PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

वाग्मती सफाई महाअभियान ३५० औँ हप्तामा प्रवेश : १२ हजार टन फोहोर संकलन



पहिलोपोस्ट

वाग्मती सफाई महाअभियान ३५० औँ हप्तामा प्रवेश : १२ हजार टन फोहोर संकलन

काठमाडौं : वाग्मती सफाई महाअभियानको ३५० औँ हप्तामा आइपुग्दासम्म १२ हजार टन फोहोर उठाइएको छ।

७ वर्ष अगाडीबाट शुरु भएको अभियानको शनिवार ३५० औँ हप्ता पुगेको हो। हालसम्म १० लाखभन्दा बढी स्वयंसेवक वाग्मती सरसफाई महाअभियानमा सहभागी भएका छन्। २०७० सालबाट शुरु गरिएको वाग्मती सरसफाई महाअभियानको ३५० औं हप्तामा शनिवार पनि वाग्मतीको सरसफाइ गरिएको छ।

२०७० जेठ ५ गते गुह्येश्वरी मन्दिरको प्राङ्गणबाट महाअभियानको शुरुवाता गरिएको थियो। अभियान शुरु भएपछि वाग्मतीका शाखा नदीहरु विष्णुमति, धोवीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा समेत सरसफाइ थालिएको छ। उपत्यका बाहिर पनि अभियान सञ्चालन भइरहेको छ।

उपत्यका बाहिर करिब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाइ कार्यक्रमहरु सञ्चालन भइरहेको हो। ३५० हप्तामा महाअभियान प्रवेश गरेको विशेष अवसरमा काठमाडौं महानरपालिका वडा नम्बर ११ ले स्वच्छता र सरसफाइका लागि २४ बुँदे अवधारणा सार्वजनिक गरेको छ।

शनिवार वाग्मती नदी सरसफाइ महाअभियानको ३५० औं हप्ताको विशेष कार्यक्रममा वडाध्यक्ष हीरालाल तण्डुकारले अवधारणा सार्वजनिक गरेका हुन्। वडाले अघि सारेको अवधारणामा अबको २ वर्षभित्र ५ वटा सार्वजनिक शौचालय र आवश्यकताका आधारमा घुम्ती शौचालय निर्माण गर्ने, बसन्तनगर रुद्रमती किनार र त्रिपुरेश्वर कुमारी मार्गमा ‘जेष्ठ नागरिक मनोरञ्जन पार्क’ निर्माण गर्ने योजनाहरु समेटिएका छन्।

त्यसैगरी यहि वर्ष चेस पार्कको निर्माण सम्पन्न गर्ने, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिसँग मिलेर प्रसुति गृह पछाडिको करिब ५८ रोपनी जग्गामा हरियाली कायम गर्ने लगायतका योजना पनि छन्। यस्तै घरपालुवा कुकुरलाई सार्वजनिक स्थलमा दिशा पिसाब गराउने व्यवहार नियन्त्रण गर्ने, सार्वजनिक जग्गा संरक्षण गरी सार्वजनिक उपयोगमा ल्याउने, तरल फोहोर प्रशोधनका कार्यक्रम सञ्चालन गर्ने, अव्यवस्थित बस्तीलाई व्यवस्थित गर्ने तथा अतिक्रमित जग्गालाई संरक्षण गर्ने विषय समेटिएका २४ बुँदे अवधारणामा उल्लेख छ।

नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक/धार्मिक संघ संस्थाहरु तथा वाग्मती सफाइ अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एनप्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिको सहभागिता हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell