PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर



विष्णु गौतम

पोखरामा रहेका दुई चिनियाँमा कोरोना आशंका : चिनियाँ चिकित्सकको सुझाव अनुसार मनिपाल रिफर

पोखरा : चीनबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस पोखरामा पनि देखिएको आशंका गरिएको छ। एक साता अघि अन्नपूर्ण सर्कीटको ट्रेकिङ सकेर पोखरा आएका चिनियाँ जोडीमा कोरोनाको भाइरसका संकेतहरु देखिएको उपचारमा संलग्न डक्टरले जनाएका छन्।

लेकसाइडको स्वाकन इन्टरनेसनल हस्पिटलका मेडिकल अफिसर डाक्टर दीपेन्द्र थापाका अनुसार माघको ११ गते आइतवार बेलुकी चिनियाँ एक पुरुष र एक महिलामा सिजनल फ्लू देखिएको थियो।

उनले भने, ‘उनीहरुमा देखिएको सबै लक्षण टिपिकल कोरोनाकै थियो। हामीसँग त्यसको बारेमा थप उपचार पद्धति नभएका कारण मनिपाल अस्पतालमा तत्कालै रिफर गरेका थियौं।’

परीक्षणको रिर्पोटले प्रमाणित नगरेसम्म कोरोना नै थियो भन्न चाहिँ नमिल्ने डा थापाले बताए। उनका अनुसार भर्ना हुने बित्तिकै उनीहरुलाई कोरोना भएको अनुमान गर्दै जानकारी गराइएको थियो। बिरामी चिनियाँ जोडीले पनि चीनमा उनीहरुका डक्टरलाई फोन सम्पर्क गरेका थिए।

उनले भने, ‘चीनका डाक्टरसँग मैले डिटेलमा कुरा गरेको थिएँ, अलि ठूलो अस्पतालमा रिफर गरिदिनुस् भनेपछि मैले मनिपाल रिफर गरेको हो।’

स्वाकन अस्पतालमा विश्वसनीय र सर्टिफाइड किट तथा अन्य प्रविधि नभएकाले बिरामीलाई रिफर गर्न परेको हो। उपचारमा संलग्न डाक्टरका अनुसार उनीहरुले नियमित औषधि सेवन गरिरहेका थिए। यो जोडी चीनको युयान प्रान्तबाट १५ दिन अगाडिमात्रै नेपाल आएको हो। तर, मनिपाल शिक्षण अस्पताल पोखराले सुरक्षा र गोपनीयताको कारण जनाउँदै यसबारे बताउन नमिल्ने जनाएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालसहित ११ देशमा कोरोना फैलिएको जनाएको छ। विश्वभर २ हजार ७ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। जसमध्ये चीनमा मात्रै २ हजार ७ सय ४१ जना छन्। चीन बाहिर ३७ जना मानिसमा कोरोना संक्रमणको पुष्टि हुँदा ३६ जना चीन ‘ट्रान्जिट’ बनाएर यात्रा गर्नेहरु छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell