PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

अग्नि सापकोटाको मुद्दा न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने, उनीविरुद्ध गरेका थिए बहस



पहिलोपोस्ट

अग्नि सापकोटाको मुद्दा न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने, उनीविरुद्ध गरेका थिए बहस

काठमाडौं : अग्नि सापकोटालाई सभामुखको बनाउन रोक लगाउन माग गर्दै परेको रिट सर्वोच्च अदालतका न्यायाधीश हरि फुयालले हेर्न नमिल्ने भएको छ।

फुयालले न्यायाधीश हुनअघि सापकोटाविरुद्धको मुद्दामा पूर्णिमाया लामाको पक्षबाट वकलत गरेका थिए। त्यस्तै अग्नि सापकोटाले वरिष्ठ पत्रकार तथा प्रकाशक कनकमणि दीक्षितविरुद्ध हालेको मुद्दामा दीक्षितका तर्फबाट बहस गरेका थिए। आज उनकै बेन्चमा सापकोटाको मुद्दा राखिएको थियो। कानुन व्यवसायीका रुपमा बहस गरेका हुनाले उनले यस मुद्दा हेर्न नमिल्ने भएको हो।

शुक्रवार सर्वोच्च अदालतमा अधिवक्ता दिनेश त्रिपाठीले नेकपाबाट सभामुखमा उम्मेद्वार सापकोटाविरुद्ध रिट दायर गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पूर्व मन्त्रीसमेत रहेका सापकोटालाई सभामुख बनाउन निर्णय गरेर प्रकृया अगाडि बढाइसकेको छ। उनका विरुद्धमा नेपाली कांग्रेसले उम्मेदवारी दिएन।

प्रतिनिधिसभाको सभामुख आज चयन हुँदैछ। चार महिनापछि प्रतिनिधिसभाले सभामुख पाउन लागेको हो। लामो विवादपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले माघ ५ गते सभामुखको उम्मेदवार तय गरेपछि प्रक्रिया अघि बढेको थियो। ७ गते नै मनोनयन भए पनि राष्ट्रियसभा निर्वाचनका कारण प्रक्रिया पछि सारिएको थियो।

सभामुखमा नेकपामा उम्मेदवार अग्नि सापकोटाको एकल मनोनयन छ। एकल मनोनयन दर्ता भएका कारण उनी निर्विरोध निर्वाचित हुनेछन्। आज दिउँसो ३ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।

२०६२ वैसाख २१ गते माओवादीले अपहरण गरेको र सोही वर्षको असार दोस्रो साता हत्या गरिएको जाहेरी लामाकी श्रीमती पूर्णिमाया लामाले सापकोटा विरुद्ध उजुरी दिएकी थिइन्। सुरुमा त प्रहरीले जाहेरी समेत लिन नमानेको यो मुद्दा सर्वोच्च अदालतमा अहिले पनि चलिरहेकै अवस्थामा छ।

२०६८ वैसाख २१ गते नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सापकोटालाई सूचना तथा सञ्चारमन्त्री बनाइएपछि सो मुद्दा पुन: सुरु भयो। जिल्ला प्रशासनको आदेशमा प्रहरीले जाहेर नलिएको विषयलाई लिएर पूर्णिमायाले सर्वोच्च अदालतमा रिट दायर गरिन्। रिटमा सुनुवाइ गर्दै सर्वोच्चले २०६४ फागुन २७ गते उनको जाहेरी दर्ता गर्न प्रहरी र जिल्ला प्रशासन कार्यालयका नाममा आदेश दियो। अदालतको उक्त आदेशपछि काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटा लयायत अन्य ६ जना माओवादीविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो।

तर, प्रहरीले आफ्नो मातहतका कार्यालयहरुलाई सञ्चार सम्प्रेषण गरेको तर फेला नपरेको भन्दै तामेलीमा राख्दै आएको जिकीर पूर्णिमायाले सर्वोच्चमा गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell