
दिल्ली, लखनउ तथा जयपुर जस्ता शहरहरुमा अहिलेसम्म जमीनमाथि र जमीनभित्र मात्रै मेट्रो रेल कुदेको देख्नेहरुले अब चाँडै नै अनन्डर वाटर मेट्रो पनि चढ्न पाउनेछन्। कोलकाता मेट्रो रेल कर्पोरेसन केएमआरसीले आगामी मार्चसम्ममा हुगली नदी तलबाट मेट्रो रेल चलाउँदैछ।
हुगली नदी मुनिको वाटर टनेल करिब ५२० मिटर लामो छ भने यसलाई पार गर्न एक मिनेटभन्दा पनि कम समय लाग्ने बताइएको छ।
केएमआरसीको इस्ट वेस्ट परियोजनाको निर्माणको रफ्तार बढ्दै गर्दा सन् २०२० को मार्चसम्ममा अन्डर वाटर मेट्रो संचालन हुनेछ।
निर्माण सम्पन्न भएपछि कोलकाता मेट्रो चढ्नेहरुले अन्डर वाटर मेट्रोको रोमांचक यात्रा गर्न सक्नेछन्।
केएमआरसीका एमडी मानस सरकारले भने -' अब हामी इन्डियन रेलवे बोर्डबाट २० करोड भारुको अन्तिम किस्ता पर्खिरहेका छौं।'
अन्डर वाटर मेट्रो परियोजनामा ४८.५ प्रतिशत फन्डिङ जापान इन्टरनेशनल को-अपरेसनले गरेको छ। केएमआरसीले मेट्रोका लागि लगानी गर्ने जापानी कम्पनीलाई आगामी तीस वर्षसम्ममा ऋण तिर्ने सम्झौता भएको बताइएको छ।
भारतको सबैभन्दा पहिलो मेट्रो रेल नर्थ साउथ ट्रेनका रुपमा सन् १९८४ मा कोलकाताबाट सुरु भएको थियो।
पछि कोलकाताको इस्ट वेस्ट मेट्रो बन्यो जसको सुरुवाती लागत ४९०० करोड भारु थियो भने यो १४ किलोमिटर लामो परियोजना थियो। तर, निर्माणमा भएको ढिलाइ र फेरबदलका कारण यो दुरी १७ किलोमीटर लामो र लागत ८६०० करोड रुपैयाँ पुग्यो।
केएमआरसीले नयाँ मेट्रोमा दैनिक ९ लाखले यात्रा गर्ने बताएको छ। यो संख्या कोलकाता शहरको कुल जनसंख्याको झण्डै २० प्रतिशत हो।