PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कुन्दन समूहको आमरण अनसनलाई अर्जुन नरसिंह केसीको साथ



प्रकाश भण्डारी

कुन्दन समूहको आमरण अनसनलाई अर्जुन नरसिंह केसीको साथ

काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी ‘संघको विधान रक्षार्थ’ भन्दै २ दिनदेखि आमरण अनसन बसेका छन्। उनको अनसनलाई माउ पार्टी नेपाली कांग्रेसका शीर्ष नेताहरुले बेवास्ता गरेको भन्दै दबाबका लागि एसएमएस अभियान सुरु गरिएको छ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलालाई एसएमएस गर्न थालिएको नेविसंघका नेता मनिष सिमखडाले बताए। आमरण अनसनमा बसेका त्रिपाठीको जीवन रक्षा गरियोस् भन्दै एसएमएस गरिएको उनले बताए।

अहिलेसम्म कांग्रेस नेता अर्जुन नरसिंह केसीले अनसनस्थलमै पुगेर यसको समर्थन गरेका छन्। सिमखडाले आज दबाब स्वरुप एसएमएस गरिएको र भोलिदेखि एसएमएससँगै दबाबका अरु चरण पनि शुरु हुने जानकारी दिए। उनले आन्दोलन सशक्त बन्दै जाने बताएका छन्।

‘हाम्रो आन्दोलन दिनदिनै सशक्त बन्दै जान्छ। यसबाट नेताहरुले बेहोर्नै नसक्ने क्षति बेहोर्नुपर्ने हुनसक्छ र यसको जवाफ पार्टी सभापतिले दिनुपर्ने छ,’ उनले भने।

पार्टी कार्यालयको गेटमा सोमवारदेखि अनसन बसेका त्रिपाठीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको छ। नेताहरुले अनसन तोडाउन भागबण्डाको आश्वासन दोहोर्‍याएको सिमखडाले बताए।

उनले भने, ‘तपाईहरुलाई कति संख्या चाहिन्छ भनेर तीनै जना नेताहरुले भन्ने गर्छन् तर हाम्रो आन्दोलन भागबण्डाका लागि होइन। जिल्ला सभापतिहरुको भेला गराएर विधी विधानको कुरा गरेपनि अन्ततः तीन जना मिलेर भागबण्डा नै गरे।’

यसअघि आमरण अनसन थालेका त्रिपाठीले आफ्नो माग सम्बोधन नगरे पार्टीको झण्डा ओढाउन आउनुपर्ने चेतावनी नेतृत्वलाई दिएका थिए। पार्टीले यसअघि नै नेविसंघको विधान संशोधन गरी ३२ वर्ष मुनिका मात्र नेतृत्वमा आउन पाउने व्यवस्था गरिएपनि अहिले विधान मिचिएको उनको आरोप छ।

नेविसंघका कुन्दन काफ्ले समूहले विधान लागू गर्न माग राख्दै ४१ दिनदेखि रिले अनसन गरिरहेका थिए। सोमवार नै केन्द्रीय समितिको बैठकमा भाग लिन सानेपा पुगेका सभापति शेरबहादुर देउवाविरुद्ध नारावाजी गरेपछि संस्थापन पक्षसँग झडपसमेत भएको थियो।

अहिले नेविसंघ तदर्थ समितिमा पचास वर्षमाथिका राजिव ढुंगानालाई सभापति बनाउन लागेको भन्दै काफ्ले समूहले विरोध गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell