काठमाडौं : तामाङ समुदाय अहिले सोनाम ल्होछारको मुडमा छ। यसपटक जीवा अर्थात मुसा वर्ष। सामाजिक सञ्जालमा शुभकामना आदानप्रदानको होड चलिरहेकै छ।
१२ वटा ल्हो (वर्ष) गणनाअनुसार मुसा वर्ग सबैभन्दा पहिलो वर्ग हो। अन्तिम चाहिँ सुँगुर।
मुलत: चिनियाँ वर्ष गणनामा १२ जीवलाई पहिलो, दोस्रो र १२ औं गरी समावेश गरिएको छ।
पहिलो-जीवा(मुसा)
दोस्रो-लाङ(गोरु)
तेस्रो-ताक(बाघ)
चौथो-ह्योइ(खरायो)
पाँचौ-ड्रुक(ड्रयागन)
छैटौं-डुल(सर्प)
सातौं-ता(घोडा)
आठौं-लुक(भेँडा)
नवौं-टे(बाँदर)
दशौं-ज्या(चरा)
एघारौं-खि(कुकुर)
बाह्रौं-फाग(सुँगुर)
एक मिथकअनुसार भगवान गौतम बुद्ध परिनिर्वाण हुने बेला विभिन्न जीवहरु भेट्न गएका थिए। तीमध्ये सबैभन्दा पहिले आउने जीवलाई बुद्धले चन्द्रोपात्रो अनुसार वर्ष चक्रको नाम दिई सम्मान गरेका थिए।
यो वर्ष गणना कसरी भयो भन्ने रोचक कथा पनि छ।
चीनमा चर्चित जेड सम्राट थिए। उनी जीवजन्तुका पनि प्रिय राजा। हरेक जीवजन्तुका रक्षामा उनको जोड हुन्थ्यो।
सम्राट बिरालोलाई धेरै मनपराउँथे। मुसालाई भने सबैभन्दा नराम्रो जीवका रुपमा हेरिन्थ्यो। मुसाले त्यही भएर बिरालोसँग मित्रता गाँसेको थियो।
अहिलेजस्तो घडी थिएन, क्यालेन्डर थिएन। मानिसहरु चन्द्रमाको आकारलाई हेरेर तिथि मापन गर्थे। घामको छाया हेरेर समय मापन गर्थे।
त्यहीबेला जेड सम्राटलाई समय नाप्ने इकाइ बनाउन मन लागेछ। उनी सबैभन्दा बढी जीवजन्तुलाई नै माया गर्थे। त्यसैले जीवजन्तुको नामबाट नै समयको नाम राख्ने निधो गरे। त्यसका लागि एउटा प्रतियोगिता आयोजना गर्ने र सबैभन्दा पहिलो हुने १२ जीवको नामबाट वर्ष गणना गर्ने घोषणा गरे।
प्रतियोगिता बिहानै सुरु हुने भयो। ठुलो नदी पार गरेर जेड सम्राट भएको ठाउँमा जो पुग्छन् ती मध्ये सबैभन्दा पहिलो पुग्ने १२ जना वर्ष गणनामा छानिने भयो।
मुसाले यो प्रतियोगितामा जसरी पनि पहिलो हुने योजना बनाउन थाल्यो। तर, मुसालाई पौडिन आउँदैन थियो। बिरालोले उसलाई साथैमा लाने वाचा गरे पनि मुसा दोस्रो हुनेवाला थियो। रातदिन उ दाँत किट्दै सोच्न थाल्यो। प्रतियोगिता हुनुभन्दा एकदिन अघि उसको भेट फूर्तिलो गोरुसँग भयो। गोरु प्रतियोगिताका लागि तयारी गरेर पोखरीबाट फर्कदै थियो।
मुसाले गोरुलाई सघाउन अनुरोध गर्यो। पहिलो भएर जेड सम्राटलाई खुसी बनाउने योजना बनाएका गोरुले झर्केर भन्यो, ‘तिमीलाई मैले किन बोक्ने, तेरै साथी बिरालोले बोकिहाल्छ नि?’
गोरुको हप्कीले मुसा तर्स्यो। तैपनि मुसाले भन्यो, ‘खास कुरा के हो भने बिरालोलाई जेड सम्राटले पनि एकदम राम्रो मान्नुहुन्छ, कुरा सुनेअनुसार प्रतियोगितामा पनि बिरालो नै पहिलो हुन्छ, मलाई पनि उहाँले नै लैजाने कुरा गर्नुभएको छ। तर मलाइ भने यो संसारको सबैभन्दा सुन्दर लाग्ने जीव तपाई नै हो, तपाई बलियो पनि हुनुहुन्छ। त्यसैले तपाई पहिलो भएको हेर्ने रहर छ मलाई।’
मुसाको कुराले गोरुको मन पग्लियो। अनि गोरुले साथ दियो मुसालाई।
यता, बिरालो पनि प्रतियोगितामा सफल हुनुपर्छ भनेर तयारी गरिरहेको थियो। उसले मुसालाई पनि सँगै लाने कुरा गरेको थियो।
‘म पहिलो हुन्छु, तिमी दोस्रो, हामीलाई यो खेलमा कसले जित्न सक्छ?’ बिरालोले भनेको थियो।
बिरालो एकदमै सुन्दर भए पनि अल्छी थियो। उ बिहान अबेरसम्म सुत्थ्यो। त्यसैले सुत्नुअघि उसले मुसालाई भन्यो, ‘ल शुभ रात्री, भोलि बिहान मलाई चाँडै उठाउँ है त, हामीले सबैलाई जित्नुपर्छ।’ हुन्छ भन्दै मुसा पनि सुत्यो।
प्रतियोगितामा मुसा पहिलो भयो। गोरुको ढाँडमा बसेको मुसा नदी सकिनसाथ उफ्रेर जेड सम्राट नजिकै पुग्यो। त्यसपछि गोरु पुग्यो। त्यसपछि बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडाँ, बाँदर, भाले(चरा), कुकुर र सुँगुर क्रमशः १२ स्थानमा पुगे। जेड सम्राटले यी नै १२ जीवको नामबाट वर्ग(ल्हो) को घोषणा गरे।
वर्ग गणनामा बिरालो परेन। कारण त्यसदिन मुसाले आफ्नो साथी बिरालोलाई बिहान उठाएन।
बिउँझेपछि हस्याङफस्याङ गर्दै दौडेको बिरालो १३ औं नम्बरमा पुग्यो। आफुलाई धोका दिएर मुसा पहिलो नम्बरमा परेको देखेर बिरालोलाई उठ्नुसम्मको रिस उठ्यो।
त्यहीबेलादेखि बिरालोले मुसालाई जता भेट्यो त्यतै मारिहाल्ने नीति लिएको विश्वास गरिन्छ।
यही वर्ग गणनामा नपरेको बिरालोलाई भने तामाङहरुले ल्हो वर्गको गणनामा समावेश गर्दै आएका छन्। त्यो पनि चौथो नम्बरमा जहाँ खरायोलाई समावेश गरिएको छ।
कसरी पस्यो त बिरालो?
तामाङ संस्कति तथा भाषाविद् अमृत योञ्जनका अनुसार वर्ग स्थानीयकरण गर्दा बिरालो पनि वर्ग गणनामा समावेश भएको हो।
योञ्जन भन्छन्, 'सामाजिक कुरामा लोकलाइज खोजिन्छ। यसमा खरायो जंगली भएको र बिरालो घरमै भएकोले यसलाई प्रयोग गरिएको हुन सक्छ।'
ड्रुक अर्थात ड्रागन वर्ग चीन तथा तिब्बतको सिग्नेचर नै हो। तर यो जीव अहिलेसम्म नदेखिएकोले यसलाई तामाङहरुले 'तिप्लिङ' अर्थात चट्याङ पर्दाको चम्कने बिजुली भनेर प्रयोग गर्न थालिएकोले पनि यो स्थानीयकरण भएको योञ्जनको दाबी छ।
मिथअनुसार त बिरालो १३ औं भएको हो। अनि तामाङहरुले यसरी खरायोको ठाउँमा बिरालोलाई पसाइदिन मिल्छ त? जवाफमा संस्कृतिविद् तामाङले भने, 'मिथ आफ्नै समाजअनुसारको बन्छ नि हैन।'
यता लामो समयदेखि तामाङ भाषाको पत्रिका 'तामाङ डाजाङ'का सम्पादक रहेका इन्द्र तामाङ पनि बिरालो स्थानीयकरण भएकै कारण वर्गमा परेको दाबी गर्छन्। सम्पादक तामाङ भन्छन्, 'ह्योईको अर्थ खरायो नै हुन्छ। तर नेपालका तामाङहरुले भने यसलाई बिरालो नै मान्दै आएका छन्। यसलाई स्थानीयकरण नै मान्नुपर्छ।'
ल्होछारकै विषयमा तामाङहरुको साझा संस्था मानिने नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले लेख लेख्दै खरायोलाई पनि समावेश गरेका छन्। उनले 'ल्होछार परम्परा र यसको महत्व' शीर्षकमा लेखेको लेख तामाङ घेदुङकै आधिकारिक वेबसाइटमा प्रकाशित छ।
उक्त लेखमा भनिएको छ, 'महामानव मञ्जुश्री जो तामाङहरुको ज्ञानको देवता पनि हो, उहाँले पञ्चशीर्ष डाँडामा बसेर मुसा बर्षमा ८४ हजार ग्रन्थको धर्मदेशना गरेको ऐतिहासिक दिनबाट यो परम्पराको सुरुवात भएको हो।'
यही वेबसाइटमा 'आन्दोलनकै बीचमा तामाङ समुदायले सोनाम ल्होछार पर्व मनाउँदै' शीर्षकको समाचार छ।
जुन समाचारमा प्रयोग गरिएको फोटोमा खरायोकै फोटो राखिएको छ। यद्यपि तामाङ भाषामा 'तावार' भनेर लेखिएको छ। तावार भनेको बिरालो नै हो।
तामाङ भाषा तथा ज्योतिषशास्त्र अध्येता अजितमान तामाङ भने बिरालो राख्नु स्थानीयकरण भए पनि एकरुपताका लागि खरायो नै राख्नुपर्ने बताउँछन्।
'ह्योइ भनेको खरायो नै हो। सबै वर्ष चाहि त्यही मान्ने एउटा चाहि बिरालो हाल्ने भन्ने कुरा हुँदैन। एकरुपताका लागि खरायो नै मान्नुपर्छ,' लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव तथा एसिएन कल्चरका अध्यक्षसमेत रहेका तामाङले भने।
यता ल्होछारको शुभकामना भन्दै पठाइएको फोटोहरुमा तामाङहरुले गुरुङहरुले प्रयोग गरेका फोटोहरु प्रयोग गरिरहेका छन्।
जसमा गुरुङहरुले आफ्नै तरिकाले स्थानीयकरण गरेको वर्ग समावेश छ।
गुरुङहरुले प्रयोग गर्ने वर्गमा ड्रुक अर्थात ड्र्यागनको ठाउँमा गिद्ध वा चिल राखिएको छ भने सुँगुरको ठाउँमा मृग राखिएको छ।
तामाङहरु सचेत नभईदिँदा अरुले प्रयोग गरेका ल्हो गणनाको फोटो आफ्नो भनेर प्रयोग गरिरहेका छन्। तामाङ घेदुङले स्पष्ट र चाँडो ल्हो गणना फोटो नबनाइदिँदा पनि अर्कैको ल्हो गणना भएको फोटो शुभकामनामा प्रयोग बढेको देखिन्छ।