PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काँकडभिट्टामा कोरोना भाइरस जाँच गर्न ‘हेल्प डेस्क’



रासस

भद्रपुर : सरकारले पूर्वीनाका काँकडभिट्टामा कोरोना भाइरसको जाँचका लागि आज साँझ ‘हेल्प डेस्क’ स्थापना गरेको छ। भन्सार विन्दुमा स्थापना गरिएको ‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट आएका नागरिकमा कोरोना भाइरस छ कि छैन भनेर ज्वरो, रुघा र खोकी जाँच गरिनेछ।

भारत, भूटान, बङ्गलादेश र म्यानमारबाट नजिकमा रहेको नाका भएको कारण काँकडभिट्टाबाट दिनहुँ सयौँ विदेशी नेपाल प्रवेश गर्ने भएकाले उक्त नाकामा उच्च सतर्कता अपनाइएको हो। प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुईजना स्वास्थ्यकर्मीलाई बिहान ७ देखि बेलुका ७ बजेसम्म खट्ने गरी ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको जानकारी दिए। सो कार्यमा सुरक्षाकर्मीले सहयोग पुर्‍याउने छन्।

‘हेल्प डेस्क’मा तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने विदेशी नागरिकमा कोरोना भाइरसको सङ्क्रमण भएको शङ्का भएमा नाकामा खटिएका स्वास्थ्यकर्मीले नजिकै रहेको काँकडभिट्टा स्वास्थ्यचौकीमा रहेको ‘आइसोलेसन रुम’मा पठाउने र उनीहरुको विस्तृत स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए।

काँकडभिट्टा स्वास्थ्यचौकीका प्रमुख तालबहादुर खड्काको नेतृत्वमा ‘हेल्प डेस्क’ र आइसोलेसन वार्डको विशेष निगरानी गरिने छ। ‘हेल्प डेस्क’ शुरुवात गर्न आयोजित कार्यक्रममा मेचीनगरका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेतीलगायतले खुल्ला सीमा भएकाले भाइरसको सङ्क्रमण बढ्ने हुँदा नाकामा उच्च सतर्कता जरुरी भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell