PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी, प्रहरीको लाठी चार्जबाट ९ विद्यार्थी घाइते



राधेश्याम पटेल

बहुदरमाई नगरपालिकाको कार्यालयमा तोडफोड तथा आगजनी, प्रहरीको लाठी चार्जबाट ९ विद्यार्थी घाइते
प्रहरीको लाठी चार्जबाट घाइते विद्यार्थीहरु।

वीरगंज : पर्साको बहुदरमाई नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तोडफोड तथा आगजनी गरेका छन्। वडा नम्बर ३ नगरदाहामा रहेको महाविरप्रसाद माध्यमिक विद्यालयका छात्रछात्राहरुले आज दिउँसो कार्यालयमा तोडफोड र आगजनी गरेका हुन्।

विद्यार्थीहरुले कार्यालयको सिसा फुटाएका छन् भने फर्निचर, कम्प्युटर तथा कागजात तितरबितर पारेका छन्। उनीहरुले कार्यालयभित्र पार्क गरी राखिएको ना १ ब २९०६ नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन्। पर्सा प्रहरीले स्थितिलाई नियन्त्रण गर्न ठूलो संख्यामा सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरेको थियो।

पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीको कमान्डमा ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहको टोली घटनास्थलमा पुगेर अवस्थालाई नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो। जसमा ९ जना विद्यार्थी गम्भीर घाइते भएका छन्। विद्यार्थीहरुको टाउको, कम्मर, खुट्टामा चोट लागेको छ।

किन भए विद्यार्थी उग्र?

विद्यालयमा मावि तहका विषयगत शिक्षक नरहेकोले विद्यार्थीहरुले पटकपटक नगरपालिकासँग शिक्षक माग गर्दै आएका थिए। तर नगरपालिकाको शिक्षा ईकाइले मावि तहको शिक्षक उपलब्ध नगराएकोले तोडफोट तथा आगजनी गर्न बाध्य भएको आक्रोशित विद्यार्थीहरुले बताएका छन्। उनीहरुले यसअघि पनि शिक्षकको माग गर्दै आन्दोलन गरेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell