
काठमाडौं : नेपाल र लग्जम्बर्गबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता भएको छ।
नेपालको औपचारिक भ्रमणमा रहेका लग्जम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको ६ सदस्यीय प्रतिनिधि मण्डलबीच परराष्ट्र मन्त्रालयमा आज द्विपक्षीय वार्ता भएको हो। वार्तामा आपसी हित र चासोका विविध विषयका साथै साझा चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा पनि विचार विमर्श भइरहेको बताइएको छ।
परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका छन्। आजै लग्जम्बर्गका तर्फबाट नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवको अवसरमा यहाँ एक विशेष कार्यक्रम आयोजना हुनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीवार मन्त्री एसलवर्नले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
वार्तामा युरोपेली संघ तथा लग्जम्बर्गका लागि नेपाली राजदूत लोकबहादुर थापा, नेपालका लागि लग्जम्बर्गका राजदूत जिन क्लाउडी कुगनेरसहित दुवै देशका परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन्। लग्जम्बर्गले नेपालको शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसंघ र युरोपेली संघमार्फत विकास सहायता उपलब्ध गराउँदै आएको छ।