PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

माधव नारायण 'परदेश' यात्रामा, पशुपतिमा यस्तो देखियो व्रतालुको भिड

माधव नारायण 'परदेश' यात्रामा, पशुपतिमा यस्तो देखियो व्रतालुको भिड

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  स्वस्थानी व्रत आरम्भ भएदेखि साँखुस्थित सालिनदीमा भक्तजनहरुको घुँइचो छ। बिहानैदेखि सालिनदी पुगेर माधव नारायणको दर्शन गरेर स्नान गर्नेहरुको लाम उत्तिकै। बिहीबारबाट भने यो संख्या केही पातलिएको छ। कारण-  माधव नारायण अहिले 'परदेश'को यात्रामा छन्।

स्वस्थानी शुरु भएदेखि नै माधव नारायण दिनहुँ साँखु घुमिरहेका थिए। 'द्य: ध्वाखा' बाट माधव नारायणको मूर्तीलाई दैनिक रुपमा साँखु नगरको परिक्रमा गराइएको थियो। बिहीबारबाट भने माधव नारायण 'सक्व दे:' बाट बाहिरिएका छन्। अर्थात साँखु देशबाट माधव नारायण परदेश हिँडेका छन्।

बिहीबार साँखुबाट बज्रयोगिनी मन्दिर पुगेर त्यहाँबाट माधव नारायणलाई पशुपति पुर्‍याइएको थियो। साँखुमा एक महिना लामो व्रत बसिरहेका व्रतालुहरु माधव नारायणसँगै पैदल हिँडेर पशुपति पुगेका थिए। आज पशुपति मन्दिर परिसरमा रहेको विरुपाक्ष मन्दिरमा माधव नारायणको पूजा गरिएको थियो। साँखुदेखि नै पैदल आएका व्रतालुहरुले वाग्मतीमा स्नान गरेका थिए। त्यसपछि व्रतालुहरुले मन्दिर परिसरमा रहेका मूर्ती पूजा गरेर अन्य भक्तालुलाई टिका लगाइदिएका थिए। परालको बिच्छ्यानमाथि बसेका सबैले लगत्तै नित्यपुजा गरेका थिए।

शुक्रवार पशुपतिबाट माधव नारायणलाई फर्पिङ लगिनेछ। माघ ११ गते शनिवार फर्पिङबाट माधव नारायणलाई पुन: साँखु फर्काइनेछ।

साँखुबाट माघ १४ मा माधव नारायणलाई पनौतीसम्मको यात्रा गराइनेछ र १५ गते फेरि साँखु फकाइन्छ।

माघ २२ गते साँखुबाट चाँगुनारायण प्रस्थान गरेर २३ गते माधव नारायणलाई साँखु फर्काउने तालिका रहेको छ।

परदेश यात्राका क्रममा सहभागीहुने व्रतालुहरुले चिउरा, सुन्लता, घ्यू, चाकु, रातो मुला, अदुवाको व्यवस्था आफैले गर्नुपर्ने नियम छ।



ट्रेन्डिङ पोस्ट

Ncell