PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

राजनीति सिकाउँदै हुर्केका गोपाल भट्टराई, ६९ वर्षमा राष्ट्रियसभामा प्रवेश



कुञ्जरमणि भट्टराई

राजनीति सिकाउँदै हुर्केका गोपाल भट्टराई, ६९ वर्षमा राष्ट्रियसभामा प्रवेश

काठमाडौं : बिहीवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा १८ सिटमध्ये १६ स्थानमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र २ स्थानमा राजपाका उम्मेद्वार निर्वाचित भए। नेकपाबाट निर्वाचित भएमध्येका एक हुन् गोपाल भट्टराई।

प्रदेश ५ बाट अन्य कोटामा निर्वाचित भएका भट्टराई ६९ वर्षको उमेरमा राष्ट्रियसभा प्रवेश गर्दैछन्।

२०२४ सालबाट सक्रिय वामपन्थी राजनीति गर्न थालेका हुन् भट्टराईले।

आफूलाई जोसिलै उमेरका भन्ने उनलाई नीति निर्माण बनाउने ठाउँमा प्रवेश पाउँदा कस्तो लागेको छ?

राष्ट्रियसभामा लैजाने पार्टीको निर्णयलाई उनले स्वभाविक ठानेका छन्। नीति निर्माण तहमा पुग्दा खुसी पनि।

‘२०२४ सालदेखि पार्टी राजनीतिमा सक्रिय छु। त्यसैका आधारमा पार्टीले मलाई मौका दिएको भन्ने लागेको छ। कानुन बनाउने तहमा पुग्दा केही गर्ने अवसर जुटेको छ,’ उनले भने।

उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीबाट समानुपातिक सूचीमा परेका थिए। तर, उनी सांसद भने बन्न पाएनन्। त्यसको सट्टा पार्टीले आफूलाई राष्ट्रियसभामा पुर्‍याउने निर्णय लिएको उनको बुझाई छ।

२०२८ सालमा नेकपा एमालेको पार्टी सदस्यता लिएका भट्टराईले लामो समय जिल्ला कमिटी, अञ्चल कमिटीमा आवद्ध भएर सक्रिय भूमिका निर्वाह गरे। नेकपा र माओवादीबीच एकीकरण नहुँदासम्म प्रदेशको कार्यालय सचिवको भूमिका निर्वाह गरेका भट्टराई हाल प्रदेश कमिटी सदस्य छन्।

लामो समयसम्म पार्टीमा काम गरिरहँदा उनी आफूलाई ‘राजीनीतिक शिक्षक’ का रुपमा चिनाउँछन्।

उनले भने, ‘लामो समयसम्म राजनीतामा सक्रिय हुँदा मैले धेरै साथीहरुलाई पार्टीमा ल्याउन सफल भएँ। अहिले ती सबै साथीहरु माथिल्लो ओहोदामा पुगे। मैले आफूलाई राजनीतिक शिक्षकको रुपमा लिएको छु। मैले कहिल्यै पद खोजिनँ।’

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, नेकपाको केन्द्रीय तहमा रहेका विजय पौडेललगायतका नेतालाई राजनीतिमा ल्याउन सहकार्य गरेको बताउँछन् भट्टराई।

पहिलोपोस्टसँगको कुराकानीमा उनले आफू भूमिगत जीवन व्यथित गरेको पनि स्मरण गरे।

उनले सुनाए, ‘राजनीतिक जीवनको उतावचढावका दौरान मैले धेरै समय भूमिगत जीवन पनि बिताएँ। पटक-पटक जेल पनि बस्नुपर्‍यो।’

७० पार गर्ने उमेरमा पुग्दा मानिसमा बुढ्यौलीले सताउने सुनाउँदै भन्छन्, ‘म जोसिलो छु। बुढ्यौलीले छोएको छैन्। अझै केही वर्ष काम गर्न सक्छु।’

राष्ट्रियसभामा के गर्ने ?

पार्टीमा आवद्ध भएर निर्वाचन जितेपछि आफूले मात्र योजना बनाएर नहुने उनको तर्क छ।

उनी भन्छन्, ‘नीति निर्माण गर्ने ठाउँमा म कुनै पार्टीमा आवद्ध भएर पुगेको छु। मेरा कुरा त राख्छु नै। पार्टीका योजनाहरु पनि हुन्छन्। राम्रो कामको समर्थन गरिन्छ। आफूलाई नराम्रो लागेकोमा विरोध गरिन्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell