PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कोटेश्वरको जाम हटाउने सडक विभागको योजना : विकल्पमा सुरुङमार्ग र फ्लाइओभर



दिनेश खड्का

कोटेश्वरको जाम हटाउने सडक विभागको योजना : विकल्पमा सुरुङमार्ग र फ्लाइओभर

काठमाडौं : उपत्यकाभित्र जाममा बस्नुपर्ने समय बढिरहेको छ। सवारी साधनको चाप बढेसँगै जामको समस्या शुरु हुन थालेको हो। पिक आवरमा धेरै समय जाममा बस्नुपर्ने बाध्यता छ। अहिले काठमाडौंका सबै जसो चोकमा जाम हुन्छ। धेरै जाम हुनेमध्ये एउटा चोक हो- कोटेश्वर।

भक्तपुर-काठमाडौं आउजाउको प्रमुख नाका हो कोटेश्वर। विपी र अरनिको राजमार्ग हुँदै यात्रा गर्नेहरू काठमाडौंमा यही नाका हुँदै प्रवेश गर्छन्। काठमाडौं चक्रपथ पनि यहीँ पर्छ। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सडक घुमेकाले पनि जामको थप समस्या छ। यहाँको ट्राफिक व्यवस्थापन सबै सम्बद्ध निकायको टाउको दुखाइको विषय छ।

समाधानका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्ने तयारी रहेको सडक विभागले जनाएको छ। अल्पकालीन योजनाका रूपमा डेडिकेटेड लेन बनाउने सडक डिभिजन काठमाडौंका इन्जिनियर सुदर्शन कार्कीले बताए। 'कोटेश्वरमा हुने गरेको जामको व्यवस्थापनका लागि आगामी आर्थिक वर्षभित्र डेडिकेटेड लेन बनाउने योजना छ,' उनले भने। 

त्रिभुवन विमानस्थलतर्फ एक लेन र अर्कोतर्फ तीन लेन विस्तार गर्न मिल्नेगरि जग्गा अधिग्रहण गर्न लागिएको छ। विमानस्थलतर्फको जग्गा सरकारी हो। विमानस्थलले पनि स्वीकृति दिइसकेको छ भने दायाँतर्फ अधिग्रहण प्रक्रिया सुरु गर्न लागिएको छ।

लेन थपिए तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला जाने र भक्तपुरबाट कोटेश्वर हुँदै सातदोबाटो जाने सवारीसाधनले रोकिनुपर्दैन। जसले केही हदसम्म जाम कम गर्न महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ।

दीर्घकालीन योजनाका लागि जापान सहयोग नियोग (जाइका) को सहयोगमा सरकारकै आग्रहमा अध्ययन भइसकेको छ। जसमा तीनवटा विकल्पसहितको अध्ययन प्रतिवेदन नेपाल सरकारलाई हस्तान्तरण भइसकेको विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापाले बताए। उनका अनुसार कुन विकल्पमा जाने भन्ने निर्णय भने भइसकेको छैन। 'जापानी र नेपाली टोलीको संयुक्त बैठक बसेर निर्णय गर्दै अघि बढाउने योजना सडक विभागको छ,' उनले भने। 

उक्त प्रतिवेदनमा टनेल र फ्लाइओभरसहितका तीन विकल्प दिइएको छ। 

पहिलो विकल्प:

प्रतिवेदनमा तीनकुनेबाट भक्तपुरतिर जाने सडकमुनि रिङरोडमा सुरुङमार्ग निर्माण गर्नु पर्छ। बानेश्वर र तीनकुनेबाट सूर्यविनायकतिर जाने सडकलाई अहिलेकै अवस्थामा राखेर विस्तार गरिनेछ। त्यसको मूनिबाट सोही रुट हुँदै बालकुमारीतिर निस्कन सुरुङमार्ग निर्माण गर्न सकिनेछ। सुरुङमार्ग १ हजार १सय ४० मिटर लम्वाईको हुनेछ भने यसको निर्माण लागत करिब २४ अर्ब रूपैयाँ हुने अनुमान छ। लागत डीपीआर तयार पार्दा २० प्रतिशतसम्म तलमाथि हुन सक्छ। यो ४८ महिनामा तयार पार्न सकिने प्रतिवेदनमा उल्लेख छ।

दोस्रो विकल्प: 

यसमा फ्लाइओभरलाई प्राथमिकतामा राखिएको छ। निर्माण गरिए तीनकुनेबाट बालकुमारीतिर जाने सडक (रिङरोडमा) फ्लाइओभर राखिनेछ। १ हजार ३ सय २० मिटरको फ्लाइओभर निर्माण गरिनेछ। सूर्यविनायक (भक्तपुर) जाने सडकलाई विस्तार गरिने छ। करिब ९ अर्ब ९० करोड रूपैयाँ लाग्ने अनुमान गरिएको छ। करिब तीन वर्ष लाग्ने अनुमान गरिएको छ। 

तेस्रो विकल्प

भक्तपुरतिर जाने सडकमा सुरुङमार्ग निर्माण गरिनेछ। भक्तपुरतिर जाने सडकमा आउन र जान दुईवटा सुरुङमार्ग निर्माण गरिने प्रतिवेदनमा उल्लेख छ। करिब १ हजार ८ सय ६० मिटर लामो सुरुङमार्ग निर्माणका लागि २४ अर्ब ६ करोड लाग्ने अनुमान छ। चक्रपथलाई विस्तार गरेर अहिलेकै अवस्थामा चल्न दिइनेछ।

महाशाखाका अनुसार सुरुङमार्ग निर्माण गर्न नयाँ प्रविधि अपनाउन लागिएकाले लागत महंगो हुन आएको हो। यो प्रविधिमार्फत सुरुङमार्ग निर्माण गर्दा ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिन्छ। सुरुङमार्गका संरचना बाहिर बनाएर एउटा होल खोपेर त्यसमार्फत ठेलिन्छ। केही संरचना बनाउदै ठेल्दै त्यसलाई जोड्दै सुरुङमार्ग तयार पारिन्छ। सतहमा सवारीसाधन चलिरहन्छ, तल सुरुङमार्गको काम पनि चलिरहन्छ। यस्तो विधिमार्फत टोकियोमा समेत टनेल निर्माण गरिएको महाशाखाका एक इन्जिनियरले बताए। 

मार्चमा जापानी टोली काठमाडौं आउँदै

चालु महिनामा आउने भनिएको जापानी टोली दुई महिना ढिला गरि आगामी मार्चमा आउने भएको छ। उनीहरू आएपछि कोटेश्वरको विस्तृत अध्ययन गर्ने सहमति हुने र काम शुरु गरिने महाशाखाका अधिकारीहरू बताउँछन्। यसअघि तयार पारिएको प्रारम्भिक प्रतिवेदनलाई आधार बनाएर थप अध्ययन हुनेछ। यो जापानी ऋण सहयोगमा बनाइदिन प्रस्ताव गर्ने तयारीमा महाशाखा छ।

बानेश्वर चोकमा कलंकीको जस्तै अण्डरपास

जापानले अनुदान सहयोगमा बानेश्वर चोकमा अण्डरपास बनाइदिने भएको छ। कलंकीको जस्तै अण्डरपास-वे अनुदानमा बनाइदिन सकारात्मक देखिएको विकास सहायता कार्यान्वयन महाशाखाका एक इन्जिनियरले जानकारी दिए। मार्चमा द्धिपक्षीय सम्झौता गर्ने तयारी छ।

महाशाखाका अनुसार जापानकै सहयोगमा फिजिविलिटी (सम्भाव्यता) अध्ययन भइसकेको छ। अघिल्लोपटक काठमाडौं आएको टोलीले काठमाडौंका मुख्य-मुख्य चोकहरूमा ट्राफिक व्यवस्थापन सुधारका लागि अध्ययन गरेको थियो। अध्ययनपछि बानेश्वर चोकमा अण्डरपास बनाउँदा उपयुक्त हुने प्रतिवेदन दिएको थियो। बानेश्वर चोकका लागि अण्डरपास-वे नै उपयुक्त हुने निष्कर्ष निकालिएको छ। 

द्धिपक्षीय छलफल हुँदा अनुदान सहयोगमा बनाइदिन जापानी टोली सकारात्मक भएको हो। महाशाखाका अनुसार विस्तृत सम्भाव्यता अध्ययन डीपीआर र कन्स्ट्रक्सन दुवै अनुदानमा बनाइदिन जापानी पक्ष सकारात्मक देखिएको हो।

एउटा अण्डरपास निर्माणका लागि करिब एक अर्ब रूपैयाँ खर्च लाग्ने अनुमान छ। निर्माण भए यो नेपालको दोस्रो अण्डरपास-वे हुनेछ। पहिलो कलंकी चिनियाँ सहयोगमा निर्माण भएर सञ्चालनमा आइसकेको छ। त्यसैगरि रिङरोड विस्तारसँगै महाराजगंज चोकमा पनि अण्डरपास निर्माण हुनेछ। यो चिनियाँ अनुदान सहयोगमा निर्माण हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell