PahiloPost

Aug 1, 2025 | १७ साउन २०८२

‘म्यान भर्सेस् वाइल्ड’का ग्रिल्स भन्छन् : सर्भाइभल ज्ञान होइन सीप हो, बालबालिकालाई जिउँन सिकाउनुस्



पहिलोपोस्ट

‘म्यान भर्सेस् वाइल्ड’का ग्रिल्स भन्छन् : सर्भाइभल ज्ञान होइन सीप हो, बालबालिकालाई जिउँन सिकाउनुस्

‘बेयर ग्रिल्स’ नामभन्दा चर्चित छ उनी देखिने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’।

डिस्कभरी च्यानलमा एड्भेन्चर कार्यक्रम 'म्यान भर्सेस वाइल्ड'मा एड्भेन्चर सिकाउँछन् उनी। उसो त उनकै जीवन पनि कुनै एड्भेन्चरभन्दा कम भने लाग्दैन। आफ्नै भोगाइका कारण।

कुनैबेला बेलायतको एयरफोर्समा सहयोगीका रुपमा कार्यरत थिए उनी। केही समय आफ्नै व्यवसाय पनि शुरु नगरेका होइनन्। तर अनुभव बटुल्ने बानीले एउटै क्षेत्रमा चुपचाप बस्न भने दिएन। लेखनमा कोसिस गरे। केही समय डुलेर हिँडे। आर्मीको मानार्थ लेफ्टिनेन्टको रुपमा पनि काम गरे।

फरक-फरक क्षेत्रमा अनुभव त संगाले नै साथै चुनौतीहरुसँग पनि जुधे। आत्मविश्वासी अनि सहासिक स्वभावका उनी पछिल्लो दुई दशक यता साहसिक व्यक्तित्वका रुपमा स्थापित भए। अनि टिभी कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’मार्फत् अरुलाई पनि कठिन परिस्थितिहरुमा उभिन सिकाउँछन्।

कसरी शुरु भयो उनको साहसिक व्यक्तित्व विकासको प्रक्रिया?

उमेरले १८ वर्षका थिए पहिलोपटक स्काइ डाइभिङ गर्दा। त्यतिञ्जेल उनले आफ्ना बुबासँग ‘माउन्टेन क्लाइम्बिङ’ समेत सिकिसकेका थिए। जंगल आसपासका पहाडहरु उक्लिँदा उनलाई लाग्थ्यो - जंगलले मानिसलाई प्रकृतिसँग नजिक बनाउँछ। बेयर सगरमाथा चढ्ने सबैभन्दा कम उमेरका बेलायती हुन्। सन् २००३ मा उनले सानो डुङ्गाको सहायतामा एट्लान्टिक आर्टिक ओसन पनि पार गरेका थिए।

भारतीय सञ्चारमाध्यम भाष्करमा प्रकाशित उनको अन्तर्वार्ताका अनुसार उनी बाल्यकालदेखि नै साहसिक कामहरुमा रुचि राख्थे। अनि युवा अवस्थामा त ती सपना पूरा गर्न लागि पर्थे।

उनी आम युवामा पनि त्यही सन्देश प्रवाह गर्छन्- ‘जे चाहनुहुन्छ त्यो युवा अवस्थामा पूरा गरिहाल्नुस्। पछि ढिला हुन्छ।’

सपना पूरा गर्नुको पहिलो खुड्किलो कोसिस गर्नु हो। सपनालाई भने भगवानको देन मान्छन् उनी। अनि त्यो देन प्राप्तिका लागि प्रयास गर्नु, हिम्मत नहार्नु र हृदय सधैं सफा राख्नु पर्ने उनले बताएका छन्।

प्रकृतिका प्लटहरुमा अप्ठ्यारा खोज्दै हिँड्ने र ती अप्ठ्यारासँग पौठेजोरी खेल्ने उनको स्वभाव नै बनिसक्यो। आफ्ना लागि मैदान बनिदिएकोमा प्रकृति र पर्यावरणप्रति धन्य छन्। साथै चिन्तित पनि। भन्छन्, ‘पर्यावरण मानिसका लागि सानदार उपहार हो। यसलाई जोगाउनुपर्छ।’

वरपर अवसरको खोजी र आफैंभित्र सम्भावनाको खोजीमा जोड दिन्छन् बेयर। त्यसपछि आउँछन् सहकार्य लगायतको पाटो।

बेयर सर्भाइभल एकेडेमी चलाइहरेका छन्। त्यहाँ उनी युवाहरुमा आत्मविश्वास र व्यक्तित्व विकासका कोर्स उपलब्ध गराउँछन्।

सर्भाइभल उनका लागि ज्ञानमात्र होइन जीवन उपयोगी सीप पनि हो। सर्भाइभलको अर्थ सकरात्मक सोच, साहस, समर्पण र साधनाको गुण मान्छन् उनी। ती गुणहरु सिक्नका लागि उमेर हदले नछेक्ने तर्क राख्छन् उनी।

‘मानिस वृद्ध हुँदा पनि जिउने आस नछोड्ने प्राणी हो। सर्भाइभलको सीपले जीवनलाई नयाँ तरिकाबाट हेर्ने र जिउने क्षमता विकास गराउँछ। त्यसैले पनि यो सिप सिक्नका लागि तपाईंको उमेरले छेक्दैन,’ उनले अन्तर्वार्तामा भनेका छन्।

बेयर आस्तिक हुन्। जब अवस्था अप्ठ्यारो बन्छ ईश्वरलाई सम्झने बताउँछन्।

‘म यो स्वीकार्छु कि मेरो गाइडिङ फोर्स ईश्वर हो,’ उनले भने।

सन् १९९६ मा स्काइडाइभिङ गर्दा उनी दुर्घटनामा परे। उनको प्यारासुट समयमा नखुल्दा सिधै जमिनमा गएर ठोकिएका थिए। त्यसबेला उनको ढाड ३ ठाउँमा भाँचियो। अनि करिब डेढ वर्ष अस्पतालमा बास भयो।  

‘त्यस समय जीवनको मूल्य बुझें,’ उनी सम्झन्छन्।

सोही दुर्घटनापछि हो उनले सपना पूरा गर्ने अठोट लिए। सपना- विश्वको उच्च शिखर सगरमाथा चढ्ने।

आरोहणको तयारी स्कटल्यान्डमा गरे। जहाँ उनको भेट सारासँग भयो। सारा अर्थात् उनकी श्रीमती। आफ्नै ठाउँ फर्कनुभन्दा ठीक एक हप्ता अघि तालिममा जोड दिए। दैनिक १० देखि १२ घण्टा खटिए। त्यसैले धेरै घुलमिल हुन त पाएनन्। तर छोटो भेट नै प्रेममा बद्लियो।

त्यसको ठीक तीन महिनापछि, उनको सपना पूरा भयो। उनले सगरमाथा आरोहण गरे। बेलायतका कान्छा सगरमाथा आरोही बने। त्यसपछि आफ्नो साराप्रतिको प्रेम व्यक्त गरे। प्रेम प्रस्ताव राखे।

उनीहरुको विवाहमा एक वृद्ध जोडीमात्र उपस्थित थिए। त्यो जोडीले ५० वर्ष सँगै बिताइसकेको थियो। ग्रिल्सले उनीहरुलाई विवाह कसरी सफल बनाउने? भन्ने प्रश्न सोधेका थिए।

जवाफ पाए- ‘नेभर स्टप होल्डिङ हेन्डस्।’

त्यही सुझाव उनीहरुको वैवाहिक जीवनको अचुक औषधि बन्यो।

त्यसैले बेयर र सारा खुसी छन्। एकअर्काको सपनामा विश्वास राख्छन् र साथ दिन्छन्। उनीहरुका तीन सन्तान छन्।

काम र कार्यक्रममा व्यस्त ग्रिल्स श्रीमती र सन्तानका लागि समय भने प्रशस्तै छुट्याउँछन्।  

‘जब म घरमा हुन्छु मलाई बच्चाहरुसँग समय बिताउन राम्रो लाग्छ। तर कामको सिलसिलामा म लामो समयसम्म बाहिरै बस्नुपर्ने हुन्छ। जब म घरमा हुन्छु मेरो कमीलाई पूरा गर्न कोसिस गर्छु,’ उनी भन्छन्।

परिवार उनको पहिलो प्राथमिकता हो। त्यसैले महंगो घुमघामभन्दा परिवारसँगको ‘क्वालिटी टाइम’मा जोड दिने बताउँछन्।

परिवारप्रतिको स्नेह। कामप्रतिको लगाव। संघर्ष र आत्मबल आफ्ना बुवाबाट सिकेको बताउँछन् ग्रिल्स। अनि उत्तिकै धन्य छन् आफ्ना साथीभाईप्रति पनि जसले उनलाई हौसला दिइरहे।  

‘सफल हुन सुरुवातमा असफलताको बाटो भएर गुज्रनुपर्छ भन्ने कुरा मैले परिवार र साथीहरुबाटै सिकेँ,’ उनी सम्झन्छन्।

आफ्नो सपनालाई पछ्याउन र त्यो यात्रामा साथी र परिवारलाई पनि सँगै लिएर हिँड्न सुझाव दिन्छन् उनी।

‘बाँकी सबैकुरा साना हुन्। सबैभन्दा ठूलो कुरा तुफान, संघर्ष र असफलताहरुबीच चल्न सक्नुपर्छ,’ उनी भन्छन्।  

यी कुरा उनी आफ्ना छोराछोरीलाई पनि सिकाउँछन्। प्रविधिले टाढा बनाउँछ कि भन्ने डर छ उनलाई। त्यसैले बेला मौकामा छोराछोरीलाई जंगल आसपास क्याम्प लैजान्छन्। जसरी उनलाई उनका बुबाले लैजान्थे।

‘मानिस बीचको निकटतालाई आजकल मोबाइल, कम्प्युटर या टेलिभिजनलगायतले हुन दिइरहेका छैनन्’, उनी भन्छन्, ‘हामी प्रायः वेल्सको सानो आइल्यान्डमा जाने गर्छौँ जहाँ न लाइट छ न पिउने पानी। तर, हामीलाई त्यहाँ हुँदा राम्रो महसुस गर्छौं किनकि त्यहाँ हामी एकअर्कासँग नजिक हुन्छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell