PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

सर्वोच्चले रोक्ला सभामुख चयन? सदनमा निर्वाचन, अदालतमा हुँदै मुद्दाको सुनुवाइ



पहिलोपोस्ट

सर्वोच्चले रोक्ला सभामुख चयन? सदनमा निर्वाचन, अदालतमा हुँदै मुद्दाको सुनुवाइ

काठमाडौं : प्रतिनिधिसभाको सभामुख आज चयन हुँदैछ। चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाउन लागेको हो। लामो विवादपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ ५ गते सभामुखको उम्मेद्वार तय गरेपछि प्रक्रिया अघि बढेको थियो। ७ गते नै मनोनयन भए पनि राष्ट्रियसभा निर्वाचनका कारण प्रक्रिया पछि सारिएको थियो।

सभामुखमा नेकपामा उम्मेद्वार अग्नि सापकोटाको एकल मनोनयन परेको छ। एकल मनोनयन दर्ता भएका कारण उनी निर्विरोध निर्वाचित हुनेछन्। दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।

प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षले उनको नाम प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार निर्विरोध भएको घोषणा गर्नेछन्। सापकोटाका प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन्। यस्तै, समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र राष्ट्रिय जनता पार्टी (राजपा) सांसद् लक्ष्मणलाल कर्ण छन्।

कांग्रेस लगायतका कुनै पनि प्रतिपक्ष दलले सभामुखमा उम्मेद्वारी नदिँदा सापकोटा निर्विरोध हुन लागेका हुन्।

यस्तै, सर्वोच्च अदालतमा आज नै सभामुख चयन प्रक्रिया अघि नबढाउन माग गरिएको रिटको पनि सुनुवाइको पेसी तोकिएको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा दायर रिटको पेसी आजका लागि तोकिएको छ। न्यायाधीश हरि फुयालको इजलासमा पेशी तोकिएको छ।

निवेदकको मागदाबी अनुसार आदेश जारी भएमा निर्वाचन प्रक्रिया रोकिनेछ भने सापकोटाविरुद्ध काभ्रे प्रहरीमा विचाराधीन जाहेरको अनुसन्धान प्रक्रिया अघि बढ्नेछ। आदेश जारी नभएको अवस्थामा सदनको प्रक्रिया अघि बढ्नेछ।

उनीविरुद्ध यसअघि पनि अदालतमा मुद्दा विचाराधीन नै छ। काभ्रेका अर्जुन लामाको हत्या प्रकरणमा सापकोटाको नाम जोडिँदै आएको छ। यद्यपि उक्त मुद्दाको अनुसन्धान भने एक दशकभन्दा लामो समयदेखि अघि बढ्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell