपैयाँ असुली गरेको छ। जुन लक्ष्यको ९० दशमलव १२ प्रतिशत (सडक सम्भार दस्तुरसहित) हो।

कार्यालयले पछिल्लो ६ महिनाको लागि भन्सार महसुल तर्फ ८ अर्ब १ करोड २५ लाख ६५ हजार लक्ष्य पाएकोमा ८ अर्ब ५९ करोड ९७ लाख ६० हजार, मूल्य अभिवृद्धि करतर्फ १० अर्ब ३ करोड ८ लाख ७४ हजार लक्ष्य पाएकोमा ९ अर्ब १९ करोड ४१ लाख ४१ हजार रुपैयाँ संकलन भएको छ।

त्यसैगरी, अन्तशुल्कतर्फ ६ महिनाको लागि १ अर्ब ४४ करोड ५९ लाख ९६ हजार लक्ष्य पाएकोमा १ अर्ब ४९ करोड ३२ लाख ८४ हजार रुपैयाँ संकलन भएको सूचना अधिकारी जगदीश पुर्बेले बताए। त्यस्तै भन्सार कार्यालयले सडक सम्भार दस्तुरतर्फ ११ करोड १९ लाख ४८ हजार रुपैयाँ संकलन गरेको छ।

ड्राइपोर्ट भन्सार कार्यालयले चालु आवको १२ महिनाको लागि ४१ अर्ब ८८ करोड ५ लाख ४ हजार लक्ष्य पाएको छ। भन्सार कार्यालयले भन्सार महसुल तर्फ १९ अर्ब २२ करोड ९० लाख ४८ हजार, भ्याटतर्फ १९ अर्ब ४० करोड ६ लाख २६ हजार, अन्तशुल्कतर्फ ३ अर्ब २५ करोड ८ लाख २९ हजार रुपैयाँ लक्ष्य तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell