PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

लिगमा सरस्वती युथ क्लबको पहिलो जित, हिमालयन शेर्पा पराजित



पहिलोपोस्ट

लिगमा सरस्वती युथ क्लबको पहिलो जित, हिमालयन शेर्पा पराजित
सरस्वती युथ क्लबका खेलाडी बल अघि बढाउँदै। फोटो : एन्फा।

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युथ क्लबले हिमालयन शेर्पा क्लबमाथि जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सरस्वतीले ४-३ गोलअन्तरले जित निकालेको हो। जारी सिजनमा सरस्वतीको यो पहिलो जित हो।

सरस्वतीको जितमा कजिम एडिगोके बुसारीले २ गोल गर्दा बिनोद केसी र मनिष थापाले समान १/१ गोल गरे। अर्कोतर्फ हिमालयन शेर्पाका लागि आशिष श्रेष्ठ, विजय श्रेष्ठ र रबि थापा मगरले गोल गरे पनि हारलाई टार्न सकेनन्।

प्रतिस्पर्धात्मक बनेको खेलमा ५ औं मिनेटमै कजिमले गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए। तर त्यसको ५ मिनेटमै आशिष गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याइहाले। खेलको ३५ औं मिनेटमा कजिमकै पासमा बिनोद केसीले गोल गर्दै सरस्वतीलाई फेरी अग्रता दिलाए। तर, पहिलो हाफको अन्तिम मिनेटमा हिमालयन शेर्पाका विजय श्रेष्ठले गोल गर्दा खेल पुनः बराबरीमा आइपुग्यो। खेलको पहिलो हाफ २-२ को बराबरीमा रोकियो।

दोस्रो हाफमा हेडिङबाट गोल गर्दै कजिमले सरस्वतीलाई तेस्रो पटक अग्रता दिलाए। उनले खेलको ८३ औं मिनेटमा गोल गरेका थिए। त्यसको ५ मिनेटभित्रै मनिष थापाले गोल गर्दा सरस्वतीले ४-२ को अग्रता बनाएको थियो। खेलको अतिरिक्त समयमा हिमालयन शेर्पाका रबि थापा मगरले गोल गर्दै टिमलाई खेलमा फर्काउन कोशिष गरे पनि उनको गोल टिमलाई खेलमा फर्काउन पर्याप्त हुन सकेन। र सरस्वतीले ४-३ ले खेल आफ्नो पक्षमा पार्‍यो।

जितसँगै सरस्वती युथ क्लबको ४ अंक भएको छ। यद्यपी सरस्वती अंकतालिकाको पुछारमै छ। अगाडिका खेलहरु जितेको खण्डमा रेलिगेसन जोनबाट माथि उठने सम्भावना भने सरस्वतीको अझै जिवितै रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell