PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

जग्गा किन्ने भन्दै बैंकबाट ऋण, लगानी भने 'बल्ने ढुङ्गामा'



सविन ढकाल

जग्गा किन्ने भन्दै बैंकबाट ऋण, लगानी भने 'बल्ने ढुङ्गामा'

माघ ६ गते।

काठमाडौं भगवानपाउँका ६३ वर्षीय बच्चुराम गुरुङले पाँच जनाको नाममा चेक काटे। चेकको एमाउन्ट ९ लाख ९० हजार रुपैयाँ। परिवारका सदस्यको नाममा नै जारी गरिएको चेक।

गण्डकी विकास बैंकबाट सोही दिन पाँचै जनाले रकम झिके। सबैले झिकेको रकम जम्मा ९ लाख ९० हजार रुपैयाँ फेरि गुरुङलाई नै बुझाए। पूर्व सैनिकसमेत रहेका बच्चुराम गुरुङले गण्डकी विकास बैंकबाट केही दिन अघिमात्र ऋण लिएका थिए। बैंकले गुरुङलाई जग्गा खरिद गर्नको लागि ऋण दिएको थियो। त्यसका लागि उनले आफ्नो घर नै बैंकमा धितो राखेका थिए।

एकै दिन ५० लाख रुपैयाँ एउटै व्यक्तिको नाममा झिक्न नमिल्ने भएपछि गुरुङले पाँच जना आफन्तको नाममा रकम झिकेका थिए।

तीन दिनपछि गुरुङ (माघ ९ गते) बिहान  करिब ९ बजेतिर ५० लाख रुपैयाँ बोकेर काभ्रेस्थली तिर लागे। उनीसँगै थिए, बेदबहादुर भन्ने भिमबहादुर घर्तीमगर। ५० लाख रुपैयाँको रकम उनैले बोकेका थिए। जंगलमा अन्य केही व्यक्ति पनि आए। तर एकाएक गुरुङको आँखामा खुर्सानीको धुलो हालियो। त्यसपछि तिरीमिरी परे उनी।

आँखा खुल्दा उनको साथमा रहेको रकममात्र हैन भीमबहादुर पनि गायब।

त्यसपछि आफू लुटिएको थाह पाए गुरुङले। गुरुङ प्रहरीलाई गुहार्न पुगे।

त्यति धेरै पैसा लिएर गुरुङ किन त्यता पुगेका रहेछन्? प्रहरीले पनि प्रश्न गर्‍यो। अनुसन्धानका क्रममा पत्ता लाग्यो - गुरुङ जग्गा किन्न भनेर बैंकबाट निकालिएको ५० लाख रुपैयाँ लिएर 'बल्ने ढुङ्गा' किन्न भन्दै काभ्रेस्थली पुगेका रहेछन्। भिमबहादुरले नै आफ्नो बाजेसँग बल्ने ढुङ्गा भएको र ५० लाखमा किनेर करौडौंमा बेच्न मिल्ने प्रलोभन देखाएपछि गुरुङ नाफा कमाउने दाउमा घर धितो राखेर ढुङगा किन्न पुगेका रहेछन्। 'बैंकबाट जग्गा किन्ने भन्दै पैसा झिकेर ढुङ्गा किन्ने योजना भएको देखियो। प्रलोभनमा परेर नाफा कमाउने लोभमा लुटिन पुगेको देखिन्छ,' महानगरीय अपराध महाशाखाका एसपी मुकेसकुमार सिंहले भने।

लुटेको रकम बाइक किन्नदेखि ऋण तिर्नसम्म

रकम लुटिएको जानकारी आउनसाथ प्रहरीले लुटेरा समूहको खोजी सुरु गरेको थियो। २४ घण्टा नबित्दै प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन सफल भएको छ। अपराध महाशाखाको टोलीले आइतवार लुटेरा समूहलाई सार्वजनिक गर्‍यो।

पक्राउ पर्नेमा दाङ पुरन्धारा वडा ९ का ३८ वर्षीय वेदबहादुर भनिने भीमबहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका ६ कटजुनका ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङ्मो गाउँपालिका ५ गोलजुङका ३८ वर्षे दावाछिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका वडा ९ का ३६ वर्षे कुमारबहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका वडा ३ खड्कुका ३६ वर्षे तेन्जिङबहादुर तामाङ र रसुवा उत्तरगया गाउँपालिका वडा २ खड्कुका २८ वर्षे संजित वाइबा रहेका छन्।

प्रहरीले उनीहरुको साथबाट लुटिएको रकम मध्ये १८ लाख  ७५ हजार ५ सय रुपैयाँ मात्र बरामद गर्न सफल भएको छ। बाँकी रकम उनीहरुले खर्च गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। लुटेको रकममध्ये संजित वाइवाको भागमा पाएको पाँच लाख रुपैयाँ मध्ये  २ लाख ११ हजार रुपैयाँ सानिमा बिकास बैंकमा जम्मा गरेका थिए। त्यस्तै ७७ हजार रुपैयाँको पबित्र सुनचाँदी पसलबाट सुनको ‌औंठी, १९ हजारको मोबाइल फोन र १ लाख रुपैयाँ घर बनाउँदा दिदिबाट लिएको ऋण तिरेको देखिएको छ।

त्यस्तै भिमबहादुरले पनि आफ्नो भागमा आएको ७ लाख रुपैयाँमध्ये ३ लाख ३० हजार रुपैयाँमा लु ५९ प २१३५ नम्वरको २२० सिसिको पल्सर बाइक किनेका थिए। दावा छिरिङले भने पाँच लाख रुपैयाँबाट १ लाख ५० हजार रुपैयाँ सापटीको ऋण तिरेको प्रहरीलाई बयान दिएका छन्।

कुमारबहादुर बढाथोकीले पनि ७५ हजार रुपैयाँ घरभाडा र १ लाख २५ हजार रुपैयाँ ऋण तिरका थिए। नकुर तामाङको पनि लुटको भागको रकम फाइनान्सको किस्ता तिर्न प्रयोग गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell