PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

वुहानमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा दूतावास, सतर्कता अपनाउन अपिल



विधुर ढकाल

वुहानमा रहेका नेपालीसँग निरन्तर सम्पर्कमा दूतावास, सतर्कता अपनाउन अपिल

काठमाडौं : बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपालीहरुको तथ्यांक संकलन गर्न थालेको छ। कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' वुहानमा रहेका नेपालीहरुलाई सम्पर्कमा ल्याउनका लागि दूतावासले तथ्यांक संकलन गर्न थालेको हो।

चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पहिलो पटक गत डिसेम्बरमा देखिएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म ८० जनाको ज्यान गइसकेको छ। बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो अवस्था जानकारी गराउनका अपिल गरेको छ।

त्यस्तै दूतावासले विभिन्न प्रान्तमा रहेका नेपालीहरुमाझ विच्याटमार्फत सम्पर्क जोडेको छ। राजदूत लिलामणि पौडेलको पहलमा नेपाली बढी रहेका प्रान्त तथा संक्रमित क्षेत्रका लागि छुट्टै 'विच्याट ग्रुप' सञ्चालन गरिएका छन्। यी ग्रुपमा राजदूत पौडेलले नेपालीसँग सीधै साक्षात्कार गर्ने गरेका छन्।

'तपाईहरु नआत्तिनुस। कुनै पनि आधिकारिक सूचनाबिनाका सन्देशहरु नफैलाउनुस। हामी चिनियाँ अधिकारीसँग निरन्तर सम्पर्कमा छौँ,' दूतावासले सञ्चालन गरेको छन्तुमा रहेका नेपालीहरुको विच्याट समूहमा एक विद्यार्थीले चीन पूरै बन्द गरिने हल्ला सूनेको भन्दै राखेको जिज्ञासामा उनले भनेका छन्।

यता दूतावासले चीनमा रहेका नेपालीहरुलाई आपतकालिन सहयोगका लागि हटलाइन दिएका छन्। २४ घण्टा उपलब्ध हुने गरी बेइजिङस्थित दूतावास तथा ग्वान्जाओ, ल्हासा र हङ्कङमा रहेका नेपाली महावाणिज्यदूतावासका साथै सांघाइस्थित अवैतनिक वाणिज्यदूतावासमा सम्पर्क गर्न अपिल गरेको छ।

यता आइतवार नै काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सरोकारवाला मन्त्रालयका अधिकारीहरुको बैठक बसी कोरोना भाइरस नेपालमा भित्रिन नदिन सतर्कता अपनाउने विषयमा छलफल गरेको छ।

प्रधानमन्त्री, गृहमन्त्री,परराष्ट्र मन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्री, मन्त्रालयका सचिवहरु उपस्थित बैठकले पर्यटकीय क्षेत्रमा स्वास्थ्य डेस्क स्थापना गर्ने निर्णयसहित व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

काठमाडौं उपत्यकासहित पोखरा, चितवन र लुम्बिनीमा आइसोलेशन बेडसहितको अस्पतालको व्यवस्था गरिएको उनले बताए। त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको निगरानीका लागि उपकरण र चिकित्सकसहित हेल्थ डेस्क सञ्चालन गरिएको उनले जानकारी दिए।

यता चिनियाँ पर्यटकहरुलाई लक्षित गरी पर्यटकीय क्षेत्रमा चिनियाँमा भाषामै सचेतनात्मक सामाग्री राखिने भएको छ। त्यस्तै चीनबाट आउने विमानलाई विमानस्थलमा छुट्टै पार्किङको व्यवस्था पनि गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell