
धनुषा : धनुषामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बोलेरो जीप र मोटरसाइकल ठोक्किँदा एक महिला र एक पुरुषको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स १ च १८५८ नम्बरको बोलेरो ठोक्किएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए।
दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ। ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए।