PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

बालुवाटारमा ओली दाहाल र देउवाबीच छलफल : के भयो गफ?



कुञ्जरमणि भट्टराई

बालुवाटारमा ओली दाहाल र देउवाबीच छलफल : के भयो गफ?

काठमाडौं : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारमा छलफल गरेका छन्।

आज बिहान भएको छलफलमा मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति भएको छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।

‘राज्य सञ्चालन गर्दा सत्तापक्ष र प्रतिपक्षबीच साझा सहमति आवश्यक हुन्छ, त्यही साझा सहमति खोज्न छलफल भएको हो’, उनले भने, ‘संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ।’

उनले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको बताए। उनले प्रधानमन्त्री ओली प्रतिपक्षसँग सहकार्य गरेर जाने पक्षमा रहेको बताए। बिहान १० वजेदेखि बसेको बैठक झण्डै २ घण्टा चलेको थियो।

आइतवार (भोलि) बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखको चयन हुँदैछ। मंगलवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेद्वारी नदिने र समर्थन पनि कसैलाई नगर्ने निर्णय गरेको थियो।

सभामुखमा अरु कसैको उम्मेद्वारी नपरेकोले अग्नि सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। सभामुखमा उम्मेद्वारी नदिएको कांग्रेसले उपसभामुखको दावी गर्दै आएको छ। कांग्रेसले उपसभामुखको दावी गरिरहँदा बैठकमा भने सो विषयमा कुराकानी नभएको नेम्बाङले बताए।

उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले सोमवार राजीनामा दिएकी थिइन्। सभामुख निर्वाचनको प्रकियापछि रिक्त रहेको उपसभामुख पदको निर्वाचन प्रक्रिया शुरु हुनेछ।

यसअघि माघ ३ र ४ गते बसेको शीर्ष नेताहरुको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका विषय टुंग्याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell