PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पोखराको पिएन क्याम्पसमा पढाई ठप्प, २१८ आंशिक प्राध्यापक सामुहिक राजीनामा दिँदै



विष्णु गौतम

पोखराको पिएन क्याम्पसमा पढाई ठप्प, २१८ आंशिक प्राध्यापक सामुहिक राजीनामा दिँदै
फोटो : विष्णु गौतम

पोखरा : त्रिभुवन विश्वविद्यालयबाट उत्कृष्ट क्याम्पसको उपाधि प्राप्त पोखराको जेठो क्याम्पस पृथ्वीनारायण क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका ७० प्रतिशत कक्षा श्रेणी विहिन (ज्यालादारी) प्राध्यापकहरुले पढाई रहेका छन्।

विश्वविद्यालय अनुदान आयोगबाट क्यु ए ए सर्टिफिकेट प्राप्त क्याम्पसमा पार्टटाइमरका रुपमा रहेका श्रेणी विहिन प्राध्यापकहरुले राजीनामा दिने चेतावनी दिएसँगै क्याम्पसको अवस्था दयनीय बन्दै गएको छ। 

विगत १४ वर्ष देखि दैनिक ज्यालादारीका रुपमा अध्यापन गराईरहेका २ सय १८ जना आशिक प्राध्यापकहरुले सामुहिक राजीनामा दिने भन्दै आन्दोलनमा उत्रिएका हुन्।

आशिंक प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले क्याम्पस प्रशासनले विगत १४ वर्ष देखि सामान्य तल्लो स्तरको श्रमको मुल्य पनि नदिई प्राध्यापन पेशामा लगाएकाले आन्दोलनमा उत्रनु परेको बताए।

भने, 'हामीलाई यो क्याम्पसले पिउनको जस्तो पनि व्यवहार गर्दैन, यस्तो अवस्थामा समान कामको समान ज्याला नभएसम्म हामी आन्दोलन फिर्ता लिने पक्षमा छैनौ।'

उनका अनुसार हाल क्याम्पसमा कार्यरत ५ सय ४९ प्राध्यापकहरु मध्ये २ सय १८ जना आशिंक मात्रै रहेका छन्।

पाठ्यक्रममा प्रस्ट रुपमा १५० कक्षा अध्यापन हुने निर्धारण गरेको भए पनि मुस्किलले एक शैक्षिक सत्र मा १०० दिनको पारिश्रमिकमा आंशिक प्राध्यापकहरु पुरा शैक्षिक सत्र प्राध्यापन गर्न बाध्य छन्।

संघका सचिव खिमानन्द पौडेलका अनुसार नियमित कक्षा संचालन भैरहेको र कोर्ष नसकिएको अवस्थामा समेत कक्षा बन्द भएको सुचना जारी गरी पठनपाठन भएको दिनको समेत पारिश्रमिक दिईंदैन। भने, 'यस हिसाबले सोही बराबरको काम गर्ने पुर्णकालिन प्राध्यापकको करिब १० प्रतिशत पारिश्रमिकमा नै आशिंक प्राध्यापक हरु सेवारत छन।'

आंशिक प्राध्यापकहरु विगत १४ बर्षदेखि विविध संघर्षका कार्यक्रमहरु मार्फत आफ्ना मागहरु राख्दै आएका छन्। तर आफ्ना मागहरु पूरा नभएपछि अहिले फेरि उनीहरु अन्तिम आन्दोलनको नाममा विगत एक महिनादेखि संघर्ष गर्दै आएका छन्। उनीहरुले चरणवद्ध रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपनि समस्या समाधान प्रति प्रशासनले कुनै चासो नदिएको भन्दै हाललाई कक्षा बहिस्कार गरेर आन्दोलन सुरु गरेका छन्।

पृथ्वी नारायण क्याम्पसका प्रमुख प्रा.डा.चन्द्र बहादुर थापाले आशिंक प्राध्यापकको समस्याको समाधान आफूसँग नभएको बताए। भने, 'यो समस्या वास्तवमै विकराल समस्या हो। यसको समाधान म सँगै छैन। त्रिवीले यो विषयमा कुनै चासो दिदैन।'

उनका अनुसार स्नातकको दुई वर्षेबाट चार वर्षे बनाइयो र स्नातकोत्तरको कक्षा सेमेस्टरमा संचालन हुन थाल्यो।  जसका कारण नियमित पठनपाठन गराईरहेका शिक्षकहरु भन्दा अझै बढी प्राध्यापकहरुको आवश्यक्त देखियो। तर माथीमा बस्नेहरुले समस्या नबुझ्दा समस्या बल्झिएको उनको दावी छ।

यता अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य तथा क्याम्पस कमिटीका अध्यक्ष राजन शर्माले आशिंक प्राध्यापकहरुको समस्या जटिल रहेको तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने बताए। भने, 'कसैले न्यून ज्यालामा पढाउन सक्दिन भन्न पाउँछ तर विद्यार्थीको पढाईलाई रोक्न पाईदैन, यसको जवाफ प्रशासनले दिनुपर्छ।'

उनले तत्काल समस्या समाधान गर्न वा अर्को व्यवस्था नभएसम्म पनि कक्षा संचालन हुनु पर्ने भन्दै भने,' पठनपाठन अवरोधबाट उत्पन्न हुने कुनै पनि समस्याको जवाफ क्याम्पस प्रशासनले दिनु पर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell