२०७५ जेठ ८ गते।
दिउँसो २ बजे।
'माननीय यज्ञबहादुर बोगटी। समय ५ मिनेट।'
तत्कालिन उपसभामुख शिवमाया तुङ्बाहाम्फेको आवाज सुनियो प्रतिनिधि सभाको हल, नयाँ बानेश्वरमा।
आवाज सुन्नसाथ हातखुट्टा थरर काप्यो यज्ञबहादुरको। मन धुकचुक। बोल्न सकिन्छ कि सकिँदैन भन्ने भयो। पहिलो पटक समय लिएको।
बेलाबेला 'लिस्टबाट नाम हटाउन लगाउँ कि' भन्ने पनि भयो।
भाषण त गरेकै हो नि। जनताका गुनासो जसरी भए पनि राख्नुपर्छ - अनि मन बलियो बनाए उनले।
त्यसपछि उक्ले रोस्ट्रममा। अनि, पहिलोपटक संसद बैठकमा जिल्लाका जनताको माग सुनाए। बजेटमा भेदभाव गरेको विषय जोडे। ठुलठुला नेताका पछाडिमात्रै बजेट दौडिएको दुखेसो पोखे।
भाषण नसकिँदै उनको माइक काटियो। तर, पनि बोल्न छाडेनन्।
'पहिलोपटक भएर होला। डराइडराइ गरेको भाषण, पहिले त हातखुट्टा नै काँपे नि। तर, बोल्न थालेपछि त डरै लागेन,' संसदमा आफ्नो पहिलो दिनलाई सम्झिरहेका छन् सिहंदरबारभित्रको नेकपा संसदीय दलको कार्यालयमा।
मंगलसेनबाट माले हुँदै संसदयात्रा
मंगलसेनमा जन्मिएका बोगटीको माविसम्मको पढाई सोडषा माविमा भयो।
बहुदल आउँदा अछाम बहुमुखी क्याम्पसका पढ्दै थिए उनी। त्यो बेलाको चर्चित पार्टी थियो - नेपाली काँग्रेस। तर तत्कालीन मालेबारे भने धेरै भ्रम। धेरैले आरोप लगाउँथे - मालेले ६० वर्ष पुगेका मान्छेलाइ मार्छन्।
'अछाम बहुमुखी क्याम्पसमा नेविसंघ गठन भयो। साथीहरु बसे। म भने बसिनँ। लगत्तै अनेरास्ववियु पनि गठन भयो। त्यसमा भने संगठित भएँ,' आफ्नो राजनीति यात्रा सुनाए बोगटीले।
त्यसपछि विद्यार्थी संगठन खोल्न अछामका विभिन्न स्कुल पुगे उनी। त्यति बेलासम्म अछामको क्षेत्र २ मा एउटै मात्र मावि थियो- जालपादेवि मावि ढाँकु।
त्यही विद्यालयमा संगठन खोल्न पुगे। नेविसंघको त पहिले नै थियो संगठन। 'स्कुलको प्राँगण पुगेको, नेविसंघका केटाहरुले झम्टिहाले। मेरै नाम लिएर मुर्दावादको नारा लगाए त,' उनले भने, 'भोलिपल्ट स्कुल बाहिरको गरामा बोलाएर संगठन बनाएँ।'
२०४९ मा जिल्ला कमिटी सदस्य भए उनी।
पछि अनेरास्ववियुको जिल्ला संयोजक हुदै राष्ट्रिय परिषद सदस्य भए। २०५४ मा अनेरास्ववियु केन्द्रिय कमिटी सदस्य। फेरि जिल्लाकै राजनीतिमा फर्किए र जिल्ला कमिटिको सदस्य भए।
२०६५ बाट २०७४ सम्म उनी जिल्ला कमिटी सचिव रहे।
सांसद निर्वाचित हुदाँ पनि उनी जिल्ला कमिटीको सचिवै थिए। २०७४ को प्रतिनिधि सभा निर्वाचन।
मत गणना हुदै थियो। सुरुमा उनी हजार मतले पछि परे। चिन्ता बढ्यो- चुनाव हारिन्छ कि भनेर। उनी सुनाउछन्, 'सुरुमा हजार मतान्तर। अब त हारिन्छ भन्ने नै भयो। पार्टीभित्र चुनावमा लडे पनि विपक्षी पार्टीसँग यसरी भिडेको पहिलोपटक।'
मत गणना सकिनै लाग्दा परिस्थिति उल्टियो। राति २ बजे मतगणना सकियो। नेपाली कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै सांसदको यत्रा तय गरे बोगटीले।
जितेपछिको खुसी उनी अहिले बोलिरहँदा पनि अनुहारमा झल्किन्छ। त्यस बेलाको खुसी सुनाउँछन्, 'जितेपछि त खुसीको त सीमै रहेन नि।'
२०७४ सालको प्रतिनिधि सभाको चुनावमा पार्टीबाट उम्मेद्वार बन्ने आकांक्षी धेरै थिए। उनी थिए भिम रावल निकट। रावल स्थायी समिति सदस्य।
भन्छन्,'म इमान्दार र जनताप्रति बफादार भएकोले पार्टीले पत्यायो। अर्को कुरा सूदुरपश्चिमकै नेता भीम रावलले पनि केन्द्रमा मलाइ टिकट दिनुपर्छ भनेर कन्भिन्स गर्नुभयो होला। जनताको साथ पाएर नै जिते चुनाव।'
सांसदको तलबले घर धान्नै गाह्रो
काठमाडौं एकदम महगों लाग्छ सांसद बोगटीलाई।
'तरकारीदेखि पिउने पानीसम्म महँगो छ। कोठा भाडामा बस्ने मान्छेका सबैको दु:ख उस्तै त हुन् नि। कहिले पानी आउन्न। महिना मर्ने बित्तिकै भाडा नतिरे घरबेटी किचकिच गर्न आइपुग्छन्। सांसद भएर के मेरा लागि सित्तै पाउने कुरा पनि भएन,' भन्छन्, 'फोहोर बिजुलीको बिल पनि धेरै आउँछ। राज्यले दिएको १८ हजारले के पुग्थ्यो?'
काठमाडौंबाट झन्डै एक हजार किलोमिटर टाढा मंगलसेनका बोगटीको केन्द्रीय राजधानीको बसाई छ। ललितपुरको टीकाथलीमा भाडामा बस्छन् उनी।
एक जना सांसदले घर भाडा १८ हजार र पारिश्रमिक ५५ हजार २ सय ३० र अन्य सुविधा गरी ८२ हजार ५ सय ३० रुपैयाँ पाउँछन्। बोगटी लेखा समितिका सदस्य पनि हुन्। लेखा समितिको मात्रै बैठक बसेको दिन हजार रुपैयाँ भत्ता पाउँछन्। यही पैसालाई हिसाबकिताब गर्छन बोगटी।
पानी बिजुलीसहित कोठाका लागि १९ हजार खर्च हुन्छ।
'१३ हजार पार्टीलाइ लेबी र बाँकी रहेको पैसाले अरु खर्च धान्नुपर्छ,' उनी भन्छन् ' महिनाको दुइ तीन पटक आफ्नो जिल्लामा जानुपर्छ। एक पटक जाँदामात्र ७\८ हजार लाग्छ। अछाम काठमाडौंदेखि टाढा पनि छ।
'कम्तीमा पनि दुई दिन लाग्छ अछाम पुग्न। सांसदको तलव भत्ताले काठमाडौं बस्न गह्रो भएको गुनासो गर्छन् उनी। गाउँदेखि कोही दुखी बिरामी हुँदा पनि कहिलेकाही काठमाडौंमा सरसहयोग गर्नुपर्ने उनी बताउँछन्। भन्छन्, 'आफ्नो निर्वाचन क्षेत्रका जनताहरु कहिलेकाही बिरामी भएर पनि काठमाडौं आउँछन्। सबैसँग पैसा पनि हुँदैन। कतिलाई त म आफैले पैसा हालेको छु बिरामीलाई अस्पताल लैजान। अस्पतालमै वितेपछि अन्त्यष्टिको पनि त ब्यवस्था गरिदिनुपर्छ।
तर, काठमाडौंमा विभिन्न काममा आएका कार्यकर्तालाई भने उनले खर्च गर्नुपर्छ। भन्छन्,'काठमाडौंमा माननीय हुनुहुन्छ भनेर मेरै भर परेर आउनेहरु पनि हुनुहुन्छ उहाँहरुलाइ त सबै बस्ने खाने ब्यवस्था गर्नपर्छ।'
तर, उनी यसमा पनि खुसी नै भएको सुनाउँछन् 'जनताले कानुन बनाउने ठाउँमा पुर्याइदिएका छन्। यस्ता सानातिना दु:खलाइ दु:ख भनेर बस्ने कुरा पनि भएन। पहिलो कुरा आफ्नो जिम्मेवारी पुरा गर्ने हो।'
सांसद भएपछि ऋण थपियो
श्रीमती गाउँको स्कुलमा पढाउँथिन् आफू राजनीतिमै लागे पनि घर धान्न मुस्किल भएन। तर, सांसद भएर काठमाडौं आएपछि दुई छोरा एक छोरी र श्रीमती पनि काठमाडौं आए। 'मेरो तलबले त जिल्ला आउन जान र घरको अरु खर्चमै ठीक्क हुन्छ। छोराछोरीको फिस् केले तिर्ने?' प्रश्न गर्छन् उनी, 'अहिले बैंकको २० लाख रुपैयाँ ऋण छ। सांसदमा निर्वाचित भएर काठमाडौं आउनुभन्दा पहिले १५ लाख ऋण थियो बैंकमा। अहिले ऋण बढेर २० लाख पुग्यो।'
भन्छन् 'जनताको काममा दौड धुप गर्दा ऋण लाग्यो। खाली संसदमा आउने जानेमात्रै भएको भए त मलाइ किन ऋण लाग्थ्यो र कहिले मन्त्रालय कहिले जिल्ला धाइरहनु पर्छ। कहिले जिल्लाका जनता काठमाडौं आउँदा भेटघाट गर्दै पैसा सकिन्छ। जनताको काम गर्दा लागेको हो ऋण।'
ऋण लागे पनि उनी चिन्ता भने मानिरहेका छैनन्। 'सांसद पद सकिएपछि केही सानोतिनो व्यवसाय गरेर तिर्छु। बुवाको नेपालगन्जमा सानोतिनो ब्यापार छ त्यसैलाइ ठुलो बनाउँछु। त्यही व्यापारबाट तिरिहाल्छु नी। किन चिन्ता लिने,' योजना सुनाउँछन्।
सांसद हुँ जस्तै लाग्दैन
टीकाथलीको डेरादेखि संसद भवन आउजाउका लागि मोटरसाइकल छ। स्वकीय सचिवले ल्याउनेलाने गर्छन्। सुरुसुरुमा सार्वजनिक बसमै यात्रा हुन्थ्यो। सांसदको लोगो लगाएर गाडीमा आउँदा जाँदा एक दुइ पटक उनलाई तपाई सांसद जस्तो मान्छे बस्नुस् भनेर सिट छोडिदिएको अनुभव सुनाउँछन उनी। संसद नहुँदा कहिले मन्त्री भेट्नुपर्छ त कहिले सचिव। उनीहरुलाई आफ्ना जिल्लाका समस्या सुनाउँछन्। विभिन्न योजना आयोजनाबारे पनि कुराकानी हुन्छ। संसद भवनभित्र हुँदामात्रै उनलाई सांसद हो भन्ने लाग्छ रे।
भन्छन्, 'संसदको गेट बाहिर त म सांसद हो भन्ने नै लाग्दैन।'
सांसद बनेपछि सिंहदरबार छिर्न सजिलो
अखिलको केन्द्रीय सदस्य भएका बेला पनि कयौंपटक काठमाडौं आए उनी। नेताहरु भेटें। काम परेर सिंहदरबार पनि छिरें। तर, त्यो बेला एकदम कठिनसँग मात्रै सिंहदरबार छिरेको र नेता तथा मन्त्रीलाई भेटेको अनुभव छ सांसद बोगटीसँग। तर सांसद भएपछि त्यसो गर्नु परेन। सजिलैसँग सिंहदरबार छिर्ने र नेता तथा मन्त्रीलाई भेट्न पाउँछन् उनी।
सांसद भएपछिको उपलब्धि ठान्छन् यसलाइ। भन्छन्, ' सांसद भएपछि एउटा के फरक हुँदो रहेछ भने सिंहदरबार छिर्न पनि गार्हो भएन नेता र मन्त्री भेट्न पनि सजिलो छ।' भेटेको बेलामा आफ्नो जिल्लाको विकास निर्माणको कुरा हुने उनी सुनाउँछन्। उनी भन्छन्, 'म सांसद हुन्जेलसम्म पनि अछामका धेरै ठाँउमा बिजुली थिएन। अहिले केन्द्रीय प्रसारण लाइन पुर्याएका छौं। अब सबैजसो नगरमा बिजुली पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ।' पहिलोपटक संसदमा भने २०५२ सालमा छिरेका रहेछन् उनी। त्यो बेला दर्शकदीर्घामै बसेर उनले संसद अवलोकन गरे। भीम रावल र भिमबहादुर कडायत त्यो बेला अछामका सांसद थिए। प्रतिनिधि सभाको उनीहरुले नै छिर्ने पासको ब्यवस्था गरे।
पहिलोपटक सिहदरबार छिर्दाका अनुभव कस्तो रह्यो? हाँस्दै उनी भन्छन्,'पहिलोपटक सिंहदरबार छिर्दा खुब अनौठो लाग्यो प्रधानमन्त्री, मन्त्री, सांसद नेताहरु सबै त्यही संसदमा देखें। अचम्म नि। यहाँ पुग्न सकुला कि नसकुला आफ्नै मनलाइ प्रश्न गरें।' त्यतिबेला प्रतिनिधिसभोको बैठक सिंहदरवारभित्रकै हलमा हुन्थ्यो।
पदका लागि आफू राजनीतिमा नलागेको बताउछन् बोगटी। आफू दुइवटा उद्देश्यमात्रै राजनीतिमा लागेको दाबी गर्छन् र भन्छन्, 'पहिलो त कम्युनिष्ट पार्टीले राष्ट्रियता र स्वाधीनताको रक्षा गर्छ भनेर लागियो अर्को श्रमजीवीको उत्थान पनि यसै पार्टीले गर्छ भन्ने भरोसा थियो। त्यही भएर लागेको पदको त मोह कहिल्यै भएन।'