PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

नेपाल एयरलाइन्सका २५ पाइलटको चेतावनी : तीन महिना भित्र सेवा सुविधा नबढाए सामुहिक राजीनामा



पहिलोपोस्ट

नेपाल एयरलाइन्सका २५ पाइलटको चेतावनी : तीन महिना भित्र सेवा सुविधा नबढाए सामुहिक राजीनामा

काठमाडौं : नेपाल वायुसेवा निगमले स्वदेशी र विदेशी पाइलटलाई दिइरहेको सेवा सुविधाबीच असमानता भएको भन्दै २५ जना पाइलटले निगमको सञ्चालक समितिलाई सेवा सुविधा सुधार्न दवाव दिएका छन्।

समितिले तीन महिनाभित्र समानता व्यवस्थापन नगरे राजीनामा प्रक्रिया अघि बढाउने चेतावनी दिएका हुन्। सेवा सुविधामा समानता नभएका कारण काम गर्ने मनोबल घटेको निगमका वरिष्ठ पाइलट आरके शेरचनले बताए। 'विदेशी पाइलट र हामीलाई दिइँदै आएको सेवा सुविधा असमान छ। सुधार गरियोस् भनेर हामीले बोर्डमा अलर्ट नोटीस बुझाएका हौं,' उनले भने, 'यसका लागि बोर्डलाई तीन महिनाको समय दिएका छौं। यो सुरूवाती अनुरोध हो।' 

उनका अनुसार विदेशी पाइलटलाई दिइने पारिश्रमिकको कर बापतको पैसा निगमले तिर्दै आएको छ भने स्वदेशी पाइलटले पारिश्रामिकको कर बापतको पैसा आफैंले तिर्नुपर्ने प्रावधान छ। 'हाम्रो सेवा सुविधामा विदेशी क्याप्टेन सरह हुनका लागि ऐनले दिँदैन,' उनले भने, 'ऐन मिचेर सेवा सुविधा लिने हाम्रो उद्देश्य होइन। तर समानताका लागि निगमको संचालन समितिले केही योजना ल्याउनुपर्छ भन्ने हाम्रो माग हो।'

हाल निगमको न्यारोबडी र वाइडबडी जहाजमा कार्यरत विदेशी पाइलटले मासिक कररहित १० देखि १३ हजार डलर पारिश्रमिक पाइरहेका छन् भने नेपाली पाइलटले मासिक पाँच हजार डलरसम्म पारिश्रामिक पाउँदै आएका छन्।

पाएको पारिश्रमिकमा ३६ प्रतिशत कर सरकारलाई बुझाउनुपर्ने प्रावधान रहेको उनले बताए। 'ऐनअनुसार आम्दानी गर्ने व्यक्तिले नै सरकारलाई कर बुझाउनु पर्ने व्‍यवस्था छ। हामी ऐन अनुसारको नियम पालना गर्न तयार छौं,' उनले भने, 'हामीलाई भत्ता दिएर हुन्छ कि अन्य सुविधा विस्तार गरेर हुन्छ, संचालक समितिले यसमा ध्यान दिन आवश्यक देखिएको छ।'

निगमको अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिएको न्यारोबडी र वाइडबडी जहाजमा करिब ४० जना पाइलट कार्यरत छन्। ४० जना पाइलटमध्ये दुईजना विदेशी पाइलट न्यारोबडी र एक दर्जन विदेशी पाइलट वाइडबडीमा कार्यरत छन्।

तीन महीनाको अवधिमा निगमले गर्दै आएको उडानमा कुनै प्रभाव नपर्ने उनले बताए। 'हामीले राजीनामा दिएका होइनौं। समानताका लागि बोर्डलाई सम्बोधन गर्न अनुरोध गरेका हौं,' उनले भने, 'हाम्रो दैनिक जिम्मेवारी निरन्तर पुरा गरिरहनेछौं।'

हाल निगमले न्यारोबडी जहाज र वाइडबडी जहाजमार्फत दुबइ, थाइल्याण्ड, मलेसिया, कतार, भारत र जापान लगायत विभिन्न मुलुकमा नियमित उडान गर्दै आएको छ।

निगममा यसअघि प्रमुख कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका थिए। विहीबारको क्याबिनेट बैठकले उनको राजीनामा स्वीकृत गर्दै निगमको अध्यक्षका रूपमा पर्यटन सचिव केदारबहादुर अधिकारीलाई जिम्मेवारी दिएको छ। प्रबन्ध निर्देशक पदका लागि प्रक्रिया सुरू भइसकेको निगमले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell