PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु



रासस

चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
तस्विर : रासस

तनहुँ : तनहुँको बन्दिपुर गाउँपालिका-४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक रहेको प्रहरीले जनाएको छ।

आज करिब साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका छोरा इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो। उनी घटनास्थलबाट करिब ८० मिटर तल मृत अवस्थामा फेला परेका इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ।

केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका-१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो। तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि तनहुँवासीमा त्रास छाएको छ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा यस घटनासहित नौ बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell