काठमाडौं : आजै मात्र पद तथा गोपनियताको सपथ लिएका सभामुख अग्नि सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन्। सभामुखमा शपथ लिएर सिंहदरबारस्थित कार्यकक्षमा पुगेका सापकोटालाई भेट्न राजदूत होउ सिंहदरबार पुगेकी हुन्। उनी नवनिर्वाचन सभामुख सापकोटासँग औपचारिक भेट गर्ने पहिलो कुटनीतिक व्यक्ति हुन्।
सिंहदरवारमा भएको भेटमा चिनियाँ राजदूत होउले चिनियाँ जनकंग्रेसको स्थायी कमिटीका अध्यक्ष ली चान्सुको तर्फवाट बधाई तथा शुभकामना व्यक्त गरिन्। उनले अध्यक्ष लीले पठाएको सन्देश सुनाउँदै राजदूत होउले नेपाल र चीनबीचको मैत्री सम्बन्धको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा दुई देशबीच सम्बन्ध थप प्रगाढ बनाउँदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिन्।
सन् २०१९ मा नेपाल र चीनबीच उच्चस्तरीय भ्रमणको आदानप्रादनका साथै दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको उनले बताइन्। पछिल्लो समय दुबै देश अगाडि भएका सम्झौता तथा समझधारीको कार्यान्वयनमा लागिरहेको भन्दै चिनियाँ दूतावासले नेपाल र चीनबीच संसदीय सहायता आदानप्रदान थप प्रगाढ गराउँदै लैजाने वक्तव्यमार्फत जनाएको छ।
वक्तव्यमा चीनले नेपालको संसदसँग सम्बन्धलाई मजबुद बनाउँदै द्वपक्षीय विकासमा तथा मैत्रीपूर्ण सम्बन्धलाई अगाडि बढाइने उल्लेख छ।
भेटका क्रममा सभामुख सापकोटाले राजदूत होउलाई आफ्नो तर्फबाट चिनियाँ जनकंग्रेसका अध्यक्ष लीलाई धन्यवाद सन्देश सुनाइदिन अनुरोध गरेका थिए। त्यस्तै उनले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले खेलेको भूमिकाको प्रशंसा गरे।
सभामुख सापकोटाले नेपालको प्रतिनिधिसभाले चिनियाँ जनकंग्रेससँग विविध पक्षमा साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता गरेका थिए। उनले चीनमा पछिल्लो समय देखिएको कोरोना भाइरसको माहामारीप्रति दु: ख व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङ नेतृत्वको सरकारले माहामारी नियन्त्रण गर्ने सक्ने विश्वास व्यक्त गरे।