
चितवन : चितवन राष्ट्रिय निकुञ्जको घुमघाम र यहाँको न्यानो आतिथ्यता पछि तीन दिनको बसाई सकेर बेल्जियमकी राजकुमारी एस्ट्रिड आज काठमाडौं फर्किएकी छिन्। फर्कनुअघि उनले भरतपुर विमानस्थलको विशिष्ट कक्षमा निकुञ्जको सौन्दर्यताको बारेमा वर्णन गरिन्।
उनले निकुञ्जमा घुम्दा आफूले एक सिङ्गे गैँडासहित विभिन्न जनावर र थुप्रै प्रजातिका चराचुरुङ्गी देखेको भन्दै खुशी प्रकट गरिन्। आफूलाई स्वागतसहित राम्रो आतिथ्यता प्रदान गरेकोमा भरतपुर महानगरपालिका र प्रदेश सरकारप्रति पनि उनले आभार प्रकट गरिन्। उनलाई प्रदेश सभा सदस्य रिना गुरुङ, भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहसहित जिल्लास्थित सरकारी अधिकारीले बिदाइ गरेका थिए।
बुधवार साँझ निकुञ्जको एउटा प्रवेशद्वार मेघौलीमा राजकुमारी एस्ट्रिडको वाग्मती प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भरतपुर महानगरपालिकाले स्वागत गरेको थियो। साँझ नै प्रदेश सरकारको आतिथ्यतामा एस्ट्रिडलाई रात्रिभोज दिइएको थियो।
बिहीवार दिनभर उनले निकुञ्ज घुमेकी थिइन्। राजकुमारी एस्ट्रिड एक साताका लागि नेपाल भ्रमणमा आएकी हुन्। शनिवार उनी बेल्जियम फर्कने कार्यक्रम रहेको छ। उनी यही माघ ५ गते नेपाल आएकी थिइन्।