PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

भुवन चन्दको नजरमा नेपाली फिल्म हलमा नटिक्नुका कारण, 'कथा नै हुँदैन, ग्ल्यामरले मात्र चल्छ त?'



मन्दिरा खत्री

भुवन चन्दको नजरमा नेपाली फिल्म हलमा नटिक्नुका कारण, 'कथा नै हुँदैन, ग्ल्यामरले मात्र चल्छ त?'

काठमाडौं : उमेरले भर्खर सोह्र वर्ष टेकेकी थिइन् भुवन चन्द। राष्ट्रिय नाचघरमा काम गर्थिन्। पेशा रङ्गकर्मी। छोरी अभिनयमा लाग्नुलाई सहजै स्वीकार्दैन थियो समाजले। तर, भुवनका बुबा भैरवबहादुर थापा स्वयं कलाकार। कलाको आयाम समाजले सोचे जति साँघुरो छैन भन्ने बुझेका थिए। त्यसैले छोरीको रुचिलाई टर्न दिएनन्। बरु उनैले बालकृष्ण समको नाटक 'अन्धवेग'मार्फत् छोरीलाई अभिनयमा 'डेब्यु' गराए।

जम्मा ६ वर्षकी थिइन् बाल कलाकारको भूमिका निर्वाह गर्दा। नाटकको भोक भने उमेर हुँर्कदै जाँदा पनि मेटिएन। रङ्गमञ्चको यात्रा निरन्तर चलिरहेकै थियो। त्यसैबीच खबर सुनिन्- नेपालमा पहिलो पटक फिल्म बन्दै छ। उक्त फिल्मका लागि रङ्गमञ्चका कलाकारको अडिसन हुँदैछ भन्ने थाहा पाएपछि जोशिइन् उनी।

कुरा २०२१ साल - फिल्म 'आमा' बन्ने भयो। हीरा सिंह खत्रीको निर्देशनमा। फिल्मका लागि नाचघरका केही कलाकारले अडिसन दिए। सबै अनुबन्धित भए, भुवनसहित।

फिल्मको छायांकन धमाधम भयो। त्रिशुली, चोभारदेखि भारतको कलकत्तासम्म छायांकनका लागि पुगेको सम्झन्छिन् उनी।

आफैलाई पर्दामा हेर्न पाउनुको खुशीले सबै दङ्ग। तर, फिल्म प्रदर्शनका लागि ठ्याक्कै एक वर्ष कुर्नु पर्‍यो। पुराना दिन सम्झदै भुवन भन्छिन्,'त्यति बेला काठमाडौंमा धेरै हलहरु थिएनन्। प्राविधिक उपकरणको अभाव उस्तै त्यसैले समय लाग्यो। पहिलो सो आर्मी हेड क्वार्टरमा तत्कालिन राजा महेन्द्रको उपस्थितिमा फिल्म देखाइएको थियो।’

दुर्भाग्य वर्षौ लामो पर्खाइपछि फिल्म प्रदर्शन गर्नु र उनी चीन पुग्नु एकै समयमा भयो। फर्कँदा राजा महेन्द्रले आफ्नो अभिनयको तारिफ गरेको खबर सुन्दा भने उनलाई निकै पछिसम्म गर्विलो महसुस गरायो।

२०२२ साल असोज ५ गते हो 'आमा' सार्वजनिक प्रदर्शनमा आएको। अहिलेजस्तो पोस्टर, ट्रेलर, गीत प्रचारका लागि रिलिज गर्ने चलन कहाँ हुनु? हुन्थ्यो भने एक वर्षको अवधिमा भुवनलगायत अन्य कलाकारको चर्चा बेग्लै हुन्थ्यो। तर, सीमित दर्शकका बावजुद पनि पहिलो नेपाली फिल्म आमाबारे राम्रै संदेश प्रवाह भयो।

भुवनलाई नेपालकी पहिलो अभिनेत्री पनि यहीं फिल्मले बनायो। भन्छिन्,'पहिलो अभिनेत्रीको उपमा पाँउदा खुशी नहुने कुरै भएन। सँगसँगै गर्व पनि महसुस हुन्छ किनकि छोरीलाई कलाकारितामा देख्न नसक्ने त्यो बेलाको समाजमा मैले गरेको काम ठूलै उपलब्धि थियो।'

अब त उमेरले ७० वर्ष पुगिन्। उनको स्मृति धमिलो बन्दै गएको छ। फिल्मका लागि दिएको अडिसनदेखि प्रदर्शनपछि पाएको प्रतिक्रियासम्म। तर, उस्तै उर्जावान् छ, नेपाली रजतपटमा उनको उपस्थिति।

५५ वर्ष लामो करियरमा चार दर्जनभन्दा बढी नेपाली फिल्महरुमा अभिनय गरेकी छिन्।

तर, उनले काँचको पर्दामा अभिनय थाल्दा नेपाली रजतपटले बामे सर्न पनि सुरु गरेको थिएन। त्यसैले अभिनयको बद्लामा पारिश्रमिक पाउने कुरै भएन। आमामा अभिनय गरेबापत् पारिश्रमिक नपाएको स्वीकार्दै भन्छिन्,'पहिलो फिल्मले पारिश्रमिक दिएन तर अनुभव र सिकाइ दियो। पहिचान दियो। त्यो नै ठूलो कुरा हो।'

उसो त फिल्म बन्नुभन्दा चार वर्ष अर्थात् २०१८ सालदेखि नै उनी नाचघरकी जागिरे थिइन्। कमाइ त्यताबाटै पनि हुन्थ्यो। उनको जागिर स्थायी भएको चाहिं २०३३ सालमा मात्र हो। त्यसपछि २०६२ सालमा उनी सेकेन्ड क्लास अफिसर भइन् र अवकाश लिइन्।

मतलव उनका दुई फरक काम थिए-'एउटा जागिर' अनि अर्को 'अभिनय'।

'आमा' बनेको दुई वर्षपछि बन्यो 'हिजो आज भोलि'। उक्त फिल्मका अभिनेता थिए शिवशंकर श्रेष्ठ। अनि अभिनेत्रीमा चाहिं चन्द नै चुनिइन्। उक्त फिल्मबाट भने चार हजार रुपैयाँ पारिश्रमिक पाइन्। 'त्यो बेला चार हजार। अहिलेको लाखौं बराबर', यति भनिसक्दा उनी खुशी सुनिन्छिन्।

भुवनको अभिनयको तारिफ हुन्छ। कलाकारितामा निरन्तर साधनाको चर्चा चल्छ। तर उनी गायनमा पनि उस्तै दख्खल राख्छिन्। बुबा भैरवबहादुरको प्रभाव हुनसक्छ, बाल्यकालदेखि नै गीत संगीतमा रुचि राखिन्। रङ्गमञ्चमा सक्रिय रहँदा गायन सिक्ने मौकाले झनै निखार ल्यायो। बुबाले पनि सिकाए, रेडियो नेपालमासँगै लिएर गए। त्यहाँ कोरसमा गाउने मौका पाइरहन्थिन्। स्वरमा निखार आउँदै जाँदा उनले केही गीतमा एकल र डुएट गीत पनि गाइन्।

रङ्गमञ्चबाटै आफ्नो कलाकारिता यात्रा सुरु भएकोले उनी आफूलाई 'अभिनेत्री' भन्दा बढी 'रङ्गकर्मी' भन्न रुचाउँछिन्।

हाल नेपाली फिल्म क्षेत्रलाई निकै नजिक बसेर नियालिरहेकी छिन् भुवन। समयसँगै आएका परिवर्तनले उनलाई खुशी बनाएको छ। अब्बल महिला निर्माता, निर्देशकदेखि कलाकारहरुको सक्रियताको तारिफ गर्छिन्। जसका लागि धन्य मान्छिन् सामाजिक परिवर्तनलाई।

'उ बेला फिल्म खेल्ने, नाच्ने, गाउने भन्ने बित्तिकै नराम्रो दृष्टिकोण - चाहे केटा होस् या केटी', उनी पूराना कुरा सम्झन्छिन्। उनी स्वयंलाई बुबाको साथ दह्रै रह्‍यो तर आमा रोक्न खोज्थिन्। महिलालाई समाजको प्रश्नले नै पनि अभिनय गर्नबाट रोक्थ्यो। त्यसैले पुरुष कलाकारले नै महिलाको भूमिका पनि निर्वाह गर्थे। यस्तै विषयलाई लिएर समाज केही उदार बन्नुलाई सकारात्मक परिवर्तन मान्छिन् उनी।

तर कथा र विषयवस्तुको हिसाब तुलनामा ग्ल्यामर हाबी भएको भने चित्त बुझेको छैन उनलाई।

'पूराना फिल्महरुको कथा सशक्त हुन्थे। अहिले त कथा हुँदैन। ग्ल्यामर बिक्छ त्यसैले कथामा कमैले ध्यान दिन्छन्।'

त्यसैले पूराना फिल्मका सम्झन लायक कथाहरुको आज पनि तारिफ गरेर थाक्दिनन् उनी। आफैले अभिनय गरेको फिल्महरुमध्ये 'सीमा रेखा' निकै मनपर्छ उनलाई। भन्छिन्,'ऐतिहासिक फिल्म भएकाले पनि हो सीमा रेखा सबैभन्दा धेरै मनपर्छ। त्यो फिल्ममा म मगर समुदायको भेषमा प्रस्तुत भएको थिएँ।'

युवराज लामाको फिल्म 'मन मन्दिर' पनि उनलाई मनपर्ने फिल्म हो।

अब त उनी स्वयं निर्माता बनेकी छिन्। अभिनेत्री हुनु र निर्माता हुनुमा आकाश जमिनको भिन्नता महसुस गरेकी छिन्। 'अभिनयमा मात्र ध्यान दिनु र कलाकारको अभिनयदेखि मसिना कुराहरुको पनि जिम्मेवारी वहन गर्नु गाह्रै काम रहेछ', उनी भन्छिन्,'यत्रो वर्ष नबुझेको इन्डस्ट्री। यहाँ भित्रको राजनीति एउटै फिल्म निर्माणले बुझाइ दियो। सायद थुप्रै निर्माता, निर्देशक पलायन हुनुको कारण पनि यही होला।'

उनको निर्माणमा फिल्म 'साइनो' बन्यो। तर फिल्मले बक्सअफिसमा राम्रो प्रदर्शन भने गरेन।

भनिन्, 'अहिलेका दर्शकलाई कस्तो किसिमको फिल्म मनपर्छ हामीले पनि बुझ्न सकेका छैनौं।'

ट्रेन्ड हेर्दा 'कमेडी' फिल्म दर्शकको रोजाइमा परिरहेको उनको बुझाइ छ।

जे होस् फिल्मको कथा, निर्माण शैली, यस क्षेत्रको ट्रेन्डदेखि दर्शकको रुचिलाई निरन्तर फलो-अप गरेकी छिन्। किशोरावस्थाबाटै सुरु भएको यो प्रक्रियालाई न 'विवाह'ले रोक्यो न 'आमा' बन्नुले नै। उनको रुचि र निर्णयहरुमा साथ दिए उनका श्रीमान माइकल चन्दले।

माइकल रेडियो नेपालमा अंग्रेजी समाचार वाचन गर्थे। आम सञ्चारकै क्षेत्रमा काम गर्नुले उनीहरुलाई जोड्यो। केही समयको देखादेख प्रेममा परिवर्तन भयो र प्रेम विवाहमा। भुवन भन्छिन्,'पतिको माया र साथले गर्दा नै आज म यहाँसम्म आइपुगें।'

त्यही साथ र सहयोगले उनलाई काम गरिरहन हौस्यायो। अनि साना साना कुरामा सन्तुष्ट हुन पनि सिकायो। त्यही सन्तुष्टिका कारण आफूमा भएको उर्जा र मुहारमा चमक यथावत रहेको बताउँछिन् उनी। 'स-सानोको कुरामा चिन्ता लिएर बस्दिन। अवस्था स्वीकार्छु र अघि बढ्छु', उनले भनिन्।

अहिले उनी नेपाली फिल्म क्षेत्रको कुनै विषयलाई लिएर खुशी छैनन् भने 'ग्रुपिजम'लाई लिएर हो। तर यो 'ट्रेन्ड'पनि परिवर्तन हुने विश्वास राख्छिन्।

विकास हुने क्रममा रहेको नेपाली फिल्म उद्योगमा फरक फरक प्रयोग अनि प्रयासहरु हुँदैछन्। यी प्रयोगहरुले केही राम्रा अनि केही नराम्रा उत्पादन गर्लान् तर प्रयोग नै नगरे परिवर्तनको सम्भावना नहुने तर्क राख्छिन्। तर, प्रयोगका नाममा परिवारसँग बसेर हेर्नै नसकिने फिल्महरुको पक्षमा भने छैनन् उनी।

यही सोचले उनलाई 'साइनो' निर्माणसम्म डोहोर्‍याएको थियो। जुन 'पारिवारिक' फिल्म थियो। दुर्भाग्य, फिल्म धेरै समय हलमा टिकेन। अबको निर्माण भने वर्तमान दर्शकको रोजाइमा केन्द्रित गर्ने उनको योजना छ। भन्छिन्,'फिल्म व्यवसाय पनि हो। त्यसैले यस्ता यावत् कुराहरुलाई ध्यानमा राखेर फिल्म बनाउँछु।'  

सीमित बजेटका कारण चल्तीका कलाकार अनुबन्धित गर्न नपाउनुको थकथकी भने रहेछ उनमा।

निर्माणको पाटो थाती राखेर गर्ने अभिनय त छँदैछ। उनी अभिनित 'सेल्फी किङ' प्रदर्शनको तयारीमा छ। डबिङ सकेको धेरै भएको छैन। फिल्मका गीत र ट्रेलरबाट आएका प्रतिक्रियाहरुले प्रफुल्लित छिन्। फिल्ममा उनी विपिन कार्कीकी आमाको भूमिकामा छिन्।

फिल्ममा भूमिकाको महत्वबारे सोध्दा भन्छिन्,'कलाकारको भूमिका सानो ठूलो हुँदैन। अभिनय मुख्य कुरा हो। आफूले शत् प्रतिशत् दिने बाँकी कुरा दर्शकले जाँच्छन्।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell