
काठमाडौं : पार्कर खेलमा नेपालका दिनेश सुनारले चौथो पटक विश्व कीर्तिमान बनाएका छन्।
ब्यालेन्स ग्रुप अफ कम्पनीज प्रा.लि. को सहकार्यमा भिजिट नेपाल २०२० को सेरोफेरोमा अमेरिकाको भर्जिनियामा उनले कीर्तिमान कायम गरेका हुन्।
पार्कर खेलको छुट्टै विधा 'द मोस्ट ब्याकवार्डस समर्सल्ट अन ट्रयाम्पोलाइन' मा एक घण्टाको समयमा ४ सय ६० पटक ब्याक फ्लिप्स गर्दै सुनारले चौथोपटक पार्कर खेलमा विश्व कीर्तिमान कायम गरेका हुन्।
गिनिजवल्ड रेकर्डले आज उनको चौथो कीर्तिमानलाई मान्यता दिएको हो।
यसअघि उनले पार्कर अन्तर्गत सन् २०१७ मा ट्विस्टिङ ब्याकफिल्पसमा एक मिनेटमा १८ पटक ट्विस्ट गर्दै पहिलो कीर्तिमान कायम गरेका थिए। यस्तै, उनले २०१८ मा ब्याकवार्ड समर्सल्टमा र २०१९ मा ट्विस्टिङ ब्याकफिल्पमा कीर्तिमान बनाएका थिए।
हाल अमेरिकामा रहेका दिनेशले पहिलोपोस्टसँग कुरा गर्दै आफ्नो सफलताको श्रेय सशस्त्र प्रहरी बल (एपिएफ) लाई दिन चाहेको बताए।
तत्कालिन आइजिपी सनत कुमार बस्नेतलाई सम्झिँदै उनले भने, 'उहाँले नै मलाई गाउँबाट ल्याएर यो अवस्थामा पुर्याउनु भयो। म उहाँलाई यो सफलतामा सम्झन चाहन्छु। त्यस्तै थानेश्वर गुरागाइँ सरको मार्गनिर्देशनले पनि मलाई सहयोग गर्यो।'
'गोर्खाली पार्कर गोइङ्ग टु ग्लोबल' कार्यक्रम मार्फत बहुचर्चित टेलिभिजन शो अमेरिकाज गट ट्यालेन्टमा सहभागी हुन दिनेश हाल अमेरिका मै छ्न्। उनी जिम्न्यास्टिकका राष्ट्रिय खेलाडी समेत हुन्।
२८ वर्षीय दिनेशले सन् २०१२ बाट आधिकारिक रुपमा पार्कर खेल्न शुरु गरेका थिए। उनी नेपालको पहिलो पार्कर खेलाडी हुन्।
'यो खेलमा एउटा विन्दुबाट अर्को विन्दुमा जाँदा आउने चुनौतीहरुलाई पार गर्दै सकेसम्म छिटो गन्तव्यमा पुग्नुपर्ने हुन्छ।' उनले आफ्नो खेलका बारेमा बताउँदै भने, 'सानैदेखि म जिम्न्यास्टिकमा चासो राख्थेँ। विदेशी फिल्महरु हेरेर त्यसको नक्कल गर्न खोज्थेँ। पछि गाउँबाट काठमाडौं आएपछि म पार्कर खेलाडी भएँ।'
खोटाङबाट काठमाडौंको यात्रामा उनले नेपाललाई पार्कर खेलमार्फत विश्वमा चिनाए। यसपटक भने उनले विश्वैकै शक्तिशाली राष्ट्र मानिएको अमेरिकामा नै पुगेर नेपालको नाम राखे।
चौथौपटक कीर्तिमान बनाएका दिनेश भन्छन्, 'अमेरिका जस्तो शक्तिशाली देशमा आएर विश्वकीर्तिमान बनाएँ। आफनो देशको नाम राख्न पाउँदा एकदमै गौरव महशुस भएको छ।