PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस समर्थित स्थानीय जनप्रतिनिधिको भेला, ‘पार्टीको फोरम नहुँदा नेकपाले दु:ख दिए’



अनन्तराज न्यौपाने

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस समर्थित स्थानीय जनप्रतिनिधिको भेला, ‘पार्टीको फोरम नहुँदा नेकपाले दु:ख दिए’

विराटनगर : प्रदेश नम्बर १ का स्थानीय तहका नेपाली काङ्ग्रेस समर्थित प्रमुख र उपप्रमुखको छुट्टै फोरम गठन गरिनुपर्ने विचार यहाँ व्यक्त गरिएको छ।

राष्ट्रिय सभाको निर्वाचनका अवसरमा प्रदेश राजधानी विराटनगरमा भेला भएका काङ्ग्रेस समर्थित प्रमुख र उपप्रमुखसित गरिएको संवाद कार्यक्रममा यस्तो विचार व्यक्त गरिएको हो।

प्रदेश नम्बर १ को नेपाली काङ्ग्रेस संसदीय दलद्वारा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले काङ्ग्रेसले जितेका पालिकामा सङ्घ र प्रदेश सरकारले पक्षपातपूर्ण नीति आरोप लगाउँदै आफ्नो दलको अलग्गै फोरम हुनुपर्ने कुरामा जोड दिए।

‘स्थानीय तहको छुट्टै महासङ्घ छ तर त्यहाँ नेकपाकै बहुमत छ’, प्रमुख पराजुलीले भने, ‘त्यसैले हाम्रा आफ्ना एजेन्डा उठाउन र माग राख्न छुट्टै फोरमको आवश्यकता छ।’

काङ्ग्रेसले जितेकै कारण विराटनगर महानगरपालिकालाई उपमहानगरपालिका बराबरको बजेट सरकारले दिएको उनको आरोप छ।

‘समपूरक र विशेष अनुदान त थाहा नै हुँदैन’, पराजुलीको भनाइ छ, ‘हामीले सङ्गठित आवाज नउठाए आउने बजेटमा पनि हामीलाई दिने रकम कटौती गर्छन् अनि कर्मचारीलाई पनि दुःख दिन्छन्।’

सुनसरीको गढी गाउँपालिकाका अध्यक्ष शिवीप्रसाद यादवले भने, ‘प्रदेशबाट बजेट गएको छ तर म अध्यक्षलाई नै थाहा छैन। सहीसत्य अनुदान कति हो हामीलाई थाहा हुँदैन। नेकपाका वडाध्यक्षलाई थाहा हुन्छ। नेपाली काङ्ग्रेसका प्रमुख वा उपप्रमुख वा बहुमत भएका ठाउँमा प्रदेश सरकारले पक्षपात गरेको काँङ्ग्रेसका प्रमुख वा उपप्रमुख वा बहुमत भएका ठाउँमा प्रदेश सरकारले पक्षपात गरेको छ।

इलामको रोङ गाउँपालिकाका अध्यक्ष शमशेर राईको आक्रोश थियो, ‘विधि एकातिर छ, प्रयोग अर्कातिर छ। आफ्ना समर्थकलाई विधि पुर्‍याएर हैन चिर्कटामा बजेट पठाउने चलन बढेको छ। विधि पुर्‍याएर मागेको–लिएको र चिर्कटामा ल्याएको बजेट फरक हुन्छ।’

खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले पहिला बाँडेको बजेट समान देखाए पनि पक्षपातपूर्ण रहेको टिप्पणी गरे।

अध्यक्ष निरौलाले काङ्ग्रेस समर्थित पालिकाबाट कर्मचारी, डाक्टर, अहेव र प्राविधिकको सरुवा २–२ महिनामा गरेर धुरुक्क रुवाएको गुनासो गरे।

उनले भने, ‘डाक्टरको सरुवा गरिदिन्छन् अनि काङ्ग्रेसको अध्यक्षले डाक्टर ल्याउन सकेन भनेर दुष्प्रचार गर्छन्।’

उनले प्रदेश सरकारले लुकीलुकी आफ्ना कार्यकर्तालाई तटबन्ध, बाटोको काम आदिमा बजेट बाँडिरहेको बताए।

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष कविता राईले भनिन्, ‘काङ्ग्रेस समर्थित जनप्रतिनिधिहरू अभिभावकविहीनजस्तै छन्। हाम्रो पार्टीको प्रदेशस्तरीय सञ्जाल छैन। केन्द्र, प्रदेश कतैबाट हामीलाई केही निर्देशन आउँदैन।’

इलामको मान्सेगुङ गाउँपालिकाका अध्यक्ष टेकेन्द्र लिम्बूले प्रत्येक जिल्लामा खानेपानी र सडकका डिभिजन कार्यालयबाट काम गर्ने नेकपाका कार्यकर्ताले आधा काममात्र सकेर पूरै भुक्तानी लग्ने गरेको रहस्योद्घाटन गरे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता डा. मीनेन्द्र रिजाल, भीष्म आङदम्बे, सरिता प्रसाईं, प्रदेश नम्बर १ का प्रतिपक्षी दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्कीलगायतले मन्तव्य राखेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell