अधिकांश कर्णालीबासीको रोजाइमा क्रिकेट खेल कमै मात्र पर्छ। तर कर्णालीकै भएपनि रविन्द्र जंग शाहीले भने सानैदेखि क्रिकेटमा रुचि राख्थे। बुवा मोहन प्रकाश शाही र आमा देवी कुमारी शाहीको कोखबाट २०५६ साल कात्तिक ६ गते सुर्खेतमा जन्मिएका हुन् रविन्द्र।
गाउँको गल्लीदेखि नेपालका ठूला घरेलु लिग हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा आफ्नो खेल प्रदर्शन गरिसकेका उनले राष्ट्रिय टिमको तर्फबाट सन् २०१४ मा यु-१६ मलेसिया, सन् २०१६ मा यु-१९ श्रीलंका र सन् २०१८ मा बंगलादेशमा आयोजित एसिया कपमा सहभागी भइसकेका छन्।
खेल क्षेत्रमा नयाँ उचाई थप्दै सन् २०१५ मा जिल्लाको कप्तान हुँदै सन् २०१८ देखि कर्णाली प्रदेशको कप्तानको जिम्मेवारी सम्हाल्दै आएका छन्। करिब १५ वर्षकै कलिलो उमेरदेखि नै कप्तान भएर टिमको नेतृत्व गरिरहेका छन्, उनी। कर्णालीमा सीमित स्रोत साधनका बावजुत क्रिकेटको स्तर उकास्न कप्तान शाही तल्लीन छन्। कर्णालीको क्रिकेट अवस्था र क्रिकेटसँगको संघर्षको बारेमा कप्तान शाहीसँग गरिएको कुराकानी :
आजभोलि खेलमा निकै व्यस्त हुनुहुन्छ हो?
खासै छैन। भर्खरै मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिता खेलेर फर्किएँ। भर्खर सिक्दै गरेका क्रिकेटप्रति रुचि राख्ने भाईहरुसँगै हुन्छु। प्रतियोगिताबाट फर्किसकेपछि उनीहरुसँग आफ्नो अनुभव सेयर गर्ने अनि उनीहरुलाई क्रिकेटमा लाग्न र खेल्न हौसला दिन्छु।
तपाई क्रिकेटमा कसरी प्रवेश गर्नुभयो?
क्रिकेटप्रति मेरो सानैदेखिको रुचि हो। त्यसैले पनि कक्षा ५ मा पढ्दै गर्दा शुरु गरेको हुँ। गाउँघरका साथीभाई जम्मा भएर आफैँले काठको ब्याट बनाएर मोजाको बल खेलेको सम्झना ताजै छ। प्रायः कसैले क्रिकेट बुझ्दैनथे तैपनि हामी जानी नजानी आफ्नै नियम बनाएर खेल्थ्यौँ।
विस्तारै क्रिकेटको चर्चासँगै मलाई पनि खेलप्रति नशा बस्यो। म ९ कक्षा सकिएपछि सुर्खेतबाट क्रिकेट सिक्नकै लागि भनेर काठमाडौं गएँ। सिक्दै गर्दा एकेडेमीबाट विभिन्न खेलहरु भइरहन्थे। जसमा राम्रो प्रदर्शन गरेकोले बेलाबखत उत्कृष्ट भइरहन्थेँ। जसले गर्दा मलाई थप हौसला मिल्थ्यो र अहिले यो स्थानसम्म आइपुगेको छु। सिक्ने क्रममै छु। अझै मैले क्रिकेटमा गर्न धेरै बाँकी छ। जे होस् निरन्तर लागिरहेको छु।
कर्णाली प्रदेशमा क्रिकेट बारे धेरैजसोलाई थाहा छैन, तर तपाई कसको प्रेरणाले क्रिकेटमा आउनुभयो?
म बच्चादेखि नै क्रिकेट खेलाडी बन्छु भन्ने लाग्थ्यो। भविष्यको खेलाडी नै हो भनेर आफूलाई सम्झिन्थेँ र साथीहरुसँग खेल्थेँ। मलाई मेरो घरपरिवारबाट एकदमै साथ छ। घरपरिवारले पनि कहिले नखेल् भन्नु भएन। अझ परिवारबाट खेल्नुपर्छ भनेर सपोर्ट गर्नुहुन्छ। कहिँ कतै पनि क्रिकेट खेल्न जान्छु भन्दा रोक छेक भएन। बुवा, ममीले पनि क्रिकेटर बनेको हेर्न चाहनुहुन्थ्यो। खेल्न थप मलाई हौसला दिने गर्नुहुन्थ्यो।
अझै त्यत्तिकै मलाई क्रिकेट खेल्नुपर्छ भनेर सिकाउने अग्रज दाईहरु हुनुहुन्छ। उहाँहरुले पनि निकै मेहनत गरेर मलाई सिकाउनु भयो। म पनि त्यसैगरी बुवा, ममीको सपना पुरा गर्न र क्रिकेटमै मैले मेरो भविष्य बनाउँछु भनेर ढुक्क भएर लागेको छु।
पहिलो पटक राष्ट्रिय टिममा सहभागी भएर खेल्दाको अनुभव कस्तो रह्यो?
म पहिलो पटक विदेशमा खेल्न जाँदा मेरो घर परिवार विमानस्थलमा पुर्याउन जानुभएको थियो। मेरो सम्पूर्ण टिमलाई मेरो परिवारले दही, टिका लगाएर विदाई गर्नुभएको थियो। म मलेसिया पुगेपछि होटेलमा बसेको थिएँ। त्यतिबेला मेरो हातमा जर्सी पर्दा म रोएँ। सायद त्यो मेरो खुशीको आँशु थियो होला। त्यो बेला मलाई ‘प्राउड फिल’ भएको थियो। म सिनियर टिमसँग खेल्ने सपना बोकेर खेलिरहेको बेलामा उमेर समूह अन्तर्गत राष्ट्रिय टिमबाट खेल्न पाउँदा खुशी नै लाग्यो। सन् २०१४ मा यु-१६ मलेसियामा खेलेँ। विस्तारै यु-१६, यु-१९ हुँदै अब एउटै सपना छ मेरो सिनियर टिममा खेल्ने।
कप्तानको रुपमा देशभित्रै खेल्दा र राष्ट्रिय फ्रेन्चाइज लिग खेल्दा कतिको प्रेसर हुने रहेछ?
खेल हो सबैमा उत्तिकै मेहनत चाहिन्छ नै। प्रदेशबाट कप्तानको रुपमा खेल्दा समस्त खेललाई सम्हाल्नुपर्छ। आफ्नो व्यक्तिगत प्रदर्शनमा पनि ध्यान दिनुपर्छ। प्रदेशलाई जिताउनुपर्छ भन्ने आफूमा प्रेसर त्यतिकै हुन्छ। अर्कोतिर फ्रेन्चाइज लिगमै पनि उत्तिकै प्रेसर हुन्छ। फ्रेन्चाइज लिगको ‘वनर’हरुले विश्वास गरेर आफूलाई किनेको हुन्छ। त्यहाँ नेपालको टप–टप खेलाडीहरु खेलिरहेका हुन्छन्।
आफ्नो स्थान बनाउन आफूले पाएको अवसरलाई सदुपयोग गर्न सकेपछि थप आउने दिनहरुमा अवसर पाइने हुन्छ। त्यो प्लस फ्रेन्चाइज लिगबाटै राष्ट्रिय टिमहरु बनिरहेको हुन्छ। त्यतिबेला राम्रो गर्यो भने सिधा राष्ट्रिय टिमको ढोका खुल्न सक्ने हुन्छ। देशभित्रै पनि जति आफूलाई सक्षम बनाउँदै गयो उति नै अवसरको ढोका खुल्ने हो।
तपाईको भूमिका विकेट किपिङ र ब्याटिङ हो तर पछिल्लो समय बलिङ पनि गर्नुहुन्छ, अब अलराउण्डर बन्ने लक्ष्य हो?
म खास अलराण्डर बन्न खोजेको चाहिँ होइन। मेरो खास रोल भनेको ब्याटिङ र विकेट किपिङ नै हो। तर, म आवश्यक परेको बखत बलिङ पनि गरिनै रहन्छु। आफूमाथि विश्वास लाग्छ अनि टिममा चाहिएको बेला बलिङ गर्नपनि पछि पर्दिन।
कर्णालीमा क्रिकेटका लागि आवश्यक संरचना पनि छैनन्, खेल्नका लागि त समस्या होला नि?
सबैभन्दा ठूलो समस्या भनेकै अहिलेसम्म क्रिकेट खेलका लागि आवश्यक न्यूनतम पूर्वाधार नहुनु हो। अहिलेसम्म क्रिकेट फिल्ड कुन र कहाँ भन्ने कर्णालीमा अझै अन्यौलको अवस्था छ। म सानैबाट क्रिकेट खेल्न शुरु गरेपनि अहिलेसम्म क्रिकेटको मैदान नै तोकिएको छैन। सानोमा कालिञ्चोक छँदा खेलेको मैदानमै अहिले सबैले खेल्नुपर्ने बाध्यता छ। त्यो खेल मैदान पनि खेलकुदका लागि नभएर अर्केको जग्गा प्रयोग भइराखेको अवस्था छ। त्यही जग्गामा भोलिका दिनमा कोही कसैले केही संरचनाहरु निर्माण गर्यो भने त क्रिकेट खेल्ने ठाउँनै छैन। क्रिकेट खेलाडीले कसरी अभ्यास गर्ने र पछाडीको पुस्ताले कसरी सिक्ने? समस्या छ नि।
त्यसैले कर्णालीमा क्रिकेटको उपयुक्त खेल मैदान भएपछि मात्रै खेलाडी सक्षम बन्ने हो र नयाँ खेलाडी अनि जन्मिन्छन्। यसका लागि स्थानीय, प्रदेश सरकार होस् या संघीय सरकार क्रिकेट खेलका लागि कर्णालीमा प्रदेशस्तरिय खेल मैदान बनाउन जरुरी छ। खेल्नका लागि खेल मैदान नै छैन त्यसैले पनि कतिपय क्रिकेटमा रुचि राख्नेहरु पनि खेलमा आउन सकिरहेका छैनन्। अर्कोतर्फ त्यसले गर्दापनि अभिभावकहरुले सर्पोट गर्दैनन्। जसले गर्दा पनि क्रिकेट खेलाडीहरु अझै कर्णालीमा उत्पादन हुन मुस्किल भइरहेको छ।
टिम कप्तान भएर खेलिरहँदा कर्णालीमा क्रिकेटलाई माथि उकास्न के छ योजना?
सबैभन्दा महत्वपूर्ण भूमिका भनेको त खेलाडी स्वयं नै हो। टिममा एक जना कप्तानले मात्रै गरेर केही हुँदैन। खेलमा सबैको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। एक दुई जनाले मात्रै गरेर पनि हुँदैन। जति पनि खेलाडी मैदानमा हुन्छौँ सबैको भूमिका बराबर हुन्छ। सबैले ‘कन्ट्रिब्युट’ गर्नुपर्छ। कर्णालीको क्रिकेटलाई माथि उठाउने भनेर अर्थात् कर्णालीमा पनि क्रिकेट खेलाडी उत्पादन गर्नका लागि क्रिकेट एकेडेमी पनि सञ्चालनमा ल्याएको छु।
एकेडेमीमार्फत पनि पछिल्लो पुस्तालाई गाईड गरेको छु। म कप्तान भइसकेपछि मैले आफ्नो टिम होस् या आफूभन्दा पछाडीको भाइबहिनीहरु होस् उनीहरुलाई कसरी पोख्त गराउने भन्नेतर्फ लागिरहेको छु। उनीहरुलाई क्रिकेटप्रतिको आकर्षणसँगै खेललाई कसरी राम्रो बनाउन सकिन्छ भनेर स्थानीय लेभलमा अभ्यास गराउने काम गरिरहेको छु।
यू-१९ का लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरु तयार हुँदै छन्। हाम्रो क्षेत्रमा जति पनि खेलसँग सम्बन्धित विभिन्न कमिटीहरु छन् उनीहरुको पनि भूमिका उस्तै हुन्छ। क्रिकेटलाई माथि उठाउन ति कमिटिहरुले वर्षमा एक दुई वटा राम्रो खालको प्रतियोगिताहरु आयोजना गर्नु पर्छ। जसले गर्दा खेलाडीहरुलाई सक्रिय बनाउन सहज हुन्छ। खेलाडी आफू एक्लैले मेहनत, अभ्यास गर्न पनि समस्या हुन्छ। पारिवारिक वातावरण बनेको हुँदैन, जति धेरै प्रतियोगिताहरु हुन्छन् त्यति नै खेलाडी सक्रिय हुने हुन्छ। त्यसैले कर्णालीमा खेलकुदसँग सम्बन्धित निकायले वर्षमा एक/दुई पटक भएपनि त्यस्ता प्रतियोगिता आयोजना गर्नुपर्छ।
क्रिकेटको विकास गर्न सरकारले कसरी पहल गर्न आवश्यक छ?
कर्णालीमा क्रिकेट खेलको विकास गर्न सरोकारवाला निकाय तात्नुपर्छ। अहिले क्रिकेटप्रति कसैको चासो देखिँदैन। यसरी क्रिकेट विकासको कल्पना गर्नै सकिदैँन। संघीय संरचनाले गर्दा हामीले नजिकै दुई/दुई वटा सरकारहरु छन्। सरकारका मन्त्री, पदाधिकारीहरुले नजिकबाट नियाल्नुभएको छ होला। प्रदेशको राजधानी सुर्खेतमै एउटा उपयुक्त क्रिकेट मैदानको व्यवस्था छैन भने अन्य जिल्लामा हुने कुरै भएन। त्यसैले स्थानीय, जिल्ला र प्रदेशका विभिन्न सरोकार राख्ने पक्षहरुलाई प्रदेशस्तरिय एउटा क्रिकेट मैदान बनाउन अनुरोध गर्छु। खेल मैदान भयो भने मात्रै खेलाडी उत्पादन हुने हो राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी तब मात्रै जन्मिन सक्छन्। कर्णालीमा क्रिकेटको विकासका लागि सबैले यसतर्फ ध्यान दिनुपर्छ।