
- टीआर ढकाल
मकवानपुर : आइतवार राती मकवानपुरको मनहरीबाट गाँजा तस्करहरु हेटौंडातर्फ लागेको खबर प्रहरीसम्म पुग्यो। विशेष स्रोतमार्फत् पुगेको सोही खबरको आधारमा प्रहरी सुरक्षा जाँचका लागि खटिएको थियो। जाँचका क्रममा देखिएको बिआर ०६ जे ४४५८ नम्बरको भारतीय कारले भने प्रहरी देखेपछि बाटो मोड्यो। हेटौंडातर्फ लाग्दै गरेको उक्त गाडी मकवानपुरकै भैरवडाँडातर्फ सोझिएको थियो।
प्रहरीलाई पत्ता लगाउन समय लागेन-तस्कर त्यही गाडीमा छन्।
जाँचका लागि रोक्न खोजेको गाडी भागेपछि प्रहरीले गोली चलायो। पहिलो गोली कारमा लाग्यो। दोस्रो गोली भने सोझै कारको टायरमा लाग्यो, फिल्मी स्टाइलमा। त्यसपछि कार अनियन्त्रित भयो र रोकिन पुग्यो। त्यही पेस्तोल तेर्स्याउदै प्रहरीले कारभित्र रहेका सबैलाई नियन्त्रणमा लिइहाले। कारमा तीन जना थिए। एक महिला सहित तीनै जना भारतीय रहेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय हेटौंडाको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङबाट तीन जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले कार चालक ३५ वर्षीय संजित पासवान, कारमा सवार रहेका ३५ वर्षीय अजैमल हवारी र ४५ वर्षीया जाहेरा खातुन लाई पक्राउ गरेको हो। पक्राउ परेका तीनैजना भारत मुजफपुरका हुन्।
कारको पछिल्लो सिटमुनि फ्लस बटम बनाइ राखिएको अवस्थामा ३२ किलो गाँजा फेला परेको हो। ती गाँजा १६ वटा पोकामा राखिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका अभियुक्तलाई प्रहरी कार्यालयतर्फ ल्याउँदै थियो। तर, फिल्मी स्टाइलमा त्यो गाडी एकाएक दुर्घटनामा पर्यो। समातिएका अभियुक्तसहित प्रहरी पनि घाइते हुन पुगे। घटना फिल्मी शैली लाग्ने अर्को कारण पनि छ। दुर्घटनामा परी घाइते हुनेमा एक जनामात्र अभियुक्त रहे। बाँकी सबै प्रहरी।
काकडभिट्टाबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५५८२ नम्बर यात्रुबाहक बस वडा प्रहरी कार्यालय हेटौडाको ना १ झ १४१७ नम्बरको गाडीसँग जुधेको थियो। दुर्घटनामा परेको गाडीमै थिए प्रहरी र अभियुक्तहरु।