PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्य मुलुकको तुलनामा नेपालमा ‘कोरोना भाइरस’को खतरा कम : चिकित्सक



पहिलोपोस्ट

अन्य मुलुकको तुलनामा नेपालमा ‘कोरोना भाइरस’को खतरा कम : चिकित्सक
‘कोरोना भाइरस’ (बायाँ), शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका निर्देशक डा वासुदेव पाण्डे (माथि) र चिकित्सक डा शेरबहादुर पुन (तल)।

काठमाडौं : नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन्।

शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट चीन, अमेरिका लगायतका मुलुकमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको बताएका हुन्।

‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन। हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको होकी?’, उनले भने, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ। तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दिर्घरोगी छन्। बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन।’

अस्पतालका निर्देशक डा वासुदेव पाण्डेले शुरुमा स्वाईनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिने जस्ता लक्षण देखिन सक्ने बताए। यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ। तर यस्ता लक्षण देखिएको खण्डमा चेकअपका लागि अस्पताल जान डा पाण्डेले आग्रह गरेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र प्रसाद श्रेष्ठले शुरुमा चीनको वुहान प्रान्तमा देखिएको यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए। विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए।

नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका रहेका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको प्रवक्ता श्रेष्ठले बताए। चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उनले जानकारी दिए। कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य निजी तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्ने गरी मन्त्रालय अगाडी बढेको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell