PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

अनि… देशव्यापी विरोध र ‘जिन्दगी तमाशा’ एकसाथ रोकियो



पहिलोपोस्ट

अनि… देशव्यापी विरोध र ‘जिन्दगी तमाशा’ एकसाथ रोकियो

पाकिस्तानको एक शहरमा भव्य विवाह समारोहको आयोजना हुन्छ। त्यहाँ पुगेका हुन्छन् ‘मौलवी साहब’। मौलवी अर्थात् इस्लामिक कानूनका गुरु। समारोहमा उनले कविता वाचनको तयारी गरेका हुन्छन्। कविताको विषय इस्लाम धर्म प्रवर्तक पैगम्बर मोहम्मद हुन्छन्।

विवाह समारोहमा उनले कविता वाचन गर्छन्। उनले वाचन गरेको कविताको भिडियो कसैले खिचेर फेसबुकमा पोस्ट गरिदिन्छ। अनि भिडियो भाइरल।

आनन्दले रहँदै आएका मौलवीको जीवनमा भिडियोले अप्रत्यासित प्रभाव छाड्न थाल्छ। उनलाई देख्दा छिमेकीहरु तर्कन्छन्, आँखा तर्छन् र कुरा काट्न थाल्छन्। उनलाई भेट्दा नमस्कार गर्नेहरु देखेनदेखे झै गर्न थाल्छन्।

यही घटनापछि पात्रहरुमा पर्ने आघात, मनोवैज्ञानिक परिवर्तन, सामाजिक असहिष्णुता देखाइन्छ पाकिस्तानी फिल्म ‘जिन्दगी तमाशा’मा।

तर, अब फिल्म सार्वजनिक प्रदर्शनमा नआउने पक्कापक्की भइसकेको छ। किनकि पाकिस्तानी कट्टरपन्थी राजनीतिक दलको विरोधपछि फिल्म प्रदर्शनमा रोक लगाइएको हो। उक्त फिल्मले इस्लामिक धार्मिक योद्धाको संघर्षलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै विरोध जनाइएको छ।

तहरीक ए लबैक पार्टीले फिल्मबारे भनेको छ, ‘फिल्ममा जे देखाइयो त्यसले मानिसबीच धार्मिक बिखण्डन निम्त्याउने पक्‍का थियो।’

बीबीसीले जनाए अनुसार पार्टीका प्रवक्ताले भनेका छन्, ‘फिल्मले परम्परागत धार्मिक प्रचलनको निन्दा गरेको छ र मानिसको विश्वासविरुद्ध कथा प्रस्तुत गरेको छ।’

पाकिस्तानमा धार्मिक निन्दा एकदम संवेदनशील विषय हुने गर्छ। त्यहाँ भएका धार्मिक निन्दाविरुद्धका घटना र निर्णयहरु अन्तर्राष्ट्रिय मिडियाका हेडलाइन बन्ने गर्छन्।

तर, फिल्म निर्माण टोलीले एउटा फिल्मको विषयबस्तु र प्रस्तुतिविरुद्ध संगठित समूह नै लागि पर्नुलाई 'कलात्मक अभिव्यक्ति'मा रोक लगाउनुको संज्ञा दिएको छ।

जिन्दगी तमाशाको निर्माण तथा निर्देशन सरमद खुसतले गरेका हुन्। २४ जनवरीमा रिलिज टार्गेट गरेको फिल्म पहिलो ट्रेलर सार्वजनिक भएदेखि नै विवादमा तानियो। ट्रेलरमा मौलवीले घरायसी काम गरिरहेको दृश्य देखाइएको थियो।

विरोधपछि १९ जनवरीमा सरमद खुसतले ट्वीटरमा खुलापत्र जारी गरेका थिए जसमा फिल्म रिलिज रोकिने संकेत गरिएको थियो। ट्वीटमा प्रश्न गर्दै उनले लेखेका थिए- ‘फोन र मेसेजमार्फत् अत्याधिक धम्की आइरहेका छन्। के मैले फिल्म प्रदर्शन स्थगित गर्नुपर्छ?’

पत्रमा उनले पाकिस्तान र पाकिस्तानीलाई सम्बोधन गर्दै भनेका छन् : मैले कसैलाई दु:ख दिन अथवा कसैको आस्थामा चोट पुर्‍याउन ‘जिन्दगी तमाशा’ बनाएको होइन। यो त एउटा असल मुसलमानको कथा हो। यसको सेन्सर नगरिएको वा गरिएको कुनै पनि भागमा धार्मिक समुदाय, पार्टी वा समूहविरुद्ध केही पनि समावेश गरिएको छैन।

उनले आफ्नो जिन्दगीको मूल्यवान दुई वर्ष र करियर अवधिभर कमाएको रकम खर्च गरेर बनाएको फिल्मबारे नजिकका साथीहरुले समेत प्रश्न गरेकोमा दु:ख व्यक्त गरेका छन्।

निर्देशकले आफ्नो फिल्म ‘पोस्टफोन्ड’ हुँदा उत्सव मनाउने अधिकार कसैसँग नभएको जनाएका छन्। कानूनी, आधिकारिक होस या नैतिक, कुनै पनि हिसाबले फिल्म प्रदर्शनमा रोक लाग्नुलाई गलत भनेका छन् उनले।

रोचक त के छ भने, फिल्म पाकिस्तानका केन्द्र, प्रदेश र स्थानीय तीनै सेन्सर बोर्डबाट पास भएको छ। केही उजुरीका कारण फिल्मलाई ‘रिस्क्रिनिङ’का लागि पटकपटक बोलाइएको पनि थियो। तीन पटकसम्ममा पनि सेन्ट्रल बोर्ड फर फिल्म सेन्सर, पाकिस्तानले फिल्मका केही संवाद र 'स्ल्याङ' बाहेक केहीमा पनि कैंची नचलाएको निर्देशकको दावी छ।

‘जिन्दगी तामाशा’ले २०१९ मा बुसान फिल्म फेस्टिभलमा ‘किम जी स्योक’ अवार्ड जितेको छ। फिक्सन फिल्म विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्ड जित्ने यो पहिलो पाकिस्तानी फिल्म हो।

बीस वर्ष पाकिस्तानी फिल्ममा सक्रिय रहेका सरमद खुसतले दुई वर्षअघि उक्त फिल्म निर्माण थालेका थिए। सन् २०१७ मा पाकिस्तान सरकारले उनलाई ‘प्राइड पर्फमेन्स अवार्ड’ समेत दिएको थियो। पाकिस्तानी फिल्म, टिभी र रङ्गमञ्चमा उल्लेखनीय योगदान पुर्‍याएका उनी विभिन्न शहरमा फिल्म पढाउँदै हिँडेका पनि छन्। त्यसैले देश वा देश भित्रका कुनै पनि समुदायको आस्था र विश्वासविरुद्ध प्रस्तुत हुनै नसक्ने तर्क राख्दै आएका छन् उनले।

‘फिल्म एक कलात्मक अभिव्यक्ति हो। जसले सम्बन्धित सेटिङको समाज र घटनालाई प्रतिविम्बित गर्छ। त्यसैका लागि मैले र मेरो टिमले उक्त समय र परिवेशको सामाजिक/ लैङ्गिक संरचना, धार्मिक स्थिति, वर्गीय विभाजनको अध्ययन गरेको थियो’, जिन्दगी तमाशा बारे खुसतले भनेका छन्, ‘कुनै एक व्यक्ति, समुदाय वा संस्थामाथि प्रहार गर्ने हाम्रो उद्देश्य हुनै सक्दैन।’

तर, केही राजनीतिक दलले उनी र उनका परिवारलाई निरन्तर धम्काइ रहेको आरोप उनले लगाएका छन्। भनेका छन्, ‘धर्मका नाममा असहिष्णुता, डर र घृणा फैलाउनु गलत हो। यस्तो नगर्नुस्।’

उनले ट्वीटरमार्फत् दुई पटक खुलापत्र लेखे। त्यसको प्रतिक्रिया नै हुनुपर्छ तहरीक ए लबैक पार्टीले उक्त फिल्म रिलिजमा रोक लगाउन देशव्यापी र्‍याली नै आयोजना गर्‍यो। ‘पैगम्बर मोहम्मद’प्रति आम मानिसको आस्था टुटाउन खोज्नेहरुलाई उनले मृत्युदण्ड समेत हुनसक्ने अवस्थामा फिल्म प्रदर्शन गर्नु नाजायज हुने विज्ञप्तिमा जनाइएको थियो।

गत मंगलबार प्रधानमन्त्री इमरान खानका सूचना तथा प्रसारण सल्लाहकार फिर्दोस आशिक अवनले ट्वीट लेखे - फिल्म ‘जिन्दगी तमाशा’ प्रर्दशन मिति पछि सार्न निर्देशन दिइएको छ।

ट्वीटमा उनले सेन्सर बोर्डले इस्लामिक वैचारिक परिषद्सँगको सल्लाहपछि मात्र नयाँ प्रदर्शन मिति तोकिने बताएका थिए।

त्यसपछि पार्टीको देशव्यापी विरोध र्‍याली स्थगित भयो। र खुसतको ‘जिन्दगी तमाशा’ पनि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell