PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

हेलिकप्टर दुर्घटनामा बास्केटबल 'लेजेन्ड' कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु



पहिलोपोस्ट

 हेलिकप्टर दुर्घटनामा बास्केटबल 'लेजेन्ड' कोबे ब्रायन्टसहित ९ जनाको मृत्यु
तस्बिरहरु: लस एन्जल टाइम्स

लेकर्स सुपरस्टार कोबे ब्रायन्टको हेलिकप्टर दुर्घटनामा परी निधन भएको छ। ४१ वर्षीय बास्केटबल खेलाडी कोबेसहित ९ जना सवार सिकोरस्काइ एस-७६ बी हेलिकप्टर सोमबार बिहान कल्बाससको पहाडी क्षेत्रमा क्र्यास भइ आगो लागेको लस एन्जलस टाइम्समा जनाइएको छ।

हेलिकप्टरमा उनकी तेह्र वर्षीया छोरी जियाना पनि थिइन्। अरेन्ज कोस्ट कलेजका बेसबल कोच जोन एल्टोबेली समेत सोही हेलिकप्टरमा रहेको कलेजले दाबी गरेको छ। तर सरकारी अधिकारीले भने कोबे र उनकी छोरी बाहेक पाइलट र अन्य यात्रुको जानकारी सार्वजनिक गरेको छैन। हेलिकप्टर बायन्ट बस्ने अरेन्ज काउन्टीबाट उडेको थियो।

 प्रत्यक्षदर्शी जेरी कोचारियनले भनेका छन्,’हेलिकप्टर अस्वभाविक रुपले तल उडेको थियो अनि आवाज निकालेको थियो। मैले त्यसलाई खस्दै गरेको देखें। हुस्सुका कारण दृश्य स्पष्ट थिएन। तर केहीबेरमै चर्को आवाज निस्कियो र बल्न थाल्यो।’

दूर्घटना अमेरिकी समय अनुसार आइतबार बिहान दस बजे लस भर्जेनस रोड र क्लबाससको विलो ग्लेन स्ट्रिट नजिक भएको हो। सरकारी अधिकारीहरुलाई बिहान पौने दश बजे दूर्घटनाबारे खबर भएको हो। लगत्तै उद्धार टोली घटनास्थल पुगेको थियो।

५६ जनाको अग्नि नियन्त्रकसहित गएको टोलीलाई आगो निभाउन हम्मेहम्मे परेको थियो। समाचारमा भनिएको छ,’हेलिकप्टरबाट सल्किएको आगो जंगलमा पनि फैलिएको थियो। आगोमा म्याग्नेसियमको मात्रा ज्यादा थियो जुन पानी र अक्सिजनमा पनि मिसियो। त्यसका कारण नियन्त्रकहरुलाई गाह्रो भयो।

कोबे अमेरिकाको नेशनल बास्केटबल एसोसियसन अन्तर्गत् लस एन्जलस लेकर्समा आवद्ध खेलाडी थिए। स्कूले जीवनदेखि नै एनबीएमा आवद्ध उनी पाँचपटक राष्ट्रिय च्याम्पियन बनेका छन्। त्यस्तै अठारपटक अल स्टार घोषित भए। बीस वर्ष लामो खेल करियरमा पन्ध्रपटक अल एनबीए टिममा परे। जुन टिममा राष्ट्रिय लिगका उत्कृष्ट खेलाडीहरुलाई सम्मान गरिन्छ।

सन् २००८ मा ‘मस्ट भ्यालुएबल’ खेलाडी भएका उनी २० सिजन लगातार खेल्ने एनबीएका पहिलो खेलाडी (गार्ड) हुन्। समाचारका अनुसार हेलिकप्टरमा सवार सबैको घटनास्थलमै मृत्यु भइसकेको थियो। फेटेरल एभिएसन एड्मिनिस्ट्रेसन र नेशनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डले घटनाको अनुसन्धान गर्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell