PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

पर्यटकको भेषमा लुटेरा : इरानबाट आएका दुई विदेशीले ५ मिनेटमै टप्काए ६६ हजार



सविन ढकाल

पर्यटकको भेषमा लुटेरा : इरानबाट आएका दुई विदेशीले ५ मिनेटमै टप्काए ६६ हजार

काठमाडौं : प्रहरीले चोरीको अभियोगमा दुई जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले शुक्रवार इरानका अलि मलिक र उनका साथी वाहिद अजिमिकलाई नियन्त्रणमा लिएको हो। ताहचलस्थित प्रश्ना मनी एक्सचेन्जमा गएर झुक्क्याउँदै रकम चोरी गरेको उजुरी परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको वृत्तका डिएसपी रुगम कुवँरले जानकारी दिए।

माघ ६ गते उनीहरुले मनी एक्सचेन्जरमा गएर रकम चोरी गरी फरार भएका थिए। जनवरी ६ तारिकमा भिजिट भिषामा नेपाल आएका उनीहरु यसअघि पनि पटकपटक नेपाल आइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ। अलि चाहिँ अहिलेसम्म ६ पटक नेपाल आएको देखिन्छ।

'उनीहरु चोरी गर्न नै नेपाल आउँथे वा अन्य कारण भने खुल्न सकेको छैन। तर, चोरीको ट्रेन्ड हेर्दा उनीहरु यसैको लागि नेपाल आएको देखिन्छ,' डिएसपी कुँवरले भने।

कसरी भयो चोरी?

माघ ६ गते ताहचलमा रहेको मनी एक्सचेन्जरमा पुगे। एक्सचेन्जरमा एक महिला कर्मचारी थिइन्। त्यसपछि उनीहरुले आफूसँग भएको डलर साट्न भन्दै रकम मागे। त्यससँगै उनीहरुले नेपाली हजारको नोट हेर्न भन्दै मागे। कर्मचारी महिलाले पनि एक हजार दरको एक लाख रुपैयाँको बिटो थमाइन्। उनीहरुले बिटो खोलेर ओल्टाइपल्टाइ हेर्न थाले।

'नोट हेर्न मागेपछि एउटा मात्र दिएको भए हुन्थ्यो। उनले लाख रुपैयाँ नै दिनु गल्ती देखियो,' डिएसपी कुँवरले भने।

त्यसपछि त्यसै गरी फेरि पाँच सयको नोट मागे। ती महिलाले अर्को बिटो थमाइन्। त्यसपछि उनीहरु रकम नसाट्ने भन्दै निस्किए। तर, उनीहरु निस्किएपछि नोट हेर्दा महिला छक्। दुईवटा विटोबाट ६६ हजार रुपैयाँ हराएको थियो।

त्यसपछि मात्र विदेशी नागरिकले ठगेर गएको थाहा भयो। मनी एक्सचेन्जरका संचालकले प्रहरीमा उजुरी दिए। प्रहरीले त्यहाँ रहेको सीसी क्यामराको फुटेज हेर्दा विदेशीले नोट हेर्ने बहानमा रकम लगेको खुल्यो। 'पाँच मिनेटमा नै रकम चोरी गरेर निस्किएको देखियो,' डिएसपी कुँवरले भने।

कसरी समातिए लुटेरा?

सीसी क्यामरामा विदेशीले रकम चोरेको देखियो। तर, उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीका लागि सजिलो थिएन। उनीहरु को थिए? कहाँ थिए? समस्या नै समस्या। तर, प्रहरीका लागि एउटा 'क्लू' देखियो। महिलाले उनीहरु स्कुटरमा आएको जानकारी दिइन्। तर, स्कुटर नम्बर कति?

मनी एक्सचेन्जर अगाडि एउटा सीसी क्यामरामा स्कुटर कैद भएको थियो। त्यही फुटेजबाट प्रहरीलाई स्कुटरको नम्बर पत्ता कठिन भएन।

बा ७० प ७८२ नम्बर।

ठमेलको एक सहकारीको नाममा स्कुटर लिएको देखियो। प्रहरी सहकारी पत्ता लगाउँदै ठमेल पुग्यो। सहकारीबाट खुल्यो बाइक भाडामा दिने एउटा ग्यारेजको हो भन्ने।

प्रहरीलाई चोर समात्नु नै थियो। एक दिन बितिसकेको थियो। प्रहरी ग्यारेजमा पुग्यो। स्कुटर ग्यारेजमा नै थियो। केही दिनअघि दुई इरानीले स्कुटर भाडामा लगेको त्यहीबाट खुल्यो।

को थिए त उनीहरु? प्रहरीलाई यसको जवाफ सहजै मिल्यो। किन कि उनीहरुले पासपोर्ट छोडेर अर्को स्कुटर लगेका रहेछन्।

'उनीहरु स्कुटर फेरेर चढ्ने गरेको देखियो। धन्न हामी पुग्दा पासपोर्ट त्यहीँ थियो,' डिएसपी कुँवरले भने।

पासपोर्ट लिन उनीहरु आउँछन् भन्नेमा प्रहरी ढुक्क थियो। उनीहरु आउने समय कुरेर प्रहरी बस्यो। शुक्रवार उनीहरु आए। र, तत्कालै प्रहरीले नियन्त्रणमा लिइहाल्यो। इरानी नागरिक ठमेलमा प्रत्येक दिन होटेल फेर्दै बस्ने गरेको अनुसन्धानमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell