PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

शहीद स्मारक लिग : सन्तोषको गोलमा च्यासलको जित



पहिलोपोस्ट

शहीद स्मारक लिग : सन्तोषको गोलमा च्यासलको जित
गोल गरेपछि खुसीयाली मनाउँदै च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखल र अन्य खेलाडीहरु। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा च्यासल युथ क्लबले ब्रिगेड ब्वाइज क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा च्यासलले ब्रिगेड ब्वाइजलाई १-० गोल अन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। खेलको इन्ज्युरी समयमा च्यासलका कप्तान सन्तोष साहुखलले गोल गर्दै च्यासललाई अग्रता दिलाए। त्यसपछि ब्रिगेडले गोल फर्काउन नसक्दा साहुखलको गोल नै निर्णायक बन्यो।

आजको गोलसँगै जारी लिगमा साहुखलको गोलसंख्या ६ पुगेको छ। उनी जारी लिगमा सर्वाधिक गोल गर्ने खेलाडी हुन्। उनी भन्दा पछि एपिएफका आशिष लामाले ५ गोल गरेका छन्।

आजको खेलमा जित निकालेसँगै च्यासल अंकतालिकाको आठौं स्थानमा उक्लिएको छ। ८ खेल खेलेको च्यासलले २ जित ३ हार र ३ बराबरी खेल्दै ९ अंक जोडेको छ।

आजै भएको पहिलो खेलमा मनाङ मर्स्याङदी क्लबले सरस्वती क्लबमाथि १-० को संघर्षपूर्ण जित निकाल्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ। अंकतालिकामा रहेका शीर्ष तीन टिम मनाङ, मछिन्द्र र आर्मीको समान १६ अंक छ। तर, आर्मीले भने आठौं चरणको एक खेल खेल्न बाँकी छ।

आर्मीले शनिवार एनआरटीसँग खेल्ने छ। त्यस्तै शनिबार नै संकटा क्लबले फ्रेन्ड्स क्लबसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell