PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

वीरगंज करिडोरमा ‘मेटाबिल्ड परियोजना’ले जोगायो २० उद्योगको लागत खर्च, प्रदुषण पनि नियन्त्रण



राधेश्याम पटेल

वीरगंज करिडोरमा ‘मेटाबिल्ड परियोजना’ले जोगायो २० उद्योगको लागत खर्च, प्रदुषण पनि नियन्त्रण

वीरगंज : युरोपियन युनियनको आर्थिक सहयोगमा सिड नेपालले नेपालमा सञ्चालन गरेको मेटा बिल्ड परियोजनाले नेपालको औद्योगिक प्रतिष्ठानमा सकारात्मक असर परेको बताइएको छ।

वीरगंजमा आयोजित परियोजना कार्यअवधि सम्मान समारोहमा सहभागीहरुले परियोजनाको सबल पक्ष बारे प्रशंसा गरे। सन् २०१६ मे १ देखि दक्षिण एशियाको बंगलादेश, नेपाल र श्रीलंकामा यो परियोजना सञ्चालन गरिएको थियो। सन् २०२० फेब्रुअरीमा यो कार्यक्रम सकिन लाग्दा यसको उपलब्धीबारे छलफल गर्दै काठमाडौं, पोखरा, विराटनगर, भैरहवा करिडोरपछि वीरगंजमा कार्यक्रम गरी यो परियोजनाको फाइदा बारे सरोकारवालाहरुलाई जानकारी  गराइएको थियो।

सिड नेपाल र वीरगंज उद्योग वाणिज्य संघको सहकार्यमा नेपालमा लागू गरिएको यस परियोजना अन्तर्गत नेपालका धातुजन्य (भवन र निर्माण कार्यमा उत्पादन गर्ने उद्योग) ८२ उद्योगमा यो परियोजना लागू गरिएको थियो।

जसमा वीरगंज पथलैया औद्योगिक कोरिडोरमा बाराका १४ र पर्साका ६ गरी कुल २० उद्योगमा कार्यक्रम लागू गरिएको हो। नेपालमा कार्यक्रम लागू भएपछि ८२ वटा उद्योगलाई करिब ९ सय सुझाव दिएकोमा करिब साढे ७ सय सुझावलाई उद्योगको व्यवस्थापन पक्षले कार्यन्वयन गरेका थिए।

यसबाट नेपाली डन्डी, फालम तथा तार उत्पादन गर्ने उद्योगलाई निकै फाइदा हुनुको साथै प्रदुषण नियन्त्रणमा पनि ठूलो योगदान पुगेको सिड नेपालका कार्यकारी अध्यक्ष र मेटा बिल्ड परियोजना नेपालका प्रमुख अमरबहादुर मानन्धरले बताए। उनका अनुसार नेपाली धातु जन्य उद्योगमा छानो परितर्वन, एलएडी बल्बको प्रयोग, डन्डी र तार उत्पादन गर्ने उद्योगमा फर्निस मेशिन परिवर्तन, कम्प्रेसर सेट परिवर्तन गरी कार्बनडाइ अक्साइड उत्र्सन कम भएको, १ करोड ६ लाख युनिट उर्जा तथा ३४ हजार लिटर खानेपानी बचत भएको छ।

उद्योगहरुले लगानी गरेको १० करोडको उपकरणबाट १४ करोड ४४ लाख लागत खर्चमा मुनाफा गरेको सिड नेपालको विश्लेषण छ। कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरका मेयर विजय सरावगीले आजको युगमा जुन उद्योगले आफनो उद्योगबाट विसर्जित प्रदुषणलाई व्यवस्थापन गर्ने उपकरण लगाउदैन, त्यो उद्योगको लगानी जोखिममा रहेको धारणा व्यक्त गरे।

उनले भने, ‘उद्योगी साथीहरुले आफनो उत्पादन गर्ने बेलामा के समान वेस्टको रुपमा निस्किदैछ, त्यसबारे गम्भीर बन्नु पर्छ। यस्तो अवस्थ नआओस् कि स्थानीयले उद्योगमा ताल्चा लगाउन परोस्।’

उनले संस्थागत उत्तरदायित्व अन्तर्गत आएर उद्योगले वृक्षारोपणमा लगानी गरी वातावरणलाई सफा स्वच्छ र सुन्दर राख्न पनि भूमिका निर्वाह गर्न आग्रह गरे। उनले यसै वर्ष वीरगंज महागनरमा करिब पौने २ लाख विरुवा रोपेर वीरगंज महागनरलाई हराभरा र स्वच्छ वीरगंज अभियान पनि वीरगंज महानगरले चालेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell