
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसप्रतिको धारणा सार्वजनिक गरेको छ। आजबाट शुरु भएको केन्द्रीय कमिटी बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस पुजीपति वर्गको प्रतिनिधित्व गर्ने भएपनि ढुलमुले, सम्झौतापरस्त र दलाल प्रवृतिको भएको उल्लेख छ।
नेपाली समाजको राजनीतिक र सामाजिक रुपान्तरणको भूमिका नेकपाले मात्रै खेल्ने प्रतिवेदनमा दावी समेत गरिएको छ।
प्रतिवेदनमा भनिएको छ, ‘नेकपा नै आम देशभक्त र श्रमजीवी नेपालीको आशा र भरोसाको केन्द्र हो। नेपाली कांग्रेस मूलत: पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भएपनि आफ्नो ढुलमुले सम्झौता परस्त र दलाल प्रवृत्तिका कारणले उसले आर्थिक, सामाजिक रुपान्तरणको प्रतिनिधित्व गर्न सक्दैन।’
संविधान कार्यान्वयन र लोकतान्त्रिकरणको प्रक्रियालाई अगाडी बढाउन कांग्रेससँग आवश्यक्ता अनुसार सहकार्य गर्नुपर्ने बताइएको छ। उता, कांग्रेसको प्रतिक्रियावादी चरित्र रहेको र त्यसको आलोचना गर्न बिर्सनु नहुने पनि प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै देशभित्र र बाहिरबाट कम्युनिस्टमाथि झुठो आरोप लगाइ जनतामा भ्रम छर्ने प्रयास भइरहेको प्रतिवेदनमा भनिएको छ। नेपाली समाज पुँजीवादी समाजमा रुपान्तरीत भएपनि राष्ट्रिय पुँजीको विकास कमजोर अवस्थामा रहेको उल्लेख गरिएको छ।