PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

चिनियाँ नयाँ वर्षको शुभकामना - 'कोरोना भाइरसले नछोओस्', साथीको सुझाब : फर्किँदा टन्न मास्क बोकेर आउनु है!



विधुर ढकाल

चिनियाँ नयाँ वर्षको शुभकामना - 'कोरोना भाइरसले नछोओस्', साथीको सुझाब : फर्किँदा टन्न मास्क बोकेर आउनु है!

काठमाडौं : चिनियाँ नयाँ वर्ष (मुसा वर्ष) मनाउँदै गर्दा चीन यतिबेला बुहान निमोनियाको चपेटामा परेको छ। स्प्रिङ फेस्टिवलको रुपमा मनाइने यस पर्वका अवसरमा विश्वकै ठूलो जनसंख्या चलायमान हुने समय मानिन्छ। यसपटक वुहानबाट फैलिएको क्रोनिक भाइरसका कारण उत्साह कम देखिएको छ। चिनियाँ नयाँ वर्ष पारिवारिक मिलनको अवसर पनि हो।

चिनियाँ नयाँ वर्षका क्रममा झन्डै डेढ अर्ब चिनियाँ जनसंख्या यात्रामा जुट्ने अनुमान गरिएकोमा यस वर्ष डिसेम्वरमा आउटब्रेक भएको वुहान भाइरसका कारण केही असर परेको छ।

लुनार क्यालेण्डर अनुसार मनाइने स्प्रिङ फेस्टिवलका क्रममा मानिसहरु पारिवारिक मिलनका लागि यात्रामा अगाडि देखि नै जुट्ने गर्छन्। यसवर्ष सुङ्गुर वर्षलाई विदाइ गरेर मुसा वर्षलाई स्वागत गर्ने चिनियाँहरु जनवरी २४ मा न्यूइएर इभ मनाउँदै छन्।

अधिकांश कामदार वर्गका लागि वर्षमा एक पटक परिवारसँग मिलनको अवसर पनि हो। न्यूइयर इभदेखि १५ दिनसम्म मनाइने यो पर्वमा क्रममा ४४ करोड यात्रुहरुले चिनियाँ रेलयात्रा गर्ने अनुमान गरिएको छ जुन गत वर्ष भन्दा ८ प्रतिशतले बढी हो।

चीनमा ‘चुनयुन’ (स्प्रिङ फेस्टिवलका लागि हुने यात्रा) ४० दिनको हुन्छ। ४० दिनसम्म यहाँका विश्वविद्यालयहरु पनि बन्द हुन्छन्। यस वर्षको जनवरी १० देखि फेब्रुअरी १८ सम्म हो यो अवधि। यस वर्ष ७ करोड ९० लाख जनसंख्या हवाइ मार्गबाट यात्रा गर्ने अनुमान सरकारी आँकडाले निकालेको थियो जुन २०१९ भन्दा ८ प्रतिशतले बढी हो। यसबेला हरेक दिन १७ हजार भन्दा धेरै उडानहरु भइरहेका छन्। साउथ बेइजिङमा सञ्चालनमा आएको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलले मात्र १९ लाख यात्रुलाई हेण्डल गर्ने अपेक्षा गरिएको छ।

वुहान आउटब्रेकसँगै सबै जसो विमानस्थलहरुमा यात्रुहरुको स्वास्थ स्क्रिनिङ गर्ने व्यवस्था गरिएका छन्।

नयाँ वर्षको शुभकामना- भाइरसले नछोओस्

चिनियाँ न्यूइयर इभको केही घण्टा अगाडि चिनियाँ मित्र सेलीले विच्याटमा सन्देश पठाइन्, ‘नयाँ वर्षको शुभकामना भाइरसबाट टाढै रहनु। तिमी र तिम्रो परिवारमा भाइरस नपुगोस्।’

नयाँ वर्षमा शुभकामना सन्देश यतिबेला भाइरसले प्रवेश गरेको छ। शुभकामना सन्देश पठाउनेहरुले भाइरसबाट जोगिन सल्लाह पनि दिइरहेका छन्।

‘यस वर्ष बजारमा त्यति भिड छैन। घरबाट बाहिर पनि निस्किएकी छैन,’ सिचुवानकी सेलीले विच्याटमा भनिन्, ‘बेलैमा नेपाल गयौं राम्रो गर्‍यौं।’

फर्किँदा माक्स लिएर आउनु

पछिल्लो सरकारी आँकडा अनुसार चीनका १९ प्रान्तमा ८३० निमोनियाका विरामी फेला परेको सिन्ह्वाले जनाएको छ।

चिनियाँ हेल्थ कमिसनले शुक्रवार जारी गरेको तथ्यांक अनुसार बिहीवार साँझ सम्म २९ प्रान्तमा ८३० विरामीमा नोवल कोरोनाभाइरस (२०१९ एनसीओभी) प्रमाणित भएको छ। जसमध्ये ३४ जना उपचार पछि घर फर्किएका छन्। त्यस्तै, एक हजार ७२ आशंकित विरामीहरु भर्ना भएका छन्। यस रोगका कारण २५ जनाको मृत्यु भइसकेको छ। जसमध्ये २४ जना हुवेइ र एक जना उत्तरी चीनको हेवेइ प्रान्तमा मृत्यु भएको हो।

बिहीवार मध्य रातसम्म हङकङमा र मकाउमा २-२ र ताइवानमा एक जना विरामीमा वुहान भाइरस प्रमाणित भएको छ। त्यस्तै थाइल्याण्डमा तीन जना विरामीमा वुहान भाइरस देखिएकोमा दुई जना उपचार पछि फर्किएका छन् भने जापानमा पनि एक जनामा यस रोगको संक्रमण देखिएको छ।

त्यस्तै, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकामा एक एक र भियतनाममा दुई जनामा यसको संक्रमण प्रमाणित भएको छ। अहिले सम्म ९ हजार ५०७ जना संकास्पद विरामी सम्पर्कमा आएकोमा ८ हजार ४२० जना अझै मेडिकल अब्जर्वेसनमा राखिएका छन् भने १०८७ विरामी घर फर्किसकेका छन्।

संक्रमण फैलिँदै गर्दा बजारमा मास्कको अभाव हुँदै गएको बताइएको छ।

‘माक्स पाउन मुस्किल भएको छ। मैले पनि महँगो रकम तिरेर मास्क किनेँ,’ चिनियाँ मित्र सेलीले भनिन्, ‘यहाँ फर्किने बेला नेपालबाट मास्क किनेर आउनु। यहाँ महँगो भएको छ।’

छेन्दुको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युइएसटीसी)मा अध्ययन गर्ने राजीव झाले माक्स खोज्न भौतारिरहेको विच्याटमा बताए।

‘युनिभर्सिटीको अस्पतालमा माक्स सकिएछ। अनलाइन एक्प्रेस डेलिभरी पनि बन्द छ,’ उनले भने, ‘बाहिरका फार्मेसीमा माक्स लिन भनिएको छ। ती पनि कामचलाउ मात्र। नेपालबाट टन्न लिएर आउनु है, मेरो लागि पनि।’

यात्रा स्थगित गरे टिकटको पैसा फिर्ता

यसैबीच कोरोना भाइरसका कारण यात्रा गर्न अग्रिम टिकट बुक गरेका यात्रुहरुले यात्रा स्थगित गरे पैसा फिर्ता पाउने भएका छन्। चीनको सरकारी रेलवेले यात्रुहरुको टिकट शुल्क फिर्ता गर्ने भएको हो। रेलवे स्टेशन, अनलाइनमार्फत् टिकट किनेका यात्रुले विनाशुल्क टिकट क्यान्सल गर्न सक्ने सिन्ह्वाले जनाएको छ।

संक्रमण नियन्त्रणका लागि १००० शैयाको अस्पताल बन्दै

यसैबीच वुहानमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि बेइजिङमा सार्स नियन्त्रणका लागि अपनाइएको उपचार पद्धती अपनाइने भएको छ। कोरोनोभाइरसले संक्रमित विरामीका लागि विशेष अस्ताल बनाइने भएको छ।

यो अस्पताल २५ हजार वर्गमिटरमा फैलिने र जुन फेब्रुअरी ३ देखि सञ्चालनमा आउने छ। यस अस्पतालमा एक हजार शैया हुने र सबै शैया आसोलेटेड हुने सिन्ह्वाले जनाएको छ।

चीनमा २००३ मा फैलिएको सार्स नियन्त्रणका लागि बेइजिङमा स्याओथाङसान अस्पताल निर्माण गरिएको थियो।

वुहान हेडक्वाटरले पनि त्यहाँको साइतियान जिल्लाको वुहान वर्कर्स सेन्टोरियम नजिकै अस्थायी अस्पाल निर्माण गरिने जनाएको छ। अस्पताल निर्माण स्थलमा निर्माण सामाग्री पुर्‍याइएका छन्। यो अस्पतालको निर्माण बेइजिङकै मोडल हुने बताइएको छ। २००३ मा बेइजिङमा स्याओथाङसान अस्पताल सात दिनमा निर्माण गरिएको थियो। त्यतिबेला अस्पतालले दुई महिनामा सार्सका १५ प्रतिशत बढी विरामीको उपचार गरेको थियो।

हाल कोरोना भाइरसका विरामीहरुको वुहानका विभिन्न निर्धारित अस्पताल तथा ६१ क्लिनिकमा भइरहेको छ। बिहीवार विहानदेखि वुहान हुवेइको राजधानी वुहान बन्द भएको छ। सार्वजनिक यातायात तथा रेलसेवा बन्द गरिएका छन्।

चिन्ता नेपालमा पनि

नेपालमा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीमा यस भाइरसको संक्रमण भएको पुष्टि भएको हो। एक साता अगाडि चीनबाट आएका नेपालीलाई रुघा खोकी लागेपछि उनी उपचारका लागि अस्पताल पुगेका थिए। कोरोना भाइरसबाट अति प्रभावित चीनको बुहान क्षेत्रबाट फर्केका ती व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको हुन सक्ने अनुमान चिकित्सकहरुले गरेका थिए। त्यसैले उनको रगत परीक्षणका लागि हङकङमा रहेको ल्याबमा पठाइएको थियो। परीक्षणमा उनमा कोरोना भाइरस पोजिटिभ पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell