PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कलिको अन्त्य गर्ने प्रयास ! : पशुपतिमा विरुपाक्ष मूर्तिमाथि आक्रमण, कोष चाहिँ अनभिज्ञ!



सहयोग रञ्जित

कलिको अन्त्य गर्ने प्रयास ! : पशुपतिमा विरुपाक्ष मूर्तिमाथि आक्रमण, कोष चाहिँ अनभिज्ञ!

काठमाडौं : पशुपतिनाथ मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनार नजिकै रहेको छ विरुपाक्षको मूर्ति। आधा शरीर जमिनमुनि गाढिएको ढुंगाको मूर्तिलाई कलिदेवताका रुपमा चिनिन्छ।

कलियुगको समय जति छिप्पिन्छ त्यति नै यो मूर्ति जमिनबाट माथि आउने जनविश्वास छ। जब कलिको पूरै मूर्ति माथि आउँछ तब कलियुगको अन्त्य हुने कथन छ। विरुपाक्षको मूर्ति नेपालको सबैभन्दा पुरानो मूर्ति रहेको समेत बताइन्छ।

कलियुगको गाथा बोकेको यही मूर्तिमाथि यसै महिना एक महिलाले आक्रमण गरिन्।

मन्दिरभित्र पसेर ती महिलाले विरुपाक्ष मूर्तिमाथि तोडफोडको प्रयास गरिन्। सामाजिक संजालमा अपलोड गरिएको एक भिडियोमा गुलाबी रंगको कुर्ता लगाएकी महिलाले मन्दिरभित्र छिरेर मूर्तिमाथि काठले प्रहार गरेको देखिन्छ। ती महिलाले 'गगन थापालाई...' भन्दै मूर्तिको टाउको र शरीरमा आक्रमण गरेकी थिइन्। मन्दिर बाहिर रहेका मानिसहरुले भने उनलाई त्यसो नगर्न भनिरहेका थिए, भिडियोमा देखिन्छ। मूर्तिमाथि आक्रमण गरेपछि महिला मन्दिरबाट निस्किएर हिँडिन्। कसैले उनलाई रोक्ने प्रयास गरेको देखिएन।

 

अनभिज्ञ पशुपति विकास कोष

आर्यघाटसँगै जोडिएको अनि पशुपति क्षेत्रको सबैभन्दा महत्वपूर्ण स्थानमा भएको उक्त घटनाबारे पशुपति क्षेत्र विकास कोष भने अनभिज्ञ रहेको पाइयो। चार दिनअघि एक युट्युब अकाउन्टमा उक्त भिडियो अपलोड भएपछि हामीले पशुपति विकास कोषमा उक्त घटनाबारे सोधेका थियौं। तर, घटनाको धेरै दिनपछिसम्म पनि कोषलाई केही थाहा नभएको जवाफ आयो।

सोमवार कोषका सूचना अधिकृत प्रेमहरि ढुंगानासँग सोध्दा उनले उक्त घटना भए नभएको पुष्टि गर्न सकेनन्। पशुपति मन्दिर परिसरमा पुजारी र सुरक्षाकर्मीसँग सोध्दा पनि उनीहरुले घटना भएको थाहा नभएको बताए। तर, आज भने पहिलोपोस्टसँग कुरा गर्दै ढुंगानाले विरुपाक्ष मूर्तिमाथि आक्रमण भएको पुष्टि गरे।

भने, 'पूजारीले त्यहाँ घटना भएको बारेमा मलाई भन्नु भयो। मूर्तिमाथि आक्रमण भएको रहेछ।'

प्राय जसो यस मन्दिरको ढोका बन्द रहने गर्छ। ताल्चा लगाएर बन्द हुने ढोकामा महिला कसरी सहजै प्रवेश गरिन् त?

'पूजारीले ढोका लगाउन नसकेर बाहिर गएको समयमा ती महिलाभित्र प्रवेश गरेकी रहिछिन्,' उनले भने।

भिडियो सार्वजनिक भएपछि ती महिलालाई कारवाही गर्नुपर्ने र मूर्तिको सुरक्षा गर्नुपर्ने माग उठिरहेको छ।

तर, मूर्तिमाथि आक्रमण गर्ने महिलाको मानसिक सन्तुलन बिग्रिएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। त्यसैल् कोषले कारवाहीका लागि प्रकृया अगाडि नबढाउने भएको छ। 'मानसिक सन्तुलन बिग्रिएको महिलाले आक्रमण गरेको हो। उनीविरुद्ध कारवाही गर्ने कुरा पनि हुन्न। हामी मूर्तिको सुरक्षामा थप ध्यान दिनेछौं,' ढुंगानाले भने।

आक्रमणबाट मूर्तिलाई भने केही नभएको ढुंगानाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell