PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा



पहिलोपोस्ट

हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार तेस्रो स्थानमा
थ्री-स्टार क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पा क्लबमाथि सहज जित निकाल्दै थ्री स्टार क्लब अंक तालिकाको शीर्ष तीनमा पुगेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारलाई जित दिलाउन सुशिल राई, सञ्जोग राई र वासियु हजमतले १/१ गोल गरे। अर्कोतर्फ हिमालयन शेर्पा क्लबका लागि स्टेफेन समिरले सान्तवना गोल फर्काए।

थ्री स्टारले खेलको छैटौं मिनेटमै अग्रता लिएको थियो। लाल रम्मावियाको पासमा सुशिल राईले गोल गर्दै अग्रता दिलाए। खेलको १२ औँ मिनेटमा लाल रम्मावियाले हेडिङमा राम्रो अवसर पाए पनि त्यसको सदुपयोग गर्न सकेनन्। खेलको ४१ औं मिनेटमा थ्री स्टारका कप्तान विक्रम लामालाई ‘फल’ गरेपछि शेर्पाका समीर देउबेनीले पहेँलो कार्ड खाए। त्यसको ६ मिनेटमा देउबेनीले नै गोल गर्दै हिमालयन शेर्पा क्लबलाई बराबरीमा ल्याए।

तर हिमालयन शेर्पाको बराबरी भने १ मिनेट पनि टिक्न सकेन। गोल भएको १ मिनेट भित्रै थ्री स्टारका सञ्जोग राईले गोल गर्दै फेरि टिमलाई अग्रता दिलाए। पहिलो हाफमा थ्री स्टार २-१ ले अगाडि रह्यो।

दोस्रो हाफमा पनि थ्री स्टार नै हावी देखियो। दोस्रो हाफको शुरुमै हजमतले गोल गर्दै थ्री स्टारको अग्रता फराकिलो पारे। उनले खेलको ५० औं मिनेटमा गोल गरेका थिए।

खेलको ५२ औं मिनेटमा देब्रेतर्फबाट हिमालयन शेर्पाका मानबहादुर तामाङको उत्कृष्ट प्रहार थ्री स्टारका गोलकिपरले बचाए।

खेलको ५७ औं मिनेटमा खराब ट्याकलका कारण निरज बस्नेतले पहेँलो कार्ड पाए।

जितसँगै थ्री स्टार क्लब अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लब र दोस्रो स्थानको मछिन्द्र क्लबको १६ अंक छ भने तेस्रो स्थानमा रहेको थ्री स्टारको १४ अंक भएको छ। चौथो स्थानको मनाङ मर्स्याङदी क्लबको १३ अंक छ। आर्मी र मनाङले १ खेल कम खेलेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell