PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

एपिएफ पराजित, जावलाखेलको एउटा रेड कार्ड र एक गोल



पहिलोपोस्ट

एपिएफ पराजित, जावलाखेलको एउटा रेड कार्ड र एक गोल
एपिएफ क्लब र जावलाखेल युथ क्लबबीचको खेल। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा विभागिय टोली एपिएफ जावलाखेल युथ क्लबसँग पराजित भएको छ। एपिएफमाथि १-० को संघर्षपूर्ण जित निकालेसँगै जावलाखेल अंकतालिकको शीर्ष पाँचमा प्रवेश गर्न सफल भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको १३ औं मिनेटमा एपिएफका आशिष लामाले जावलाखेलको पोस्टमा प्रहार गरे पनि एपिएफका गोलकिपरले ‘पन्च’ गर्दै गोल हुनबाट जोगाएका थिए। लामा जारी सिजन ५ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समेत छन्।

२९ औं मिनेटमा एपिएफको गोलकिपरको कमजोरी उठाउँदै गोल गर्ने अवसर पाए पनि रुपबहादुर लामाले त्यसको सदुपयोग गर्न सकेनन्। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गियो।

दोस्रो हाफको शुरुमै एपिएफका विरेन प्रकाश यादवले फल गर्दै पहेँलो कार्ड पाए।

त्यस्तै ५७ औं मिनेटमा जावलाखेलका गोलकिपर टेकेन्द्र थापा रेड कार्ड खाँदै बाहिरिएपछि जावलाखेल १० खेलाडीमा सीमित भएको थियो। खेलको ७१ औं मिनेटमा फोर्ड फोन्नाले गोल गर्दै जावलाखेललाई अग्रता दिलाए। त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा जावलाखेलले १-० को संघर्षपूर्ण जित निकाल्यो।

जितसँगै १२ अंक जोडेको जावलाखेल तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। जावलाखेलले ८ खेल खेल्दै ३ जित ३ बराबरी र २ हार ब्यहोर्दै १२ अंक जोडेको हो।

आजै भएको पहिलो खेलमा थ्री स्टार क्लबले हिमालयन शेर्पा क्लबलाई हराउँदै ३-१ गोलअन्तरले हराउँदै तालिकामा शीर्ष तीनमा स्थान बनाउन सफल भएको थियो।

लिगमा भोलि २ खेल हुनेछन्। भोलिहुने पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले सरस्वती युथक्लबको सामना गर्नेछ भने च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell