
काठमाडौं : ट्यांकरमा इन्धन भर्ने बखतको तापक्रम र खाली गर्ने बेलामा भएको तापक्रमको फरकका आधारमा इन्धनको परिणाम घटिबढी हुने सहमतिसँगै आन्दोलनरत ट्यांकर चालक आजदेखि काममा फर्केका छन्।
नेपाल आयल निगमको रहोबरमा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका पदाधिकारी तथा नेपाल यातायात स्वतन्त्र मजदूर संगठन, हवाई इन्धन ढुवानी इकाइ समितिका पदाधिकारीबीच आज भएको छलफलमा इन्धनको तापक्रममा हुने फरकअनुसार नै परिणाम घटिबढी हुने व्यवस्था लागू गर्ने सहमति भएसँगै आन्दोलनरत ट्यांकर चालक काममा फर्केका हुन्।
छलफलमा ट्यांकर चालकले राखेका माग एक महिनाभित्र सम्बोधन गर्न दुबै पक्षका प्रतिनिधिसम्मिलित एक समिति गठन गर्ने सहमति भएको छ। इन्धन ढुवानीका क्रममा ५० लिटरभन्दा बढी परिणाम कम भए दोब्बर जरिबाना गर्ने निगमको निर्णयको विरोध गर्दै ट्यांकर चालक आन्दोलनमा उत्रिएका थिए।
हाल १८१ टयाङ्करले भारतीय आयल कर्पोरेसनबाट हवाई इन्धन ढुवानी गर्दै आएका छन्। ढुवानीका क्रममा हुने चुहावट रोक्न निगमले ‘लकिङ’ प्रणाली कार्यान्वयनमा ल्याएको भए पनि चोरी पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन।