PahiloPost

May 1, 2024 | १९ बैशाख २०८१

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव



विधुर ढकाल

चीनमा रहेका नेपालीहरुको पिरलो : सामाजिक सञ्जालले नेपालमा बस्ने आफन्तलाई तनाव

काठमाडौं : चीनमा महामारिका रुपमा फैलिएको नोवल कोरोना भाइरसका विषयमा सामाजिक सञ्जालहरुमा फैलिइरहेका भ्रमहरुले थप त्रासको वातावरण फैलाएको चीनमा रहेका नेपाली विद्यार्थीहरुले बताएका छन्।

कोरोना भाइरसको 'आउटब्रेक इपिसेन्टर' हुवेइ प्रान्तको वुहानमा रहेका नेपाली विद्यार्थीहरुमा पनि यस्तै सामाजिक सञ्जालमा फैलिएका भ्रमहरुले त्रस्त पारेको छ। वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा मास्टर गरिरहेका सन्दीप उप्रेतीले त्रास त्यसमाथि सामाजिक सञ्जालमा फैलाइएका सामाग्रीले झन त्रास थपेको बताए। 'सामाजिक सञ्जालमा आएका सबै कुरालाई विस्वास नगर्न म आग्रह गर्छु,' उनले भने। 

'अहिलेसम्म त ठीक छ। अब के हुन्छ भन्न सकिँदैन। तर, त्रास फैलाउने काम भइरहेको छ,' उनले भने।

उनी पढ्ने विश्वविद्यालयमा मात्र १५ जना नेपाली रहेकोमा हाल ६ जना वुहानमै छन्। 'हामी सबै सुरक्षित छौँ,' उनले भने।

बाहिर हल्ला आए जस्तै संकट भइनसकेको उनले बताए। 'लक डाउन' छ। तर, यातायातका साधनहरुमा पसलहरु स्प्रिङ फेस्टिवलका कारण बन्द छन्। बिदा पनि फेब्रुअरी २ सम्मका लागि बढाइएको छ। त्यसपछि पसलहरु बिस्तारै खुल्दै जालान् भन्ने आश हो। तर, कति खुल्छन् भन्न सकिन्न,' पहिलोपोस्टसँग उनले भने, 'हामीले स्प्रिङ फेस्टिवलमा पसल बन्द हुन्छन् भनेर स्टोर गरेर राखेका थियौँ। अहिलेसम्म त्यसैले पुगेको छ।'

केही विश्वविद्यालयहरुले विद्यार्थीको होस्टेलमै खाने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए।

यसैबीच बेइजिङमा रहेको नेपाली दूतावासले विच्याट ग्रुप मार्फत् वुहानमा रहेका नेपालीहरुसँग सम्पर्क गरिरहेको छ। केही सञ्चार माध्ययममा उद्दार गर्न आग्रह गरिएका समाचार प्रकाशित भइरहेका बेला उनले यस्तो अवस्थामा हल्लाका पछि लागेर त्रास नफैलाउन समेत आग्रह गरे।

'हामी पनि नेपाल फर्किन चाहन्छौँ। तर, हामी यो पनि चाहन्छौँ हामी कोही एकका कारणले नेपालमा कोरोना भाइरस नफैलियोस्,' उप्रेतीले भने, 'नेपालले फ्लाइट बुक गरेर हामीलाई लैजाने भए पनि त्यसमा पनि त्रास त छ नि फेरि। फ्लाइटमा कुनै एक जनालाई लागेको रहेछ भने ६-७ घण्टाको उडानका क्रममा झन् फैलिनसक्छ। त्यसका लागि विशेष सावधानी अपनाउनु पर्‍यो। नेपाल फर्किनु अगाडि नै आवश्यक परीक्षण गरेर संक्रमित र असंक्रमितहरुको पहिचान गर्नुपर्‍यो। संक्रिमित व्यक्तिलाई अस्पतालमा पनि त्यही अनुसारको राख्ने व्यवस्था हुनुपर्‍यो।'

यहाँबाट उद्धार गरेर नेपाल लैजाने व्यक्तिमा सुरुमा संक्रमण नदेखिए पनि यात्राका क्रममा संक्रमण देखियो भने त्यसबाट हुने जोखिम रोक्न नेपालमा पनि आवश्यक तयारी हुनुपर्ने उनको सुझाव छ। त्यसो त नेपालको विमानस्थलमा ८ जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क संचालनमा ल्याइसकिएको छ।

चिनियाँ शिक्षा मन्त्रालयले आफू मातहतका शैक्षिक संस्थाहरुलाई २०२० को स्प्रिङ सेमेस्टर नयाँ सूचना नआउँदासम्मका लागि स्थगित गर्न निर्देशन दिएको छ। मन्त्रालयले नयाँ सेमेस्टर सञ्चालनको मिति नभने पनि मन्त्रालय अन्तर्गतका विश्वविद्यालयलाई स्थानीय अवस्था हेरेर मिति तय गर्न भनेको मन्त्रालयले जारी गरेको सर्कुलरमा उल्लेख रहेको सिन्ह्वाले जनाएको छ।

'कुनै विश्वविद्यालयले सेमेस्टर स्थगित गरेका छन्। कुनैले स्थगित गरेका छैनन्। हामी आधिकारिक सूचनाको पर्खाइमा छौँ,' उप्रेतीले भने।

विच्याट समूहहरुमा तथा सामाजिक सञ्जालहरुमा अनेक त्रास फैलाइएका चीनमा रहेका नेपालीका विद्यार्थीहरुमा पनि त्रास फैलिएको छ।

सिचुवानको छन्दुमा रहेको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना (युईएसटीसी)मा अध्ययनरत काठमाडौंका प्रशान्त श्रेष्ठले भने, 'खोइ हामीलाई यहाँ त ठीक छ जस्तो लाग्छ बाहिर के के हल्ला फैलाइएको छ। घरमा थप तनावको वातावरण रहेछ।'

उनको परिवारले नेपाल फर्किनका लागि बुधवार विहानको टिकट बुक गरिदिएका छन्।

'बाहिर जान अलि कठिन छ। तर, रोगले छोएको छैन। रोग नफैलिओस् भन्ने सतर्कता अपनाइएको छ,' श्रेष्ठले विच्याट संवादमा भने, 'समाचार के के आएको छ कुन्नि? घरमा आत्तिएका छन्। भोलि (बुधवार)का लागि टिकट बुक गरिदिएका छन्। अब एयरपोर्ट जाँदा नै भिडभाडमा सर्ला भन्ने डर छ। बरु यही होस्टेलमा सुरक्षित बसिरहेको थिएँ।'

यता विश्वविद्यालयहरु पनि संक्रमण नभित्रियोस् भनेर सतर्कता अपनाएका छन्। विश्वविद्यालय प्रवेशमा कडाइ गरिएको छ। बिदामा घर गएका विद्यार्थीहरुलाई अर्को सूचना नआउँदासम्म फिर्ता नहुन भनिएको छ।

'यहाँ संक्रमण नियन्त्रणका लागि कडाइ गरिएको छ। अन्जान व्यक्तिलाई प्रवेश दिइएको छैन। विद्यार्थीहरुलाई मास्क नलगाई बाहिर जान दिइएको छैन,' युईएसटीसीमा अध्ययनरत नेपाली राजीव साहले भने, 'रोग नियन्त्रणका लागि गरिएको यो कडाइ जायज पनि हो।'

चीन सरकारले अनुमति दिनासाथ उद्धार गरिन्छ : नेपाली दूतावास

वुहानमा मात्र हाल ६० जना नेपाली विद्यार्थी रहेको बेइजिङ स्थित नेपाली दूतावासका उपप्रमुख सुशील लम्सालले जानकारी दिए। त्यस्तै हुवेई प्रान्तमा एक सयभन्दा बढी नेपाली रहेको उनले जानकारी दिए।

अहिलेसम्म नेपालीहरु सुरक्षित रहेको भन्दै उनले वुहान तथा अन्य क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्क कायम गरिरहेको बताए।

'बाहिर अनेक हल्ला आइरहेका छन्। हल्लाकै कारण नेपाली विद्यार्थीहरुमा पनि त्रास फैलिएको छ,' उनले भने, 'हामी चिनियाँ अधिकारीहरुसँग पनि निरन्तर सम्पर्कमा छौं। उहाँहरु अहिलेको संक्रमण नियन्त्रण गर्न लागि पर्नु भएको छ। आशा गरौँ केही दिनमा स्थिति नियन्त्रणमा आउने छ।'

उनले अहिलेकै अवस्था रहिरहे प्रभावित क्षेत्रबाट नेपाली उद्धार गरिने बताए।

'अहिले नै नेपालीलाई उद्धार गरेर फिर्ता पठाउने विषय सम्भव छैन। चीन सरकारको संक्रमण नियन्त्रण योजना अनुसार लक डाउन चलिरहेको छ,' उनले भने, 'नियन्त्रण अभियानलाई नै प्रभावित पार्ने गरी हामीले फिर्ता लैजान्छौँ भन्नु कति सान्दर्भिक होला? वुहानमा नेपालीमात्र होइन अन्य देशका नागरिकहरु पनि छन्। कसैलाई पनि बाहिर जान दिइएको छैन।'

चीन सरकारले अनुमति दिनासाथ नेपालीहरुको उद्धार गरिने उनले बताए। 'हामीले उहाँहरुसँग उद्धारका विषयमा पनि कुरा गरेका छौँ। उहाँहरुले केही समय पर्खनुस् भन्नुभएको छ,' लम्सालले भने, 'यो अभियान लम्विँदै गयो र नियन्त्रणमा आउन कठिन जस्तो भयो भने उहाँहरुले अनुमति दिनुहुन्छ। त्यसपछि हामी उद्धारको प्रक्रिया थालिहाल्छौँ।'

हाल चीनमा अध्ययन गरिरहेका ७ हजार विद्यार्थी र विभिन्न पेशामा व्यवसायमा संलग्न एक हजार जना गरी करिब ८ हजार हाराहारीमा नेपाली रहेको भन्दै लम्सालले अन्य क्षेत्रबाट भने नेपालीहरु आफ्नै हिसाबले नेपाल फर्किइरहेको जानकारी दिए।

'अन्य क्षेत्रमा बसोवास गर्ने नेपालीहरु आफ्नो ढंगले गइरहनु भएको छ। समस्या वुहानको हो। वुहान बढी प्रभावित हो। वुहानबाट कसैलाई पनि बाहिर जान र प्रवेश गर्न दिइएको छैन। यसलाई सबैले बुझ्नुपर्छ नेपालले मात्र होइन त्यहाँबाट कुनै पनि देशले नागरिक उद्धार गरेका छैनन्। गर्न आवश्यक परे हामी पनि गर्छौँ,' उनले भने।

यसैबीच नेपाली दूतावासले सामाजिक सञ्जालमा फैलिरहेका 'फेक न्यूज'हरु प्रति विश्वास नगर्न आग्रह गरेको छ।

दूतावासले विभिन्न क्षेत्रमा रहेका नेपालीहरुको विच्याट समूह बनाएर उनीहरुसँग प्रत्यक्ष सम्पर्क गरिरहेको छ। तिनै समूहहरुमा राजदूत लीलामणि पौडेलले आफ्नो उपस्थिति जनाइरहेका छन्।

'सुरक्षित रहनुस् धैर्य गर्नुस्। गलत सूचनाबाट आफूलाई टाढै राख्नुस्,' राजदूत पौडेलले नेपालीहरुको वीच्याट समूहमा लेखेका छन्, 'कुनै सहयोग आवश्यक परेमा स्थानीय सरकारका हटलाइन, विश्वविद्यालय तथा दूतावासको हटलाइनमा सम्पर्क गर्नुस्।'

उनले कोरोना भाइरस सम्बन्धी समाचार र सूचनाका स्रोतलाई पहिचान गरेरमात्र सेयर गर्न आग्रह गरेका छन्।

'सरकारी एजेन्सीहरु, विश्व स्वास्थ्य संगठन तथा तपाईँका आफ्ना विश्वविद्यालयका सूचनालाई आधिकारिकता मान्नुस्,' उनले अगाडि लेखेका छन्, 'सकरात्मक सोचले आत्मरक्षा शक्ति बढाउँछ। भाइरलबाट बच्ने यो शक्तिशाली औजार पनि हो।'

कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ। सोमबारसम्म यस भाइरसको संक्रमण करिब २ हजार ८ सय जनामा देखिएकोमा मंगलवारसम्म भने उक्त संख्या दोब्बरले वृद्धि भएको छ। हाल चीनमा मात्रै ४ हजार ५ सय १५ जनामा नोबेल कोरोना भाइरसको संक्रमण देखिसकेको छ।

वुहान शहरबाट फैलिएको भाइरसको प्रभाव बढेसँगै चीनभर सार्वजनिक यातायातको संचालनमा कडाइ गरिएको छ। वुहानमा सार्वजनिक र निजी सवारीसाधन संचालनमा प्रतिवन्ध लगाइएको छ।

यता हालसम्म संक्रमण नदेखिएको चीनको एकमात्र स्वशासित क्षेत्र तिब्बतमा पनि उच्च सुरक्षा सतर्कता अपनाइएको छ। सोमवार तिब्बत सरकारले ग्रेड २ अपत्कालीन घोषणा गरेको छ। हालसम्म चीनका ३० प्रान्त नगरपालिका र क्षेत्रहरुलाई ग्रेड १ अलर्ट जारी गरिसकिएको छ। यहाँका पर्यटकीय गन्तव्यहरु पनि सोमवारदेखि बन्द गरिएको साउथ चाइना मर्निङपोस्टले जनाएको छ।

यसैबीच चीनमा रहेका नेपालीलाई सन्देश जारी गर्दै नेपाली राजदूत पौडेलले अहिलेसम्म चीनमा रहेका कुनै पनि नेपालीमा संक्रमण नदेखिएको भन्दै संक्रमणबाट जोगिन आवश्यक सतर्कता एवम् सावधानी अपनाउन अनुरोध गरेका छन्।

उनले चीनमा रहेका नेपालीहरुको सुरक्षा र हित रक्षाका लागि दूतावासले काम गरिरहेको बताएका छन्।

'नोभेल कोरोना भाइरस संक्रमणका कारण वुहान लगायत तीनवटा शहरमा आवागमन बन्द गरिएपछि दूतावासले तत्काल बेइजिङ सहित चीनका पाँचवटा शहरमा विशेष हटलाइन स्थापना गरी सो को जानकारी सञ्चारमाध्यममा प्रेसित गरेको थियो,' राजदूत पौडेलले जारी गरेको सन्देशमा भनिएको छ, 'वुहान/हुबेइमा रहनुभएका नेपालीहरुको सहयोगमा नेपालीहरु सम्मिलित विशेष विच्याट समूह निर्माण गरी अद्यावधिक विवरण संकलन गर्ने तथा नियमित रुपमा सूचना र सन्देशहरु प्रवाह गर्ने संयन्त्र स्थापना गरिएको छ।'

त्यस्तै सियान, हनान, हुनान, दालियान, संघाई, हेलोङ चियाङ, जिलिन, युनान, नानजिङ, सिचुवान, ग्वाङ्सी, ग्वाङदोङ, थियान्जिन लगायत् प्रान्त र शहरमा रहेका नेपाली विच्याट समूहहरु बाट नियमित सम्पर्कमा रहेको जनाएका छन्।

त्यस्तै राजदूत पौडेलले नेपालीहरुको सहयोगका लागि दूतावासभित्रै एक विशेष सेलको निर्माण गरी सो सेलले विकसित हुँदै गरेको परिस्थितिको अध्ययन गरी सो सम्बन्धमा नेपाल सरकारलाई प्रतिवेदन गर्ने जानकारी दिएका छन्।

चीन सरकारका सम्बन्धित निकायसँग निरन्तर सम्पर्क र समन्वय गर्ने एवम् समस्यामा परेका नेपालीहरुलाई परामर्श तथा सुझावका साथै हुवेइ प्रान्तीय सरकारसँगको समन्वयमा आपत्कालीन सहयोग प्रदान गरिरहेको राजदूत पौडेलले बताएका छन्।

'हुबेइ/वुहानमा रहेका नेपालीहरुका सम्बन्धमा यो दूतावास नेपाल सरकार र चीन सरकारका सम्बन्धित निकायसँग नियमित सम्पर्कमा छ,' उनले सन्देशमा भनेका छन्, 'नेपाल सरकार हुबेइ/वुहानमा रहेका नेपालीहरुको हितमा आवश्यक कदम चाल्न तयार रहेको व्यहोरा सार्वजनिक भइसकेको सन्दर्भमा नेपाल सरकार र नेपाली दूतावास यहाँहरुको सुरक्षा र समग्र हितका लागि हरदम प्रयत्नशील र कृयाशील रहेको कुरामा विश्वस्त रहनुहुन हार्दिक अनुरोध गर्दछु।'

उनले हुवेइमा रहेका नेपालीको भिसा सकिन लागेको अवस्थामा चीन सरकारसँग समन्वय गरी समस्याको समाधान गरिने प्रतिवद्धतासमेत जनाएका छन्।

उनले कोरोना भाइरसको संक्रमणको विषयमा चिनियाँ अधिकारीहरुसँग छलफल भइरहेको भन्दै छलफलमा वुहानमा रहेका नेपालीहरुको विषय छलफल भएको जानकारी दिएका छन्।

उनले चिनीयाँ सरकारले कोरोना भाइरस नियन्त्रण गर्न चालेका कदमहरु र खासगरी हुवेईको स्थानीय सरकारले अपनाएका प्रयासहरुको सम्मान गरी यो अवस्थाबाट नआत्तिन, अफवाह वा हल्लाबाट जोगिन एवम् चीनले चालेका नियन्त्रण र सुरक्षाका उपायहरुमा हर सम्भव सहयोग गर्न चीनमा रहेका नेपालीहरुलाई अनुरोध गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell