PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

आक्रामक ओलीको डिफेन्सिभ डायलग : आलोचना सुन्न तयार



नेत्र तामाङ

आक्रामक ओलीको डिफेन्सिभ डायलग : आलोचना सुन्न तयार

काठमाडौं : बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा गृहमा आयोजित पार्टीको पूर्ण केन्द्रीय कमिटीको बैठकमा झन्डै दुई घन्टा लामो सम्बोधन गरे।

सम्बोधनका क्रममा ओली अघिल्ला भाषणहरुमा जस्तो आक्रामक देखिएनन्। पार्टीभित्रै एमसीसीको विषयमा खेपेका आलोचना, यति ग्रुपलाई उपलब्ध गराएको जग्गाका विषयमा खेपेका आलोचना र सीमा विवादको विषयले होला - निकै रक्षात्मक देखिए ओली।

मृगौलाको डायलसिस गर्दै तांग्रिएका ओली मंगलवार प्रतिनिधिसभामा पनि रक्षात्मक नै देखिएका थिए।

केन्द्रीय कमिटीमा ओलीले शुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको प्रशंसा गरे। शान्ति र लोकतन्त्रका लागि काँग्रेसले विभिन्न समयमा हतियार उठाएको स्मरण गरे। भने, '२००७ सालमा उठायो। २०३७ सालमा उठायो हतियार। नेकपाले पनि उठायो। विभिन्न समूहाले पनि उठायो।'

नेपाली राजनीति शान्तिपूर्ण बाटोमा आएको दाबी गर्दै ओलीले प्रेस स्वतन्त्रताको बारेमा प्रश्न उठ्नु निर्रथक भएको समेत भन्न भ्याए।

'हामी यसैका लागि लडेको। बाटो हामीले बनाइसक्यौं,' ओलीले दाबी गरे। उसो त पछिल्लोपटक संसदमा ल्याउन खोजिएको मिडिया काउन्सिल विधेयकका जरिवानाका बुँदामा पसेनन् प्रधानमन्त्री ओली। यता, सूचना प्रविधि सम्बन्धी विधेयकको विरोध बारे पनि खासै चर्चा गरेनन्।

सरकारले गरेको काममा जोड

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सरकारले गरेका कामलाई नै जोड दिए बैठकमा। भने, 'दुई वर्षको बीचमा हाम्रो गति के छ मुख्य प्रश्न यो छ।'

त्यसपछि ओलीले मंगलवारको सम्बोधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले नबुझेको कुरातिर इंगित गर्दै भने, 'हामीले यस वर्षलाई नेपाल भ्रमण वर्ष भनेका छौँ। हिजो अलिकति कोरोना भाइरसतिर लक्षित गर्दै बोलेको थिएँ। कसले कसरी बुझ्यो? कतिले कहाँको धक्का के को धक्का भने।'

कोरोना भाइरसबाट बच्न र सजगकता अपनाउन पार्टीका सबै नेताहरुलाई अभियन्ताका रुपमा खट्न निर्देशन दिएका ओलीले सबैलाई नयाँ वर्षको शुभकामना समेत दिए।

सरकारले केही कुरा गरेन भनेर विपक्षीहरु उठिरहेको विषय उल्लेख गर्दै केही समयमै प्रगति विवरणको पुस्तिका आउने ओलीले बताए।

'कहिलेकही क्रान्तिकारी कुरा गर्न मन हुन्छ। आजको यथार्थ कुरा बुझेर अगाडि जानु जरुरी छ। जनतालाई सचेत र स्पष्ट पारेर ढुक्कको स्थिति बनाएर अगाडि बढौं,' ‌ओलीले भने, 'सरकारले केही गरेन भन्ने हल्ला छ। केही झलक केही समय लिएर भन्छु। विपक्षीहरु उठेका छन्। पुस्तिकाका रुपमा आउँछ यो।'

बेलायतको पत्रिकाले नेपालको आर्थिक प्रगति राम्रो भनिसक्यो

विभिन्न सुचकांकमा पोजिटिभ र्‍याङ्किङ देखिएको भन्दै सरकारको प्रगतिको झलक शुरु गरे प्रधानमन्त्रीले।

'नेगेटिभ कुनै सूचीमा छैन। विश्व बैंकको सूचकांकमा नेपालको व्यवसायमा सुधार भएको देखाएको छ। गत वर्ष ११० औं स्थानमा थियो। यस वर्ष ९४ औं स्थानमा उक्लिएको छ,' ओलीले भने।

ग्लोबल पिस इन्डेक्समा १६५ वटा देश रहेको नेपाल ७६ स्थानमा पुगेको बताए। ह्याप्पीनेस इन्डेक्समा ११ स्थान माथि पुगेको उल्लेख गरे।

पर्यटनसम्बन्धी सूचकमा माथि उक्लेको दाबी गरे।

फौजी कीराले धक्का दिँदा पनि आर्थिक वृद्धिदर बढेको तर्क गर्न भ्याए उनले।

'गणतन्त्रपछि एक दशकमा चार प्रतिशत थियो आर्थिक वृद्धि। तीन वर्षयता ६.५ प्रतिशतले आर्थिक वृद्धिदर भएको छ,' प्रधानमन्त्री ओलीले भने, 'फौजी कीराले धक्का दियो। सुख्खाले धक्का दिए पनि वृद्धिदर कायम छ। बेलायतको एक द इकोनोमिस्ट पत्रिकाले डिसेम्बरमा उच्च आर्थिक वृद्धि गरेका १० मुलुकमा राखेको छ।'

लगानी सम्मेलनमार्फत् लगानी प्रतिबद्धता १३२.५ प्रतिशतले बढेको प्रधानमन्त्रीले बताए। यसो त लगानी भित्रिन नसकेको विषयमा भने प्रधानमन्त्री प्रवेश नै गरेनन्।

प्रधानमन्त्री रोजगार कार्यक्रम करिब १ लाख २२ हजार रोजगारीमा संलग्न भएको उनले बताए। तर, कार्यक्रमको उपलब्धि के भयो त भन्नेबारे केही उल्लेख गरेनन्। प्रधानमन्त्री रोजगार कार्यक्रम झार उखेल्नेदेखि फोटो खिच्नका लागि भनेर आलोचन भएको थियो।

नेपालको आफ्नै रेल सञ्चालन गर्ने र पानी जहाज कार्यालय स्थापनाको विषय पनि प्रगतिमा जोडे प्रधानमन्त्रीले। नारायणीमा क्रुज चलेको विषयलाई पनि सम्झे।

'उम्रिँदै छन्, टुसाउँदै छन्,' प्रधानमन्त्री ओलीले भने, 'रोम एकैदिनमा बनेको थिएन।'

मुलुकलाई लोडसेडिङमुक्त बनाइसकेको दाबी गर्दै ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनर्निमाण शुरु भएको र धेरै ठाउँमा रात्रि विमान सेवा शुरु गरिएको पार्टीका नेताहरुलाई स्मरण गराए।

प्रधानमन्त्रीले तातोपानी नाका खुलेको बताए। यद्यपि, तातोपानी नाकाबाट आशलाग्दो आयात निर्यात भनेको हुन सकेको छैन।

मेलम्ची यसै वर्ष सकिने गरी बन्दोबस्ती गरेको बताए उनले। यसैगरी १२५ वटा तुइन विस्थापन गरी ती ठाउँमा झोलुङ्गे पुल बनेको फेहरिस्त प्रस्तुत गरे।

प्रधानमन्त्रीले पुनर्निमाणमा असाधारण प्रगति भएको दाबी गरे, 'काम व्यापक छ। असाधारण प्रगति भएको छ,' प्रम ओलीले भने, 'धरहराको छैटौं तल्ला ढलान हुँदैछ। बाटोबाटै देखिन्छ। रानीपोखरीको काम सकिएको छ। छिट्टै उद्घाटन हुन्छ।'

विद्यालय भर्ना अभियान सुरु भएर समयमै स्कुल स्कुलमा नि:शुल्क पुस्तक पुगेको उल्लेख गरे। त्यसैगरी न्यानो स्याटलाइट यसै अवधिमा छोडिएको स्मरण गराए।

कर्मचारीको तलब यही सरकारले बढाइएको दाबी गर्दै प्रधानमन्त्री ओलीले श्रम सम्झौता गर्ने देशको संख्या बढेको बताए। भने, 'सात देशसँग श्रम सम्झौता थियो। थप ४ वटा मुलुकसँग श्रम सम्झौता गरिएको छ यही सरकारको पालामा।'

सरकारको प्रगतिले चौतर्फी प्रभाव

प्रधानमन्त्री ओलीले होम ग्राउन्डमा भएको १३ औं सागमा भएको प्रगतिलाई पनि आफ्नै सरकारको प्रभावका रुपमा व्याख्या गर्न भ्याए। भने, 'प्रगति भएपछि विभिन्न ठाउँमा देख्न सकिन्छ। १२ औं सागमा ३ स्वर्ण पदक ल्याएको थियो। यसपटक त ५१ स्वर्ण पदक आयो।'

सरकारले पृथकतावाद समाप्त गरेको दाबीसमेत प्रस्तुत गरे प्रधानमन्त्रीले। भने, 'सीके राउतहरुलाई मुलधारमा ल्याइएको छ।' यद्यपि नेत्रविक्रम चन्द विप्लप समूहको नाम भने लिएनन् उनले।

कानुन निर्माण व्यापक रुपमा भइरहेको उनको भनाई थियो। 'नौ दिनमा एउटा दरले कानुन बनेको छ। ८० वटा भन्दा बढी कानुन बनिसकेका छन्,' प्रम ओलीले भने।

सरकारी सम्पत्ति फिर्ता अभियान नै चलाएको उल्लेख गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध बढेको बताए। भने, '१६८ मुलुकसँग अन्तराष्ट्रिय सम्बन्ध छ। प्रधानमन्त्रीको हिसाबमा दुई दशकपछि बेलायत र फ्रान्सको भ्रमण भयो। १७ वर्षपछि अमेरिका रुसको भ्रमण परराष्ट्रमन्त्रीको भ्रमण भयो। चीनको राष्ट्रपतिको भ्रमण यही अवधिमा भयो। भारतको प्रधानमन्त्री एकै कार्यकालमा चारपटक भ्रमण भयो।'

यसो त ओलीले अन्तर्राष्ट्रिय फोरममा पनि नेपालको उपस्थिति बढेको बताए।

सीमा विवादमा अफिसियल्ली बोल्ने यही सरकार

भारतले जारी गरेको राजनीतिक नक्सामा सरकारले पहिलो पटक औपचारिक रुपमा बोलेको दाबी प्रधानमन्त्रीले गरे। भने, 'भारतले नोभेम्बर २, २०१९ मा राजनीतिक नक्सा जारी गरेपछि मंसिर ४, २०७६ मा हामीले पत्रचार गरी तुरुन्त सच्याउन भनेका छौं। लिम्पियाधुरा हाम्रै हो भनेर अफिसियल्ली प्रचार गरेको पहिलोपल्ट हो।'

सरकार देशभक्त र राष्ट्रवादी सरकार भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसबारेमा संसदमा आफूले थप कुरा गर्ने ओलीले बताए। प्रधामन्त्री ओलीले मंगलबार सदनलाई सम्बोधन गर्ने क्रममा केही दिनमै आफूले संसदमा समसमायिक विषयमा सम्बोधन गर्ने बताएका थिए। सीमा समस्या समाधानका लागि सरकार अहिले लागिपरेको उनको दाबी थियो।

ओलीले भारतसँग वार्ताबाट अघि बढ्ने आश्वासन दिए। भने, 'हामी वार्ताबाट अघि बढ्छौं। कमरेडहरुले सरकारले राष्ट्र हित विरुद्ध केही गर्छ भन्ने नसोचे हुन्छ। यो सरकार सत्यका लागि लड्ने। सत्यका लागि बोल्न आँट गर्न सक्ने सरकार हो।'

एमसीसीबारे खोले महरासँग भएको भर्भिटिम

रेकर्ड फाइल बोकेर प्रस्तुत भएका प्रधानमन्त्री ओलीले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको फाइल निकाले र यसको बचाउ गरे।

भने, 'मुलुकलाई असर पार्ने खालको अनुकुल विषय केही छैन। विकासमा मात्र खर्च गर्न पाइने गरी सम्झौता गरेको हो। ५५ अर्बजस्तो रकम नेपालले पाउने भएको छ। यसको कुनै लिंक छैन। सम्झौता पूरा नभए पैसा फ्रिज हुन्छ। सम्झौता पनि त्यतिमै टुंगिन्छ। इन्डो प्यासेफिकसँग जोडिनु बेकार छ।'

महरासँग भर्भिटिम भएको उल्लेख गर्दै ओलीले भने, 'कृष्णबहादुर महराले नै वार्ता गर्नुभएको हो। यसको जुलाई २१, २०१७ मा कुरा भएको थियो। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री तत्कालीन कृष्णबहादुर महराजीसँग। उहाँले पार्लियमेन्टबाट पनि पास हुन्छ। मन्त्रिपरिषद्बाट पनि केही अप्ठेरो हुँदैन भन्नु भएको थियो। तत्कालीन अर्थमन्त्रीले सम्झौता गर्नुभएको थियो'

ओलीले पुन भने, 'कमरेडहरुलाई स्पष्ट पार्न चाहन्छु। केही अप्ठेरो पर्दैन।'

गोकर्ण जग्गाबारे बोल्दा बालुवाटार जग्गा प्रकरणमा खोलेनन् मुख

यती र गोकर्ण रिसोर्टको जग्गा लिज प्रकरणमा आलोचना खेपेका सरकार प्रमुख ओलीले यसको बचाउ गरे।

'विदेशीको हातबाट नेपालीले लिएको छ। के गोकर्ण रिसोर्टलाई बन्द गर्नुपर्छ भन्ने धारणा हो? म्याद सकिनुभन्दा अगाडि नै भाडामा दिनुपर्ने भएकैले भाडामा दिएको हो,' ओलीले भने।

'मदन भण्डारी र जीवराज आश्रितले पासाङ ल्हामुलाई शुभकामना दिन जानुभएको थियो,' पासाङ ल्हामुसँग जोडिएर आएको समाचारबारे खण्डन गर्दै ओलीले भने, ‘त्यतिबेला यति होल्डिङ्स नै थिएन। अहिले जोडिएर ल्याएको छ। त्यतिबेला शेरबहादुरजी सरकामा हुँदा, सायद माओवादी पनि थियो कि।'

यसैगरी यतीलाई दिएको नेपाल ट्रस्टको जग्गादेखि कालीमाटीको जग्गासम्मको बचाउ गर्न भ्याएका ओलीले बालुवाटारमा आफ्नै महासचिव विष्णु पौडेल संलग्न प्रकरणबारे भने मुख खोलेनन्। उसो त गृहमन्त्री अध्यक्ष रहने नेपाल ट्रस्टको अध्यक्षमा नीति परिवर्तन गरी आफूले चाहेको मन्त्री अध्यक्ष बनाउन मिल्ने बनाएका प्रधानमन्त्रीले त्यसबारे पनि मुख खोलेनन्।

प्रधानमन्त्री ओलीले नेपाल ट्रस्टको जग्गा शेरबहादुर देउवा नेतृत्वको सरकारले नियमसँगत भाडामा दिएको दाबी गरे। त्यसैगरी ओलीले देउवा सरकारले सही मुल्यांकन गरेरै जग्गा भाडामा दिएको दाबी गरे। भने, 'मुल्यांकन सही नै हो। एक अर्ब ४० करोड हुनुपर्नेमा लेख्नेले बाइमिस्टेकली ६ अर्ब लेखिदिएछ। त्यो सच्चिसकियो।'

ओली अब आलोचना सुन्न तयार

यसअघि आफूविरुद्धको आलोचना खप्न नसक्ने प्रधानमन्त्री ओली यसपटक केही गलेका देखिए। ओलीले संसारमा कही नभएकोजस्तो कम्युनिष्ट सरकार नेपालमा भएको उनको दाबी गर्दै आफू आलोचना सुन्न तयार भएको बताए। भने, 'हामी आलोचना सुन्न तयार छौं। हामी दुई अध्यक्षको आलोचना होला। गल्ती भएको ठाँउमा सच्याउन तयार छौं।'

ओलीले पार्टीका नेताहरुप्रति लक्षित गर्दै प्रचारमा कमजोरी भएको गुनासो पनि गर्न भ्याए। 'हाम्रो सफलता हाम्रो युनिटीमा छ। हामीसँग काम गर्ने मौका छ। २ वर्षका कामहरुले हामीलाई काम गर्न सक्छौं भन्ने आधार देखाइसकेको छ,' ओलीले भने, 'हामीले प्रचारमा ध्यान दिन सकेनौं। एक ताल एक सुरमा हिँड्न सकेका छैनौं। एउटै आवाजमा बोल्न सकिरहेका छैनौं। त्यसका पछाडि केही कमी होलान्। ती हटाऔं। एकै आवाजमा बोलौं। कदमहरु उस्तै रुपमा चालौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell