PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राष्ट्रिय सभा निर्वाचन : १८ सिटमध्ये नेकपा १६ र राजपा दुई सिटमा विजयी, कांग्रेस शून्य



कुञ्जरमणि भट्टराई

राष्ट्रिय सभा निर्वाचन : १८ सिटमध्ये नेकपा १६ र राजपा दुई सिटमा विजयी, कांग्रेस शून्य

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट १६ जनाले राष्ट्रिय सभामा प्रवेश पाएका छन्। रिक्त १८ पदका लागि बिहीवार सम्पन्न निर्वाचनबाट नेकपाबाट उम्मेद्वार बनेका १६ जना नै विजयी भएका हुन्। सातै प्रदेशमा भएको निर्वाचनमा २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) का उम्मेद्वार विजयी भए। प्रदेश २ मा नेकपा र राजपाबीच गठबन्धन भएको थियो।

सबै स्थानमा पराजित भएपछि प्रतिपक्षी नेपाली कांग्रेस भने राष्ट्रिय सभामा ६ पदमा खुम्चिएको छ। 

राष्ट्रियसभामा पहिलोपटक ५६ जना सदस्यको निर्वाचन भएको थियो। कूल ५९ मध्ये तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेकी थिइन्। संसद् सचिवालयले निर्वाचन भएर आएको विधिअनुसार नै क्लस्टर विभाजन गरी २०७५ असारमा कार्यकाल निर्धारण गोलाप्रथाबाट गरेको थियो। जसमा पहिलो दुई वर्षे कार्यकालका लागि १९ जना, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २०/२० जना सदस्य थिए।

गोलाप्रथा अनुसार फागुन २० मा दुई वर्षे कार्यकाल सकिनेमा नेकपाका ९ जना, कांग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका १ जना थिए। रिक्त हुने १९ मध्ये अर्थमन्त्री युवराज खतिवडा राष्ट्रपतिबाट मनोनीत हुन्।

पहिलो निर्वाचनमा १३ सिट जितेको कांग्रेसलाई चिठ्ठा तान्दासमेत घाटा परेको थियो। अहिले भने मतभार बढी हुने दलको उम्मेद्वार नै विजयी बनेका हुन्।

गोलाप्रथाबाट कार्यकाल निर्धारण भएका १९ जनाको कार्यकाल फागुन २० गते सकिँदैछ। एक सदस्य सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्।

कुन प्रदेशबाट को निर्वाचित भए

प्रदेश १

दलित कोटामा नेकपाका गोपी अछामी निर्वाचित भए। निर्वाचित अछामी पूर्व माओवादी हुन्। उनलाई नेपाली कांग्रेसबाट निरबहादुर विश्वकर्माले टक्कर दिएका थिए।

त्यस्तै खुल्लामा पनि नेकपाका देवेन्द्र दाहाल निर्वाचित भए। दाहाल प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री रहँदा सचिवालयमा थिए। उनको प्रतिस्पर्धीका रुपमा कांग्रेसबाट राजेन्द्र घिमिरे चुनावी मैदानमा थिए।

उता महिलातर्फ पनि नेकपाकी उम्मेद्वार इन्दु गौतम विजयी बनिन्। एमाले नेतृ इन्दु गौतम नाताले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार राजन भट्टराईकी सासू हुन्। इन्दुको प्रतिस्पर्धीका रुपमा काग्रेसबाट मिना पुलामी थिइन्।

प्रदेश २

प्रदेश नम्बर २ मा नेकपा र राजपाले गठबन्धन गरेको थियो। यहाँ नेकपाबाट महिलातर्फ तुलसाकुमारी दाहालले विजयी भइन्। उनी पूर्व एमाले नेतृ हुन्।

दलिततर्फ राधेश्याम पासवान पूर्व एमाले हुन्। त्यस्तै नेकपासँग तालमेल गरेको राजपाले  अपाङगता/अल्पसंख्यकको कोटाबाट शेखरकुमार सिंह विजयी बने। अन्यमा मृगेन्द्र कुमार सिंह विजयी बने। शेखरकुमार र मृगेन्द्रकुमार राजपाका वरिष्ठ उपाध्यक्ष हुन्।

यस प्रदेशमा नेपाली कांग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गरेको थियो। यहाँ नेपाली कांग्रेसबाट महिलातर्फ नागिना कुमारी यादव, अपाङगता/अल्पसंख्यकमा भोला पञ्जियारले प्रतिस्पर्धा गरेका थिए। त्यस्तै समाजवादी पार्टीबाट दलित कोटामा रामपृत पासवान र अन्य समूहमा अनिरुद्रकुमार सिंह चुनावी प्रतिस्पर्धामा थिए। पराजित भएका पासवान हाल पनि राष्ट्रियसभा सदस्य छन्। उता समाजवादीबाट पराजित सिंह अनिरुद्रका भाइ हुन्।

वाग्मती प्रदेश

वाग्मती प्रदेशमा पनि अन्य र महिला दुवैतर्फ नेकपाकै उम्मेदवार विजयी भए। नेकपाका स्थायी कमिटी सदस्य रहेका बेदुराम भुसालले दुई वर्षअघि भएको राष्ट्रियसभा निर्वाचनमा उम्मेद्वारी फिर्ता लिएका थिए। भुसालले जनताको बहुदलीय जनवाद (जवज) मा पिएचडी गरेका छन्। उनी माधवकुमार नेपाल निकट नेता हुन्।

महिलातर्फ विजयी बनेकी बेल्बासे पूर्वमाओवादी नेतृ हुन्। बेल्बासे नेकपाको समानुपातिकतर्फ प्रदेशसभा सदस्यको उम्मेद्वार थिइन्। उनी पूर्व शिक्षामन्त्री धनीराम पौडेलकी पत्नी पत्नी हुन्। यहाँ प्रतिपक्षी कांग्रेसबाट अन्यमा हरिशरण श्रेष्ठ र महिलातर्फ छलीकुमारी शर्मा उपाध्यायले उम्मेदवार बनेका थिए।

सातै प्रदेशका विजयी उम्मेद्वारहरुको सूची। फोटो : निर्वाचन आयोग।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा पनि नेकपाकै उम्मेद्वार विजयी बनेका छन्। यहाँ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई उम्मेद्वार बनाएको थियो। सचिवालय सदस्य समेत रहेका श्रेष्ठ २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ बाट डा बाबुराम भट्टराईसँग पराजित भएका थिए।

यहाँ महिलातर्फ विजयी बनेकी भगवती न्यौपाने पूर्व एमाले नेतृ हुन्। उनी गत स्थानीय तहको निर्वाचनमा तनहुँको भानु नगरपालिकामा मेयर पदमा पराजित भएकी थिइन्। उनलाई कांग्रेसका उदयराज गौलीले पराजित गरेका थिए। यहाँ कांग्रेसका तर्फबाट विमला गौचन र अन्य समूहमा सूर्यप्रसाद रेग्मी उम्मेदवार थिए।

प्रदेश ५

प्रदेश ५ मा महिलातर्फ विजयी बनेकी विमला घिमिरे पूर्व एमाले नेतृ हुन्। नेकपाको केन्द्रीय सदस्य समेत रहकी घिमिरे स्थानीय निर्वाचनमा कपिलवस्तुको वाणगंगा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन्। उनी कांग्रेसका मंगलप्रसाद थारुसँग पराजित भएकी थिइन्।

त्यसैगरी अपांगता भएका व्यक्तितर्फबाट नेकपाकै जगप्रसाद शर्मा निर्वाचित भए। प्रदेश कमिटीका सचिव समेत रहेका शर्मा पूर्व माओवादी हुन्। यस्तै अन्य समुहमा विजयी बनेका गोपाल भट्टराई पुराना नेता हुन्।

यहाँ महिलातर्फ नेपाली कांग्रेसकी गिरिजादेवी न्यौपाने, अपांगतमा कांग्रेसकी मेघराज अहराज हलुवाई र समाजवादीका सुनिल कुमार सिंघल उम्मेदवार बनेका थिए। अन्य समूहतर्फ कांग्रेसका बालकृष्ण पाण्डे, समाजवादीका कृष्णप्रसाद अहिर र राष्ट्रिय जनमोर्चाका शिवप्रसाद पौडेल चुनावी मैदानमा थिए।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा पनि नेकपाकै उम्मेद्वार विजयी भए। महिलातर्फ विजयी बनेकी सुमित्रा विसी पूर्व एमाले हुन्। यहाँ महिला समूहतर्फ नै नेकपाकी सुमित्रा विसीसँग कांग्रेसकी गणेशकुमारी बस्नेत पराजित भए।

उता, अन्य समुहतर्फ विजयी भएका मायाप्रसाद शर्मा भए। पूर्व माओवादी शर्मासँग कांग्रेसका डिल्लीराम पाठकले प्रतिस्पर्धा गरेका थिए।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशमा पनि नेकपा नै विजयी भयो। यहाँ महिलातर्फ शारदा देवी भट्ट विजयी बनिन्। उनी पूर्व एमाले नेतृ हुन्। यहाँ भट्टसँग कांग्रेसकी तुलसी देवकोटा प्रतिस्पर्धामा थिइन्। अन्यमा नेकपाका तारामान स्वार विजयी बने। हाल अछाम जिल्ला कमिटी इन्चार्ज रहेका उनी पूर्व माओवादीका नेता हुन्। स्वारसँग कांग्रेसका प्रतापसिंह ठगुन्नाले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell