काठमाडौं : नेपालमा पहिलोपटक दुई टाउके करेत सर्प भेटिएको छ। सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले दुई टाउको भएको सर्प फेला पारेका हुन्।
सर्प मे, २०१८ मा पत्ता लागेको र अध्ययन पुरा गरी बल्ल प्रमाणित भएर लेख प्रकाशित भएको देवकोटाले बताए। रुपेन्देहीको बुटवलमा रहेका देवकोटाले भने, 'सर्प मे ८, २०१८ मा भेटिएको हो। यससम्बन्धी अध्ययन सकाएर दिएको लेख आठ महिनापछि प्रकाशित भयो।'
देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरी तयार पारेको सर्पसम्बन्धी लेख रेप्टाइल एण्ड एम्फिबियन कन्जरभेसन जर्नल (सरिसृप र उभरचर संरक्षण) जर्नलमा छापिएको छ।
सरिसृप तथा उभरचर संरक्षणमा लेख प्रकाशित गर्दै आएको अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको जनवरी २०२० को भोलुम २६(३) : २२६–२२९ मा देवकोटाको अनुसन्धानमुलक लेख छापिएको हो।
नवलपुर जिल्लामा भेटिएको अनौठो दुई टाउको भएको सर्पको अध्ययन अनुसन्धान गरी लेख तयार गरिएको सर्प अनुसन्धानकर्ता देवकोटाले बताए। जुद्धबिर श्रीष मगरले आफनो घरमा देखेको अनौठो करेत सर्प कालिगण्डकी अस्पतालमा लगेका थिए।
करेत प्रजतिको दुई टाउको सर्प ६१ वर्षपछि विश्वमा दोस्रो पटक तथा नेपालमा पहिलोपल्ट भेटिएको हो। यस अघि दुई टाउके करेत सर्प भारतको उत्तर प्रदेशमा सन् १९५७ मा भिआर झाको समूहले फेला पारेका थिए। नेपालमा भने पहिलो दुई टाउके सर्प जेनोक्रोफिस पिस्केटर (पानी सर्प) सर्पबिज्ञ करणबहादुर शाहको समूहले सन् १९८३ मा फेला पारेका थिए। उक्त सर्पको नमुना काठमाडौंको प्राकृतिक विज्ञान संग्राहलयमा राखिएको छ।
कसरी जन्मिन्छन् यस्तो सर्प?
देवकोटाकाअनुसार सामान्यत सर्प एक टाउके नै जन्मिन्छन्। तर, दुई टाउके सर्प कसरी जन्मिए त? जवाफमा देवकोटाले भने, 'म्युटसनका कारण हो।'
यस्ता सर्पहरु प्रकृतिमा लामो उमेरसम्म बाँच्न नसक्ने उनले बताए। देवकोटाले भने, 'हिँडडुल गर्न गाह्रो हुन्छ। खान खान लडाइ पर्छ। एउटा टाउकोले यता जाउँ अर्कोले उता जाउँ भन्दाभन्दै शत्रुको फन्दामा पर्न सक्छ।'
देवकोटा र उनको समूहले पत्ता लगाएको उक्त सर्पको सुक्ष्म तरिकाबाट अध्ययन अनुसन्धान पश्चात प्रिजर्व गरी सुरक्षित साथ राखिएको सर्पदंश विज्ञ तथा अस्पतालका प्रमूख डा छबिलाल थापाले बताए।
अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ अन्तरगत सर्प विशेषज्ञ समूहका (बिपिएसजी) नेपालका सदस्य तथा नेपाल टक्सिनोलोजी संघका उपाध्यक्ष देवकोटाले आफ्नो एमएको थेसिससमेत सर्पको विषयमा गरेका थिए। सन् २०१३ मा त्रिभुवन विश्वविद्यालयको जियोलोजी विभागबाट उनले 'पश्चिमाञ्चल विकास क्षेत्रमा सर्पदंशको महामारी' विषयमा थेसिस सकाएका हुन्।
सर्प अनुसन्धानकर्ता देवकोटा र उनको समूहले विगत ३ वर्षदेखि तराईका रुपन्देही, कपिलबस्तु, नवलपरासी, चितवन, सर्लाहीलगायत विभिन्न जिल्लाहरुमा काम गर्दै आएको छ।
यसैगरी देवकोटाकै समुहले अविषालू जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस (ब्यान्डड कुक्री) पनि नवलपुरको दलदलेमा फेला पारेका छन्। उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुन्जमा निकुन्जका कर्मचारीको रहोबरमा जिउदै छाडिएको चितवन राष्ट्रिय निकुन्जका फरेस्ट रेन्जर सन्तबहादुर मगरले जानकारी दिए। दुबै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिर्भसिटीस्थित लि कोग चेन प्रकृति विज्ञान संग्राहलयमा राखिएको छ।
ब्यान्डड कुक्री बारेमा तयार पारिएको बिस्तृत अध्ययन अनुसन्धान जर्नलमा बुझाइसकेको र जर्नलको आगामी अंकमा प्रकाशित हुने जानकारी सर्प अनुसन्धानकर्ता देवकोटाले बताए।
अनौठा सर्पका साथै अन्य सर्पहरु अझै पनि हाम्रो समाजमा अन्धविश्वासका कारण मारिने गर्दछन्। सर्प र सर्पको टोकाईसम्बन्धि चेतनाको कमीले गर्दा नेपालको तराई भूभागमा वर्षेनी एक हजार भन्दा बढीको मृत्यू हुने गरेको छ। सर्पसम्बन्धि अध्ययन अनुसन्धान र सचेतनाका कार्यक्रम बढी भन्दा बढी हुनुपर्ने देवकोटा बताउँछन्।
हाल उनी र उनको समूह 'सर्प बचाउ अभियान प्रकृति जोगाउँ' अभियानमा सक्रिय रहेको छ। अभियान रुपेन्देही, चितवन, कपिलवस्तु, नवलपरासीलगायत पश्चिमका जिल्लाहरुमा चलिरहेको उनले बताए।
किन बचाउने त सर्प?
प्रकृतिको साथीका रुपमा चिनिने सर्प सबैले बचाउनुपर्ने उनी बताउँछन्। भन्छन्, 'इको सिस्टम बचाउन सर्पले सहयोगीको भूमिका निभाउँछन्। किसानकै साथी हो सर्प। धर्तीबाट सर्प हटाइदिने हो भने बालीनाली पनि सप्रिदैन।'
सर्पले बालीनालीमा लाग्ने कीरा, भ्यागुता खानुका साथै मुसालाई नियन्त्रण गर्न पनि सहयोगीको भूमिका खेल्ने देवकोटाले बताए।
त्यसो त सर्पको विषबाट विभिन्न औषधि बन्ने उनले बताए। भने, 'सर्पको औषधि सर्पकै विषले बन्ने हो। मेन्टल डिजिजदेखि ब्लड प्रेसको औषधि बन्छ नै।'
अनुसन्धानकर्ता कमल देवकोटा।
तर सर्पको टोकाइबाट धेरैको मृत्यु पनि त हुन्छ नि? जवाफमा देवकोटाले भने, 'यसमा मानिसले संयमता अपनाउनुपर्छ। उपचार विधि थाह पाउनुपर्छ।' सर्पले टोक्दा गलत उपचार हुने भएकाले पनि मृत्यु हुनेको संख्या बढेको उनको भनाई छ। उनले भने, 'कतिपय ठाउँमा ब्लेडले चिर्नपर्छ। कुखुराको मलद्वार टोकेको ठाउँमा लगाउनुपर्छ। चुस्ने बाँध्ने गलत प्राथमिक उपचार गर्छन्। धामीझाँक्री लगाउँछन्। यी सबै गलत पद्धति हुन्,' देवकोटाले भने, 'विषालुले टोक्दा एन्टी भेनमबाहेक अरु उपाय छैन। त्यसैले अस्पताल पुग्नैपर्छ।'