PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओली - प्रचण्ड राष्ट्रघाती हुन्, एमसीसीविरुद्ध उठेको आवाज दबाउन खोजे नेकपा टुक्राटुक्रा : सीपी मैनाली



प्रकाश भण्डारी

ओली - प्रचण्ड राष्ट्रघाती हुन्, एमसीसीविरुद्ध उठेको आवाज दबाउन खोजे नेकपा टुक्राटुक्रा : सीपी मैनाली

काठमाडौं : झापा आन्दोलनबाट उदाएका नेता केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन्। त्यही आन्दोलनबाटै उदाएका नेकपा मालेका महासिचव सीपी मैनाली भने लगभग गुमनाम।

थ्रेस होल्डबाट संविधानसभामा पुगेर मन्त्री समेत बनिसकेका उनी अहिले सरकारको कडा आलोचक हुन्। अहिले कस्तो छ त उनको दैनिकी? अनि राष्ट्रिय राजनीतिबारे उनको धारणा के छ? यिनै विषयमा प्रकाश भण्डारीले गरेको कुराकानी :

पार्टीको गतिविधि कस्तो छ अचेल?

२०७४ को चुनावपछि हाम्रो पार्टी प्रतिपक्षी भूमिकामा छ। चुनावमा अपेक्षित नतिजा पाएनौं। हामीले २०७४ फागुनमा राष्ट्रिय अधिवेशन गरेर चुनावको समीक्षा र आफ्ना कमजोरीलाइ सच्याउने कमिटमेन्ट गरेका छौं। नयाँ ढंगले काम अगाडि बढाउँ भन्ने कुरा छ। यसबीचमा राजनीतिक प्रशिक्षण पनि भए। जनताको बीचमा पार्टी लैजाने निर्णय पनि गरेका छौं।

आगामी चैतभित्र राष्ट्रिय परिषद्को अधिवेशन गर्ने छौं। आउने वर्षभित्र आठौं महाधिवेशन।

आफ्नो कमजोरी के रहेछन् त?

पहिलो त विपक्षीले निषेधको राजनीति गरे। साना पार्टीलाई निषेध गर्न थ्रेस होल्ड राखे। तीन ठाँउमा सहकार्य गरौं भने नेकपाले मानेन। त्यसो भए एक ठाँउमा त गरौं भने केपी ओलीले मानेनन्। बरु मालेलाई नेकपामा समाहित गरौं भन्ने उनीहरुको विचार। उनीहरुकै चुनाव चिन्ह लिएर उठनुपर्ने। हामीले त्यो मानेनौं। त्यो पनि हो, हामी यसरी खुम्चनुको कारण।

अब पहिलाको निर्वाचनमात्रै होइन। उपनिर्वाचनमा पनि सरकारमा रहेका पार्टी र प्रतिपक्षी पार्टीले पाएको भोटलाई अधार मान्ने हो भने कांग्रेसले पहिले जितेको ७ स्थानीय ठाँउमा चुनाव हार्‍यो। नेकपा जित्यो। अनि नेकपाले पनि ६ ठाँउमा चुनाव हार्‍यो। काँग्रेस जित्यो।

नेकपा मालेले राम्रो नतिजा पाएन। एक्लाएक्लै सरकारको विरुद्ध लडेका पार्टीलाई पनि पत्याएनन् जनताले। खाली कांग्रेसको विकल्प नेकपा र नेकपाको विकल्प कांग्रेस भयो।

हुन त जनसाधारण पनि सरकारले प्रतिवद्धता पूरा नगरेकोमा असन्तुष्ट छन्। धेरै द्वन्द्व छ। सरकारको तात्कालीक विकल्प दिन सक्ने पार्टी नभएसम्म जनताले अर्को पार्टीलाई विकल्प मान्दैनन्।

कस्तो पार्टीलाई सरकारको विकल्प मान्छन् त त्यसो भए?

जे जे काम सरकारले गर्न सकेको छैन। त्यो काम गर्न सक्नेलाई नै हो विकल्प मान्ने। जस्तो सरकार आर्थिक विकासमा त फेल नै भयो। बाह्य हस्तक्षेप बढेको छ। त्यसैले तत्काल समस्या समाधान गर्ने देशभक्त जनगणतान्त्रिक शक्तिको जरुरी छ। त्यही नै अहिलेको विकल्प हो।

तपाईँ यसको नेतृत्व गर्नुहुन्छ?

म एकजना कर्मीमात्र हो। हाम्रो भरपुर पहल भइरहेको छ। प्रजातान्त्रिक, वाम र कम्युनिष्टहरु मिलेर अहिले तत्कालीन समस्या समाधान गर्न सकिन्छ। त्यसका लागि मालेले लगातार अभ्यास गर्दै आएको छ। देशभक्त साथीहरु कम्यनिष्टमा पनि छन्। कांग्रेस तथा राप्रपा लगायतका पार्टीमा पनि छन्। हो यिनै साथीहरुलाइ एकत्रित गर्नु अहिलेको आवश्यकता हो।

तर, अहिले तपाईँ मुल धारबाटै हराइ सक्नुभयो भन्छन्, विश्वास गर्लान् र?

हाम्रो पार्टीको नीति नै के हो भने कसरी मेन स्ट्रिम राजनीतिमा आउने? हाम्रो पार्टीले अहिले त्यही अनुसारले काम पनि गरिरहेको छ। अर्कोतिर के भने संसदमा हाम्रो प्रतिनिधित्व नभएको र ३५ सालमा बनेको नेकपा माले स्थापना कालदेखि नै प्याट्रियोटिक पार्टी हो। हाम्रा पार्टीका नीति पनि त्यही अनुसार छ। हामीले कोही कसैसँग सम्झौता गरेका छैनौं। यसरी सम्झौता नगरेपछि त देश विदेशी शक्ति लागिपर्छन् नि। हाम्रो देशका अरु पार्टीको विदेश परस्त नीति हाबी छ पार्टीभित्र र बाहिर पनि।

विदेशी शक्ति भनेर कसलाई भन्न खोज्नुभएको हो?

सबैले बुझेकै कुरा छ चीनले हामीलाई कहिल्यै पनि प्रत्यक्ष वा परोक्ष हस्तक्षेप गर्ने नीति लिएन। तर, भारत र पश्चिमाहरु जहिले पनि नेपालमाथि हस्तक्षेप गर्न लागि परे। यो सन्दर्भमा पृथ्वीनारायण शाह नायकै नै रहे। तर, त्यसपछि विभिन्न कालखण्डमा देशमाथि विभिन्न हस्तक्षेप भए। नेपालका तीन परिवर्तन २००७ साल २०४६ साल र २०६३ साल अरुकै इच्छा अनुसारका हुन्। किनभने यसमा भारतको कहीँ न कहीँ भूमिका छ। विदेशीहरुको रुचिअनुसारका विश्लेषण नेपालका पार्टीहरुले रुचायो। नेकपा माले पनि त्यसको सिकार भयो।

माले सिकार कसरी भयो त?

२०३५ सालमा सम्मेलन गरेर माले गठन हुँदा हामीले नेपालकै विश्लेषण गरेर पार्टीको नीति तथा कार्यक्रम बनाएका रहेछौं। अहिले हेर्दा पनि त्यो देखिन्छ। त्यसबेला राजाको निरंकुशतन्त्र विरुद्ध लडिरहेकै भए पनि पृथ्वीनारायण शाहको एकीकरण युगान्तकारी हो भन्ने विश्लेषण नेपाली नै हो। अलि पछिसम्म हामीले पनि नेपाली राजनीतिभित्रका विदेश परस्त नेताहरुले हामीलाई पनि नलटपट्याएका होइनन्। लटपट्याएकै हुन्। तर २०५४ मा एमाले महाकालीमा विभाजन भएपछि २०५४ मा फेरी माले पुनर्स्थापित भयो। मालेका महासचिव वामदेव गौतम एमालेमै फर्कनुभयो। हामी गएनौं। हाम्रा खास विशिष्टतालाई हाम्रो आन्दोलनले पक्ड्न सकेन भन्नेमा हामी २०६० सालमा पुग्यौ। नेपालमा अहिले आएर ५, ६ वटा विषेशता छन्। नेपालको स्वतन्त्रताको दियो बल्ने हो कि निभ्ने हो भन्ने खतरा जहिले पनि रह्यो। ७ सालको परिवर्तनपछि त झन् बढ्दै गयो। भूराजनीतिक संवेदनशीलता ७ सालपछि झन् बढ्यो। हाम्रो मुलुक भारतबेष्ठित छ। चीनसँग अझै पनि जोडिन सकेको छैन।

भारतले ब्रिटिस कालको उपनिवेशवाद छाडेको छैन। त्यसैले पनि हाम्रोमा संवेदनशीलता आएको छ। नेपालको प्राकृतिक स्रोत साधनको खानीले पनि विश्वको नजर परेको छ। भारतको मध्यस्तामा तीनै पटकको आन्दोलन टुंगिइयो र उसले आफ्नो अनुकूलले नेपालको इतिहास लेखायो। सहयोगको नाममा ७ साल ४६ साल र ६३ सालमा भारतको हस्तक्षप रह्यो र उसले चाहे अनुसारको परिवर्तन भयो। उनीहरुको हिसाबामा धेरै नेपालका हिसाबमा थोरै हिसाबमा नेपालमा परिवर्तन भयो।

के त्यसो भए सरकारको नेतृत्व गर्ने पार्टी नेकपा पनि बिदेश परस्त छ त?

छैन कसरी भन्नुहुन्छ। उसका काम र क्रियाकलाप नै विदेश परस्त छ। विदेशी नजरले विश्लेषण गर्दा विदेश परस्त हुन्छ नै। नेपाली भएर नेपालको रुचि चाहनाअनुसार काम भएन। बरु बिदेशीको चाहनाअनुसार काम भयो। विदेशीको नजरले हेरेको नहेरेको नेकपाका लिडरहरुको काम कर्तव्य हेरे थाहा भइहाल्छ नी। होली वाइनको प्रसंग छ। प्रधानमन्त्री नै आफ्नो निवास छाडेर होलीवाइन खान होटलमा बास बसेपछि त्यही त हो नि विदेश परराष्ट। अब केपी ओलीले महाकाली सन्धीमा घात गरेकै हुन्।डबल कम्युनिष्ट बनेर बनेको नेकपा त झन् विदेशी परस्त पार्टी नै हो। कम्युनिष्ट भने पनि विदेश परस्त नीति छ यिनीहरुको।

५२ सालमा माआवादीले विपीबाट पनि शिक्षा नलिएर, मालेबाट पनि शिक्षा नलिएर जनयुद्ध शुरु गर्‍यो। यो जनयुद्ध थिएन। तर जनयुद्ध भनेर माओवादीले धुवादार प्रचार गर्‍यो। यो त भारतीयले गराएको एउटा प्रपन्च न थियो। मओवादीले उग्रपन्थीबाटोमा रहेर अन्दोलन गर्‍यो

माओवादी आन्दोलन भारतले गराएको आन्दोलन हो भन्ने प्रमाण के त?

सबै नेपालीले थाहा पाएकै कुरा हो भारतले भारतमै माओवादीका नेतालाई पाल्यो। हतियार किन्न सहयोग गर्‍यो। भारतमै बसेर गरिएको आन्दोलन हो भन्नेलाइ कुनै प्रमाण चाहिदैन। मार्क्सवादको विदेशी व्याख्याबाट प्रभावित छ। नेपालमुखी धाराबाट पार्टी सन्चालन गर्न कम्युनिष्ट कांग्रेस र परम्परागत पार्टीहरु सबै पछि परेका छन्। यसमा राष्ट्रवादीहरु पनि पछि परे। परिवर्तनको प्रक्रिया पनि नेपालको चीन कोरिया र क्युबाको भन्दा फरक छ। हिजो २०३९ सालमा मदन भण्डारीले वर्गीय दृष्टिकोण छोडेर मर्क्सवादलाइ वर्गीय दृष्टिकोणबाट च्युत भएर जसलाई जनताको बहुदलीय जनवाद भनिन्छ, त्यो ल्याए। त्यो कुरा र ५२ सालमा जनयुद्ध गर्ने माओवादीले ६३ सालमा जब भारतको एजेण्डा लिएर आयो। नागरिकता खुकुलो बनाउनु पर्छ नेपालको नामै फेर्नुपर्छ भन्ने अनि जातीय क्षेत्रीय राज्य बनाउनु पर्छ भन्ने माओवादीको एजेण्डा भारतको रुचि अनुसारको थियो। माआवादीले विस्तारवाद भारतको सहयोगमा गरेको आन्दोलन कही जनयुद्ध हुन्छ। विस्तारवादी र उपनिवेशवादीको काखमा गएर गरेको आन्दोलन भारत परस्त थियो। माओवादीले सुचनामात्रै उपलब्ध गरेन र सँगै मिलेर राजाविरुद्ध काम गरे। एमाले पनि वर्गीय दृष्टिकोणबाट च्युत हुदा राष्ट्रमुखी भएन। उनीहरु मिलेर बनेको नेकपा पार्टी कहाँ राष्ट्रवादी हुन्छ।

मालेलाई पनि त उनीहरुले त्यस्तै भन्छन होला नि?

भनुन त उनीहरुले के भन्छन्। राष्ट्रहितलाइ घात गर्ने तत्कालिन एमाले र वर्गीय हितलाइ घात गर्ने माआवादी मिलेर नेकपा बनेका छन्। त्यही कारणले उनीहरुले ५ वटा द्वन्द्व सिर्जना गरेका छन्। पहिलो धर्म निरपेक्षता। नेपाललाइ धर्म सहिष्णुता बनाएमात्र हुन्छ सबलाइ आफ्नो धर्म प्यारो हुन्छ। त्यसैले हामी त धर्म निरपेक्ष र हिन्दुराष्ट्र हुनुपर्छ भनिरहेका छैनौं। यिनीहरुले संविधानमै यस्तो लेखाएर द्वन्द सिर्जना गरे। केपी ओलीले माधव नेपालसँग मिलेर होली वाइन खाए।

अहिले देशमा तीब्र रुपमा क्रिश्चियनको संख्या बढिरहेको छ। भनिन्छ देशमा १६ सय भन्दा चर्च छन्। १५ सोह्र लाख क्रिश्चियन। अर्को जातीय राजनीतिको द्वन्द्व छ। मधेसी र खस जातिबीच अहिले द्वन्द्व छ। तेस्रो संविधान संशोधन गर्ने द्वन्द्व छ। के का नाममा संविधान संशोधन गर्ने हो?चौथो सिके राउतको तराइ अलग गर्नेवाला आन्दोलन भड्किनेवाल छ। अर्को पाचौं, विप्लवको मुद्दाको द्वन्द्व छ।

सरकारले संविधानमा नभएको व्यवस्था लगाएर विप्लवमाथि प्रतिबन्ध लगायो यसले द्वन्द्व बढाउने पक्का छ।

शान्ति सुरक्षाका लागि प्रतिबन्ध लगाउँदा कसरी बढ्छ त द्वन्द्व?

अब विप्लवको मुद्द सम्बोधन नगरे यो विदेशीको हातमा पुग्ने खतरा देख्छु म। मलाई लाग्दैन उनीहरुले चीनबाट सहयोग पाउँछ। हिजो झापा आन्दोलनमा पनि चीनको कुनै सहयोग थिएन। माओवादीको आन्दोलनमा पनि चीनको कुनै सहयोग रहेन।

तर केपी ओली त राष्ट्रवादी छवि वनाएर चुनाव जित्दै प्रधानमन्त्री भएका हुन् नि?

मलाइ पनि नाकाबन्दीका बेलमा केपी ‌ओली सच्चिए कि भन्ने लागेको थियो। हिजो महाकाली सन्धिमा गरेको घातलाइ फेरी सम्झेर। महकाली सन्धि हुदा कांग्रेस राप्रपाको सरकार थियो। एमालेको समर्थन विना संसदबाट त्यसले दुई तिहाइ पाउदैन थियो। तत्कालीन एमाले प्रमुख प्रतिपक्षीमा थिए। माधव नेपाल महासिचव। त्यसबेलाका सक्रिय नेतामध्ये केपी ओली पनि हुन्। त्यो बेला ओली त्यो सम्झौता भयो भने पश्चिमबाट सूर्य उदाउँछ भन्थे। एक खर्बभन्दा धेरै पैसा नेपाललाइ फाइदा हुन्छ भन्थे। बिजुली यति धेरै निस्कन्छ कि भारतले किनेन भनेपनि हामी स्याटालाइटबाट चीनमा बिजुली पठाउछौं जस्ता हावादारी कुरा गरेर पार्टीभित्रका मान्छेलाइ पैसाले किनेर दुइ तिहाई बहुमत दिने भनेर निर्णय गराएर संसदबाट पास गरे। यिनै केपी र माधव नेपाल हुन्। कांग्रेस र राप्रपाले नेपालमा पैसाको कमी हुदैन भने। अनि भारतले एमालेलाइ सरकारमा जान सघाउछ भनेर पनि भने। त्यसबेला उनीहरुको उद्देश्य के थियो भने सत्तामा पुग्ने उद्देश्यले उनी महाकालीमा राष्ट्रघाती बनेपछि उनले के बुझे भने अब पार्टीभित्र माओवादीको चर्को विरोध गरे। त्यसले उनलाइ माओवादीभन्दा फरक त देखायो तर त्यसले उनलाइ फाइदा भएन। पछि उनले पार्टीभित्र पटक पटक अध्यक्ष बन्ने आंकाक्षा राखे तर पुरा भएन। पछि उनले के बुझे भने पार्टीभित्र राष्ट्रवादी कुरा गर्यो भने मात्र अध्यक्ष पद हत्याउन पाइन्छ र उनी अध्यक्ष भए। पछि भारतले संविधान जारी गरेपछि नाकावन्दी लगायो हुनत यो संविधानमा ३२ प्रतिशत भन्दा बढी भारतकै पक्षमा लेखेको छ। तर त्यतिले भारतका शासकलाइ चित्त बुझ्ने उनीहरुले नागरिकतादेखि सिमांकनका मुद्दा उठाएर नाकावन्दी लगायो। त्यसबेला भारतको विरोध गरेरै केपी ओलीले लोकप्रियता कमाए। त्यसबेला मलाइ पनि महिला बालबालिका मन्त्रालयको जिम्मा दिइएको थियो।

त्यसो भए प्रचण्ड ओली राष्ट्रघाती?

प्रचण्ड आमुल परिवर्तन गर्ने भनेर लागेका थिए। पछि उनी पनि परिवन्दमा परेर यसरी लागे। यो भन्दा पनि वढि त वावुराम भट्टराइ भारत परस्त हुन्। त्यसको राप र ताप माओवादीमा थियो। वास्तवमा भएको यो परिवर्तन थियो वावुरामको नयाँ जनवादी गणतन्त्रका लागि संघर्ष गर्न माओवादी लागे। प्रचण्डले कम्युनिष्ट जनवादी गणतन्त्र ल्याउने भनेर लागे त्यो सम्भव नभएपछि भारतसँग हात मिलाएर घात गरे। केपी ओलीले त महकालीमा राष्ट्रघात गरेकै हुन् नी। राजा फाल्न पनि भारतले सहयोग नगरेको भए माओवादी सफल हुने थिएन। वास्तवमा राष्ट्रवादीसँग माफी मागेर सच्चिएर नआए यिनिहरुलाइ त बलियो र निश्पक्ष अदालतले जेल हाल्न सक्थ्यो।

राष्ट्रघाती नेताको मन्त्री बन्नुभयो नि तपाई पनि?

अब मैले अघि पनि भने मलाइ के लाग्यो भने नकाबन्दीको बेलमा केपी ओलीले जुन राष्ट्रवादी छवि बनाए। यसले उनले आफ्नो पहिलेको गल्ती दोहोर्‍याउदैनन् भन्ने भयो। अनि यस्तो बेलामा त सरकारलाइ हाम्रो पार्टीलेसहयोग गर्नु पर्छ भन्ने हाम्रो पार्टीले निर्णय गर्‍यो। र मलाइ मन्त्रालयमा पठाएको हो। हामी सबै लागेर नाकाबन्दीको बिरोध गर्‍यो। तर केपी ओलीको विचार के रह्यो भने एकल रुपमा मात्रै मैले नाकावन्दी हटाए भन्ने । पछि उनले के गरे भने ७४ सालको चुनावमा निषेधको राजनीति सुरु गरे। पहिला सरकालाइ सहयोग गरेका पार्टीसँग पनि उनी गठबन्धन गर्न तयार भएनन्। मैले त अन्तिम सम्म पनि सहकार्य गरौं भने तर उनले मालेलाई नै विघटन गर्न भने। यिनिहरुको छिर्केमिरको राष्ट्रवादले काम गरेन त्यो बेला।

छिर्केमिर्के राष्ट्रवाद भनेको चाहि के हो फेरि?

त्यो भनेको के भने फाइदाका लागि राष्ट्रवादी पनि हुने र फाइदाकै लागि राष्ट्रघाती पनि हुने। केपी ओलीले महाकालीमा आफ्नो फाइदाका लागि राष्ट्रघाती पनि भए तर पछि फेरि सत्तामा जान राष्ट्रवादी भए। महाकालीमा घात गरेर केपी ओली धनाड्य भए। त्यसकारण अहिले केपी ओली पश्चिमाहरुको सहयोगमा आफ्नो सरकारलाइ ५ वर्ष टिकाउन खोजिरहेका छन्। नेपालमा क्रिश्चियन मिसनलाइ साथ दिनेहरु नै एमसीसीको पक्षमा छन्। प्रधानमन्त्री यो जानीबुझी यो पास गराउन लागिपरेका छन्। सनातनी धर्म बोक्नेहरुमा पनि भारतको प्रभाव छ। भारतका शासकहरु बेलायतको विस्तारबाट प्रभावित छन्। हाम्रा अग्रजहरु उनीहरुबाट सचेत भएपनि ७ सालबाट यो सचेतनामा कमी आयो। भारत र नेपाल एउटै हो भन्नेहरु छन्। नेपाल भारतको इतिहास एउटै हो भन्छन्। सनातन धर्म मान्नेहरु हामीहरु भारत वर्षका मान्छे होइनौ। हामी त हिमवत खण्डका मान्छेहरु हौ। हाम्रा पुर्खाहरुले भौतिक रुपमा स्वतन्त्रता बचाएकै हुन्। तर बिचारमा हमला गरेका हुन्। अहिले भौतिक स्वतन्त्र शक्ति भएर मात्र हुदैन स्वतन्त्र राष्ट्रवादी भौतिक चिन्तन हुनुपर्छ। अहिले माक्सको पनि विदेशमुखी ब्याख्या छ। नेपालका कम्युनिष्टले यसैलाइ रैथाने भनेर हावादारी कुरा गरे। नेपालको मओवादी धारा भनेको विदेश परस्त धारा हो। माओवादीको सबै विदेशी विचार हो। वर्गीय धारलाई घात गर्ने धार भनेको जबज हो। यो विदेशी माओवादी धार र जबजलाई न सच्याएर नेकपा बनेको छ। यो गलत बाटोमा छ।

नेकपा फुटिरहने पार्टी अहिले जुटेको छ, अबको भविष्य कस्तो देख्नुहुन्छ?

अहिले एमाले र मओवादीमा राष्ट्रिय दृष्टिकोण छैन। केही राष्ट्रवादी साथीहरु सबै पार्टीमा छन्। चाहे कम्युनिष्ट हुन या वामपन्थी हुन्। नेकपामा अहिले आएको विवादले टुक्रा टुक्रा हुनसक्छ। एमसीसीमा पनि भिम रावल लगाएतका नेताहरुले उठाएको जुन आवाज छ यसलाइ नेतृत्वले दबाउन खोज्‍यो भने नेकपा टुक्रन बेर लाग्दैन। सबै कुरा त अरुको पार्टीको मलाइ थाहा हुने कुरा भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell