PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै



विधुर ढकाल

चीनको वुहानमा यसरी एक सातामै तयार हुँदैछ दुई ठूला अस्पताल : नेटिजन इन्जिनियरहरु अनलाइनबाटै सुपरभाइज गर्दै

कोरोना भाइरस (२०१९ सीओभी) को 'आउटब्रेक इपिसेन्टर' हुवेई प्रान्तको राजधानी वुहानमा दुई ठूला आइसोलेसन बेडसहितका अस्पताल निर्माण भइरहेको छ। कोरोना भाइरसबाट संक्रमितको उपचारका लागि गत शुक्रवार र शनिवार निर्माण घोषणा भएका यी अस्पतालको निर्माण तीब्र गतिमा अगाडि बढिरहेको छ।

कामदारहरु दुई विशेष अस्पतालको निर्माणमा दिनरात खटिइरहेका छन्। मंगलवार अस्पताल निर्माणको कामलाई प्रत्यक्ष प्रसारण गरियो। मजदुरहरु निर्माणका क्रममा दौडिरहेको चीनका १ करोड भन्दा बढी जनसंख्याले प्रत्यक्ष प्रसारण हेरेका थिए।

मंगलवार स्थानीय समय अनुसार ४: ३० बजेबाट वुहानमा निर्माण भइरहेका हुओसनशान र लेइसनशान अस्पताल निर्माणको प्रत्यक्ष प्रसारण गरिएको थियो। चाइना टेलिकमले प्रसारण गरिरहेको सामाग्रीलाई अन्य सञ्चार माध्यमले पनि हुक गरिरहेका छन्। प्रत्यक्ष प्रसारणका लागि लाइभस्ट्रिम क्यामेराहरु अस्पताल निर्माणस्थलमा जडान गरिएका छन्। प्रत्यक्ष प्रसारणमा मानिसहरुले अस्पताल निर्माणको काम 'बर्ड आई भ्यू'का दृश्यहरु देख्न सक्छन्। कामदारहरु, ट्रक तथा एक्साभेटरहरु तोकिएको समयमै निर्माण सम्पन्न गर्ने होडमा दौडिरहेका देखिन्छन्।

वुहान सरकारले गत शुक्रवार कोरोना भाइरसका संक्रमितहरुको उपचारका लागि आइसोलेसन सुविधासहितको १ हजार शैयाको मोबाइल अस्पताल 'होउसशान' निर्माण गर्ने घोषणा गरेको थियो। २५ हजार वर्गमिटरमा निर्माण गरिने अस्पताल फेब्रुअरी ३ मा सञ्चालनमा ल्याउने लक्ष्यसहित सुरु भएको हो।

त्यस्तै शनिवार, त्यहाँको सिटी सरकारले १ हजार ३ सय शैयाको 'लइसनशान' अस्पताल निर्माणको घोषणा गरेको थियो। यो अस्पताल फेब्रुअरी ५ बाट सञ्चालनमा आउने छ। यस अस्पतालले ३० हजार वर्गमिटरको क्षेत्रफल ओगटेको छ। यसको निर्माण सोमवारबाट सुरु गरिएको हो। यी दुई अस्पताल २५ माइलको दुरीमा निर्माण भइरहेको छ।

भाइरसको संक्रमण फैलिँदै गर्दा मानिसहरु घरभित्रै थुनिएका छन्। उनीहरु इन्टरनेटमा भाइरससम्बन्धी समाचार हेरिरहेका छन्।

दुई अस्पताल निर्माणले करोडौँ स्वमसेवी सुपरभाइजरहरुलाई आकर्षित गरेको छ। उनीहरु आफूलाई 'नेटिजन' भन्न रुचाउँछन्।

प्रत्यक्ष प्रसारण हेरिरहेका मानिसहरु संकटग्रस्त समयमा आफ्ना कथा तथा भावना व्यक्त गरिरहेका छन्। कमेन्टमा उनीहरुले निमार्ण प्रोजेक्टका बारेमा छलफल पनि चलाइरहेका छन्। इन्जिनियरहरु भिडियो स्ट्रिमिङ हेरेर निर्माणको निर्देशन दिइरहेका छन्।

'म क्वाङदोङबाट हुँ। म अनलाइन कन्स्ट्रक्सन सुपभाइजर मध्येको एक हुँ,' लाइभ भिडियो स्ट्रिमङमा एक नेटिजनले लेखेको चाइना डेलीले जनाएको छ।

अर्का दर्शकले लेखेका छन्, 'वुहानका जनतालाई शुभकामना र शुभकामना हामी सबैलाई।'

यी अस्पताल निर्माणको जिम्मा चारवटा ठूला कन्स्ट्रक्सन कम्पनीलाई दिइएको बताइएको छ।

कसरी बन्न सक्छ ६ दिनमा अस्पताल?

चीनले निर्माणको इतिहासमा रेकर्डहरु कामय गर्दै आएको छ। चीनको काउन्सिल अन फरेन अफेयरका ग्लोवल हेल्थ सिनियर फेलो यानजोङ हउवाङले सन् २००३ मा बेइजिङमा निर्माणको भएको अस्पतालको उदाहरण दिँदै भने, 'बेइजिङमा जस्तै वुहानमा पनि प्रिफेब्रिकेटेड भवन निर्माण हुनेछ।'

बेइजिङको सात दिनको रेकर्ड तोड्ने गरी अहिले काम भइरहेको छ।

'यो एकात्मक राज्यले माथिल्लो तहदेखि तल्लो तहसम्मको परिचालन प्रणाली अपनाउँछ। उनीहरु ब्यूरोक्र्याटिक व्यवस्था र वित्तीय अवस्थालाई नियन्त्रण गर्न सक्छन् र सबै स्रोतहरु एकैपटक चलाउन सक्छन्,' बीबीसीसँग हउवाङले भनेका छन्।

उनका अनुसार देशभरिबाट एकै ठाउँमा इन्जिनियरहरु जम्मा गर्न सकिन्छ।

'चीनमा इन्जिनियरिङ कार्य एउटा असल उदाहरण हो। उनीहरुले तीब्र गतिमा गगनचुम्बी महल बनाउने रेकर्ड नै कायम गरेका छन्। पश्चिमाहरुका लागि यो कल्पना गर्न पनि गाह्रो कुरा हो। तर, यो उनीहरु गर्न सक्छन्,' उनले भनेका छन्।

सन् २००३ मा सार्सको महामारि फैलिँदा बेइजिङमा स्याथाङसान अस्पताल निमार्ण गरिएको थियो। सात दिनमा निर्माण भएको थियो। यसले विश्वकै छिटो निर्माण सम्पन्न भएको अस्पतालको रेकर्ड कायम गरेको थियो।

दिन राता ४ हजारभन्दा बढी कामदाहरुले काम गरेर सात दिनमै अस्पताल तयार गरेका थिए, त्यतिखेर। अस्पतालभित्र एक्सरे, सिटी स्कान कक्ष, आइसियु र प्रयोगशालाहरु रहेका छन्। त्यस्तै हरेक वार्डमा वार्डभित्रै छुट्टै वाथरुम पनि व्यवस्था। दुई महिनामा यस अस्पतालमा सार्सका कुल विरामी मध्ये १५ प्रतिशत विरामीको उपचार गरेको थियो।

यो अस्पतलकी अन्तिम बिरामी एक महिला थिइन्, खाउफ्मान। अस्पताल महामारि रोकिएसँगै खाली गरिएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell